अनन्तराज न्यौपाने
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गएको असार र साउन महिनामा लामो समय काठमाडौं बसे । यता प्रदेशमा कोभिड–१९ दिन प्रति दिन फणा फिँजाइरहेको थियो । कोभिड–१९ बाट ग्रस्त प्रदेशवासीको सङ्ख्या तीव्र रूपमा बढिरहेको थियो । मुख्यमन्त्री राईलाई यसको कुनै वास्ता थिएन । उनी रोम जल्दा निरोले बाँसुरी बजाइरहेको शैली प्रस्तुत गरिरहेका थिए । खासमा उनी प्रधानमन्त्रीको सत्तासँगसँगै आफ्नो पनि कुर्सी जोगाउन त्यहाँ बसेका थिए । त्यसबखत माधव–प्रचण्ड पक्ष र ओली गुटबीचको झगडा उत्कर्षमा थियो । भागबण्डामा को कहाँ पुग्छ टुङ्गो थिएन । शेरधनको पद जाने अनुमान धेरैले गरेका थिए । त्यसैले हाम्रा मुख्यमन्त्री महोदयलाई प्रदेशमा कोभिड–सोभिडको बाल मतलब थिएन । उनलाई प्यारो त प्रदेशका निमुखा नागरिकको ज्यानभन्दा पनि आफ्नो पद, कुर्ची र सत्ता थियो ।
मुख्यमन्त्री राई लामो समय राजधानी बसेका बारेमा सञ्चार जगतमा धेरै समाचार आए । निकै टीकाटिप्पणि गरिए । मुख्यमन्त्री वास्तवमा यस प्रश्नमा निरूत्तर थिए । उनी किन बसे त यति लामो समय सङ्घीय राजधानीमा ? हुनत, सत्ताधारीले सबै प्रश्नको जबाफ नदिए पनि हुन्छ । तर, जनस्तरबाटै प्रश्न उर्लेर आएका बेलामा त्यसको उत्तर कुनै सत्ताधारीबाट आएन भने त्यसको असर भयावह हुनसक्छ । यसैका कारण हुनुपर्छ आजका दिनसम्म आइपुग्दा वर्तमान प्रदेश सरकारबाट प्रदेश नम्बर १ का नागरिकले अब केही आशा गरेका छैनन् । राई नेतृत्वको यो सरकारले माखो मार्ला भन्ने विश्वाससमेत हुन छाडेको छ ।
सङ्घीय राजधानीबाट प्रदेश राजधानीमा आइपुगेको हप्ता दिन बित्न नपाउँदै मुख्यमन्त्री राईले एउटा ठूलो र महत्त्वपूर्ण घोषणा गरे । शायद उनले आलोचनाबाट बच्न या पर्यवेक्षकको ध्यान अन्तै मोड्न यस्तो घोषणा गरेका थिए होला वा गर्न बाध्य भए होला । तर, जुन हेतुले गरिएको होस्, उनको घोषणाले सानोतिनो तरङ्ग उत्पन्न गरेको थियो । त्यो घोषणा थियो– प्रदेश सरकारले प्रदेश राजधानी यही विराटनगरमा एक हजार शय्याको आइसोलेसन बनाउनेछ ।
उनले यो घोषणा गरेको २ महिनाभन्दा बढी बितिसकेको छ । तर, एक हजार शय्याको कोभिड आइसोलेसन विराटनगरमा कहाँ छ, पङ्क्तिकारले देखेको छैन । आज निजी अस्पताल र नर्सिङ होममा कोभिड–१९ का बिरामीले उपचार गराइसक्नु छैन । कोरोना भाइरस सङ्क्रमित कुनै बिरामीलाई आइसियु र भेन्टिलेटरमा राख्नुप¥यो भने त्यसको बिल घटीमा पनि ५ लाख आउन थालेको छ ।
नेपालका निरपेक्ष गरीबीको रेखामुनि रहेका जनता ५ लाख त के ५० हजार पनि एकमुष्ट तिरेर उपचार गराउन सक्ने अवस्थामा छैनन् । कोभिड लागेका गरिब बिरामीले धनका अभावमा एक्लै छट्पटिएर मर्नुको विकल्प देखिएको छैन । धनीमानी, सम्भ्रान्त वर्गलाई त केही छैन तर दिनभरि रिक्सा, ठेला हाँकेर वा २ ढाकी तरकारी बिक्री गरेर पेट पाल्नुपर्ने गरिबलाई कोभिड अभिशाप बनेर फैलिरहेको छ ।
मुख्यमन्त्रीज्यू, खोई तपाईंको हजार शय्याको कोभिड अस्पताल भनेर माननीय राईलाई कसैले सोध्यो भने के उत्तर आउँदो हो, थाहा छैन । तर, त्यो अस्पताल किन तयार भएन भन्ने कुरा यस पङ्क्तिकारले बुझिसकेको छ ।
चुरो कुरो खोज्दै जाँदा के थाहा पाइयो भने मुख्यमन्त्रीको कार्यालयले १ हजार शय्याको आइसोलेसन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएछ । सामाजिक विकास मन्त्रालयले आइसोलेसन निर्माणका लागि होटल, पार्टी प्यालेस र सामुदायिक भवनका नाउँमा सूचना निकाल्दै दरखास्त आह्वान गरेछ । तर, कसैले दरखास्त हालेनछन् । किन हालेनन् त दरखास्त भने तिनले पाएको भुक्तानीको कम्तीमा ३० प्रतिशत कमिसन मन्त्रालयकै अधिकारीलाई बुझाउनुपर्दो रहेछ । कमिसनको यो शर्तमा बिरामी राख्न कुनै पनि होटल, पार्टी प्यालेस र सामुदायिक भवनलाई घाटा लाग्ने रहेछ । अनि कसरी परोस्, निवेदन ?
मूलतः भ्रष्टाचार आजको नेपालमा सर्वत्र मौलाएको छ । केन्द्रीय, प्रदेश र स्थानीय तीन तहकै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले मालदार भनिने भौतिक पूर्वाधार विकास मन्त्रालय आफैँसित राखेका छन् । यो मन्त्रालयमा अम्बिरबाबु गुरुङलाई राज्यमन्त्री तोकिएको छ । गुरुङ शेरधनका प्रतिनिधि पात्र अर्थात् निमित्त नायक मात्र हुन् । राई र गुरुङको मिलेमतोमा यस मन्त्रालयमा भइरहेको अनियमितताको सूची धेरै लामो हुन्छ । त्यसलाई यहाँ उल्लेख गर्नुभन्दा पनि के बुझ्नु आवश्यक छ भने मुख्यमन्त्री राई भ्रष्टाचार र कमिसनमा आफैँ लहसिएका छन् । त्यसैले अर्को भ्रष्ट र कमिसनखोरलाई कारबाही गर्ने नैतिक साहस, जाँगर र जोश उनीसित छैन । उनको यही निरीहता र विवशताका कारण हजार शैय्याको कोभिड आइसोलेसन विराटनगरमा बनेन । गरिब जनता छटपटाएर मरिरहेका छन् । हामी सबैको दुर्भाग्य, निर्दयी सरकारलाई के मतलब ?
Kada aayo dai