गणेश लम्साल
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नेपालमा एक लाख भन्दा धेरैमा भइसकेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमितको संख्या १० हजार नाघिसकेको छ भने संक्रमणको दर दैनिक ५ सयमा पुगिसेको छ । कोरोना संक्रमणले मुलुकमा ६ सय १५ भन्दा बढीको र प्रदेशमा १ सय जनाको ज्यान लिइसकेको छ । हामीलाई थाहा छ– संघ, प्रदेश र पालिकाहरुमा कोरोना संक्रमणको उपचार गर्ने अस्पताल, आइसियु , भेन्टिलेटर अनि आइसोलेसनको अवस्था नाजुक छ । संक्रमितहरु बेड अभावले गर्दा आफ्नो घरमै बस्न बाध्य छन् । उपचार अभावमा कैयांैले ज्यान गुमाउनु परिररहेको छ ।
सबैलाई थाहा छ, लकडाउन खुलेपछि कोरोना संक्रमण दर ‘दिनदुना रात चौगुनाले’ बढिरेहको छ । मृत्युदर पनि उस्तैगरि बढ्दो छ । मृत्यु हुनेहरु धेरैजसो ५० वर्ष उमेर काटिसकेकाहरु छन् । यसैले यसपालिको दसैं विगतजस्तै मनाएमा जेष्ठ नागरिकहरु जोखिममा पर्ने निश्चित छ । हुन त कोरोना संक्रमणको लक्षण तुरुन्त नदेखिने र देखिनका लागि ५ देखि ७ दिनसम्म लाग्ने भएकोले ‘आ ! केही हुदैन, दुर्गा भवानीले रक्षा गरिहाल्छिन नि’ भनेर पनि हामी सर्तकतामा वेवास्ता गर्छौ होला । तर, त्यसको असर तिहार लाग्ने बेला वा तिहारपछि हामीले भोग्नुपर्ने हुनसक्छ । त्यो बेला मौसम पनि चिसो भइसक्ने भएकोले दीर्घरोग भएका र जेष्ठ नागरिकहरु साँच्चै समस्यामा पर्ने छैन् । जेष्ठ नागरिकहरुमा मधुमेह, रक्तचाप, श्वासप्रश्सास आदि रोगहरु छन् । र, कोरोनाले यसैको फाइदा उठाउदै कम प्रतिरोधात्मक क्षमता भएकाहरुलाई आक्रमण गरेर मृत्युको मुखमा लाने गरेको छ ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमण हुने सबैभन्दा धेरै उमेर समूह भनेको युवा हो । यो समूहमा रोगप्रतिरोधात्मक क्षमता धेरै हुने भएकोले लक्षण नदेखिँदा उसले आफू ‘स्वस्थ्य छु’ भन्ने ठानिरहेको हुन्छ । यो उमेर समूहका मानिसहरु गाउँघरमा धेरै हिँडडुल गर्ने, घरभित्र र बाहिर श्रम गर्ने, मनपरी यात्रा गर्ने र सामुहिक आमोदप्रमोदमा रमाउने समूह पनि हो । यसैले यो समूहले थाहै नपाई कोरोना संक्रमण विस्तार गराउन मलजल गरिरहेको हुन्छ । आफूलाई केही नभएपनि आफूबाटै संक्रमण भएका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई मृत्युको मुखमा लैजानेतर्फ सबै सचेत हुनुपर्छ ।
यो वर्षको दसैलाई उच्च सर्तकतासाथ मनाउनु हामी सबैको सर्वाेत्तम हितमा हुन्छ । योपाली दसै एकाघर परिवारका सदस्यहरुमा सीमित राख्न सक्नुपर्छ । तर, बेवास्ता गर्दे टिका थाप्न यात्रा गर्न थालियो भने संक्रमणको दायरामा परिदैन र पारिदैन भन्ने दाबी गर्न सकिदैन । उसैपनि लकडाउन खुलेपछि सञ्चालन भएका साना ठूला सार्वजनिक सवारी साधनहरुले सुरक्षा सर्तकता अपनाएका छैनन् । भन्नका लागि भने पनि गराइमा ठीक उल्टो छ । भाडा ५० प्रतिशत बढाएपनि उनीहरुले समाजिक दुरी बनाएर यात्रुहरु राख्दैनन् । पाएसम्म यात्रु कोच्ने प्रबृत्ति उस्तै छ । यात्रुले आपत्ती जनाएमा थेत्तरो ओठे जवाफ दिने व्यवाहार पनि फेरिएको छैन । अनुगमन नभएकोले खर्चिलो नभएपनि पटके यात्रापछि सवारीहरु निर्मलीकरण गराउने गरिएको छैन । अनि लकडाउन खुलेसँगै बजारमा भीडभाड अत्यधिक बढेकै छ । तर, भौतिक दुरी बनाउने, साबुन र सेनिटाइजरले हात धुन लगाउने काम बजारमा पसलेहरुले गराउने गरेका छैनन् । उपभोक्ताहरुले पनि नपरेसम्म नचेत्ने बानी भएकोले सुरक्षा सर्तकता अपनाएर मात्र किनमेल र हिँडडुल गर्ने गरेका छैनौं ।
कार्तिक १ मा घटस्थापना पर्ने भएकोले यो वर्षको बडादसै चाड सुरु हुदैछ । तर, यो वर्ष दसैंका लागि प्रतिकुल समय छ । हाम्रो असावधानीले दसै अवधिमा कोरोना संक्रमण झन् धेरै बढ्ने जोखिम उच्च छ । यसैले हामीले आफनो दैनिकीमा उच्च सर्तकता अपनाउन आवश्यक छ । सरकार र उसका प्रशासनिक संयन्त्रहरुले पनि चाडवाड र धर्मसँस्कृतिको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिनु हुदैन । ‘आ कति गर्नु हौं, हाम्रो मात्र जिम्मेवारी हो र ?’ भनेर लत्तो छाड्न पाइदैन । अनुमगन, नियमन र कार्वाहीलाई अझै धेरै व्यापक बनाउनैपर्छ । ठूला उत्सव र मेलाहरु आयोजना गर्न दिनुहुन्न । शक्तिकेन्द्रहरुमा दर्शन गर्नका लागि उच्च सर्तकता अपनाउने वा आन्तरिक रुपमा मात्र पुजा गराउँदा उत्तम हुन्छ । यो सबै रितिथितीलाई सुव्यवस्थित रुपले पालना गराउने काम राज्य सरकार र उसका संयन्त्रहरुको भएकोले उनीहरु बढी जिम्मेवार हुन आवश्यक छ ।
मेरो पनि आग्रह छ– यो वर्षको चाडवाड सुरक्षित रुपले सर्तकता अनाएर मनाउनुमा नै हाम्रो भलाई हुनेछ । आफू पनि टीका थाप्न अन्यत्र नजाने र अरुलाई पनि यसपाली नबोलाउनु राम्रो हुन्छ । प्रबिधिमैत्री समय भएकाहरुले अनलाइनबाट पनि टिका लगाइदिएर आशिार्बद दिन सकिन्छ । आफन्तको हालखबर, स्वास्थ्य स्थिति फोन, म्यासेन्जर वा जुम र भोभ आदि भर्चुअल माध्यबाट बुझेर दुःखसुख भलाकुसारी गर्न सकिन्छ । कोभिडले आम्दानी टाट पल्टिएको अवस्थामा महंगा लत्ताकपडा र नयाँ गहना तथा गाडीहरु किन्न तछाडमछाड नगरेकै जाती होला । समूहमा मच्चिँदै पिङ खेल्न, तासजुवामा झुम्मिन, सिनेमा घरहरुमा भिडमभिड गर्न हत्ते नगरेको बेस होला । नाटक, भजन किर्तन र विभिन्न प्रतियोगिताहरु पनि स्थगित गर्नु उत्तम होला । शक्तिपिठहरुमा पुजापाठ गर्दा पनि बिशेष सतर्कता आवश्यक पर्छ होला । दसैमा गाउँघरमा आएका नयाँ मानिसहरुको स्वास्थ्य अवस्था बुझने र शंका लागे क्वारेन्टाइन वा आइसोलेसनमा पठाउन सहयोग गर्नु बृद्धिमानी होला । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने तथा संक्रमितको उपचार गर्ने काम त राज्य सरकारको मात्रै पो हो त भनेर हामीले वेवास्ता गरिरहनु हुदैन । नीति निर्देशनहरु पालना गर्नु र गराउन सघाउनु हामी नागरिकहरुको पनि कर्तब्य हो । अटेरी गर्दै लत्तो छाडेर हामी नागरिकहरुले पनि आफ्नो जिम्मेवारी र कर्तब्यलाई विर्सिएमा दशैं महादशा पनि बन्न सक्नेछ ।