‘मिसन र कमिसन’

 गोकुल पराजुली

विश्वका धेरै सफल नेताहरु जीवनको कुनै कालखण्डामा अखबारसँग जोडिएको पाइन्छ । कम्युनिष्ट नेताहरु त अखबारलाई बिचार प्रवाह गर्ने महत्वपूर्ण साधनको रुपमा प्रयोग गर्थे । सञ्चारको विकास भइनसकेको युगमा पनि पश्चिमा नेताहरु अखबारका माध्यमबाट समाज सुधारको अभ्यास गर्थे । अर्थात अखबारलाई आफ्नो बिचार प्रमाणित गर्ने एउटा सशक्त माध्यमको रुपमा प्रयोग गर्थे । उनीहरुले अखबारमा लेख्ने एउटा लेखले विश्वमा नयाँ बहसको सिर्जना गराउँथ्यो । अहिलेको जस्तो सहज यातायातको सम्भावना नै नभएको बेलामा पनि हजारौं माइल टाढासम्म ती अखबारमा प्रकाशित बिचारहरुको बारेमा चर्चा परिचर्चा हुन्थ्यो । १७ औं १८ औं शताब्दीका नेताहरुले यस प्रकारको अभ्यास अलि बढी नै गरेको पाइन्छ । उनीहरु सञ्चार माध्यमलाई मिशनको रुपमा प्रयोग गर्थे ।

नेपालमा पनि २००७ साल वरिपरिको समयमा परिवर्तनको राजनीति गरेका नेताहरु अखबारको खुब प्रयोग गर्थे । राणा विरोधी अभियान चलाउँदा पत्रिका मुख्य साधन नै थियो । पञ्चायती व्यवस्था विरुद्ध त्यो मिसन अझ सशक्त र योजनावद्ध ढंगले अघि बढेको थियो । तात्कालिन समयको पत्रकारिताकै कारण नेपालमा पछिसम्म पनि पत्रकारिता मिसनकै रुपमा चल्यो । व्यक्तिगत कुरा गर्ने हो भने एउटा बिचारको पक्षपोषण गर्ने र त्यसको उन्नयनकै मिसनमा अग्रजले झैं हामीले पनि पत्रकारिताको थालनी गर्यौं । आज पत्रकारितामा बिचारका आधारमा देखिने गरी मिसन चलेको छैन । तरपनि कुनै न कुनै रुपमा मिसन पत्रकारिताकै अभ्यास सबैले गर्दै आएका छन् ।

मिसन चलाउँदा चलाउँदै विकसित भएको पत्रकारिता आज कमिसनतर्फ उन्मुख हुन पुगेको छ । विकसित मुलुकमा कमिसनलाई प्रतिष्ठाकै रुपमा लिइन्छ । पेशा गरेर कमिसन लिनेदिने कानूनी र वैधानिक प्रावधान हुन्छ । तर, हाम्रोमा कमिसन सम्वन्धी कानून छैन । त्यसैले कमिसनलाई आर्थिक अपराधको रुपमा लिने वा बुझ्ने गरिन्छ । पहिले मिसन बनाएर चल्ने पत्रकारिता अहिले कमिसनको योजना बनाएर मात्र चल्नसक्ने अवस्थामा पुगेको छ । अर्थात् कमिसन सम्वन्धी स्पष्ट योजना बनाइएन भने आज अखबार मात्र होइन, रेडियो, टेलिभिजन, अनलाईन सबै बन्द गरिदिए हुन्छ । बन्द गरिरहनु पनि पर्दैन, आफैं बन्द हुन्छ ।

हिजो अपारदर्शिता, कुशासन, भ्रष्टाचारको विरुद्ध पत्रकारितामार्फत प्रहार गर्दै पारदर्शिता, सुशासन, सदाचारिताको पक्षमा योगदान गरेको सञ्चार क्षेत्र आज सरकारी अड्डाहरुमा कमिसनको मोलमोलाई गरिरहेका छन् । दिनभरी कर्मचारीसँग कमिसनको प्रतिशत मिलाउन मिहेनत गर्दा मिसन नछुट्ने कुरै भएन । भ्रष्टाचार विरुद्ध सदाचारको खोजीमा लाग्नुपर्ने मिडिया आफ्नै हातले सरकारका कर्मचारीलाई कमिसन बुझाउनुपर्ने दुरुह अवस्था छ । समाज रुपान्तरणका अभियन्ता मिसन छोडेर कमिसनको गोलचक्करमा परेका छन् । माथिदेखि तलसम्म, ठूलादेखि सानासम्म, नेतादेखि जनतासम्म सबैको ध्यान अहिले मिसनमा होइन, कमिसनमा केन्द्रीत छ ।

हुन त देशले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको छ । समृद्ध नेपाल, सुखि नेपालीको उद्देश्य पुरा गर्न देशमा ठूलो मिसनको खाँचो छ । तर, कमिसनबाहेक सबै चिज भ्रममात्र ठान्ने हाम्रो प्रणालीमा सुधार नगरी समृद्धिको मिसन केवल मिठो सपना मात्र हो । यस्तो दिन नआओस् की मिठो सपना देखेवापत पनि कसैलाई कमिसन दिनु परोस् ।

बुधबार, २८ असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर