गोकुल पराजुली
सवारी व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी सडकको चाप अनुसार सक्रिय हुन्छन् । सडक सुशासन कायम गराउने मुख्य जिम्मेवारी ट्राफिक प्रहरीको भएकोले सडकमा हुने हरेक गतिविधिप्रति उसको निगरानी हुनुलाई अन्यथा लिने कुरा पनि भएन । सडकमा छड्के जाँच गर्ने, सवारी साधनको अवस्था हेर्ने र त्यस सम्वन्धी कानून कार्यान्वयनमा सहयोग गर्ने उनीहरुको दायित्वभित्रकै कुरा हो ।
केही दिनदेखि विराटनगरको सडकमा अलि अनौठो दृष्य के देखिदैछ भने ट्राफिक प्रहरी दिउँसोभन्दा साँझ बढी सक्रिय भइरहेको छ । त्यो सक्रियता के का लागि होला ? सडक सुशासन कायम गर्नका लागि भए सडकका खाल्डा पुर्न लगाउँदा हुन्थ्यो । सडक किनारमा थुपारेको निर्माण सामग्री हटाउन लगाउँदा यात्रुहरु सुरक्षित हुन्थे । सडकमा राडर मेसिन राख्नेतर्फ ध्यान दिए धेरैको ज्यान बच्थ्यो, सिसि क्यामेरा अपडेट गर्ने र नभएको ठाउँमा राख्नका लागि पहल गरे सुरक्षा अवस्थामा सुधार हुन्थ्यो । बेलाबेलामा छड्के जाँच गरे कागजपत्र नियमित गर्ने काममा त योगदान पुग्ने नै भयो । तर, केही दिन यताको दृश्य त्यस्तो छैन ।
पत्रिकाको काम सकेर राति ८÷९ बजे घर फर्किने पत्रकारहरुको दैनिकी नै हो । त्यसै क्रममा हरेक दिन एउटै ठाँउमा उस्तै प्रकृतिको क्रियाकलाप देखेपछि त्यसको अर्थ जान्न मन लागेको छ । केही दिनदेखि हरेक साँझ मुनालपथदेखि राजवंशी चोकबीचको सडक खण्डमा ट्रकको लामो लाइन लाग्ने गरेको छ । धेरैजसो भारतीय नम्बरका ट्रकहरु लाइनमा हुन्छन् । केही नेपाली नम्बरका ट्रक पनि देखिन्छ । ती ट्रकलाई ट्राफिक प्रहरीले राम्ररी नियाल्छन् । टर्च बालेर टायरदेखि ट्रली र चालकको च्याम्बरसम्म हेर्छन् । कागजपत्र माग्छन् । टिपोट गर्नेले टिपोट र प्रश्न गर्नेले प्रश्न गरिरहेको देखिन्छ । सामान बोकेर गन्तव्यमा हिँडेका सवारी अनायसै घण्टौं रोकिन्छ । भन्सारबाट सबै प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गरेको मालवहाक ट्रक रोकेर ट्राफिकले कोरोना नियन्त्रण पक्कै गरेको हैन होला । न त कन्टेनरमा परिमाण ढाँटेर ल्याएको वस्तुको खोजी नै गरेको हो । अनि दिनहुँ चेकजाँच र छड्के किन गरेको होला ?
ट्राफिक प्रहरीले चालकको लाइसेन्स, सवारीको स्वामित्व किताव आदि जाँच गर्ने प्रचलन नेपालमा बाक्लै छ । विराटनगरबाट इटहरी पुग्नुपर्यो भने कहिलेकाँही चार ठाउँमा लाइसेन्स र ब्ल्युबुक देखाउनु पर्छ । प्रश्न ग¥यो भने शान्ति सुरक्षाको लागि हो भन्ने उत्तर आउँछ । यो कुरा पनि म बुझ्दिन । अपराध मान्छेले गर्छ कि गाडीले ? कागज ठिक हुनेको व्यवहार ठिक हुन्छ भन्ने सिद्धान्त ट्राफिक प्रहरीले प्रतिपादन गरेको छ ? होइन भने हरेक दिन एउटै प्रकृतिको जाँच गर्नुको औचित्य के हो ? आज लाइसेन्स नभएर जरिवाना तिरेको स्कुटर चालकले एक महिनापछि फेरि जरिवाना तिर्दा ट्राफिकलाई राजश्व आम्दानी त होला तर अरु औचित्य त केही पनि पुष्टि भएन । हजारौंले आवेदन दिएको वर्षदिन बित्दा पनि लाइसेन्स नविकरण नहुने देशमा सडकमा लाइसेन्स खोतलेर शान्ति सुरक्षाको औचित्य कसरी पुष्टि होला ?
हाम्रो जस्तो ठाउँ जहाँ ट्राफिक संकेतहरुको खास प्रयोग हुँदैन, ट्राफिक जामको अवस्था पनि धेरै छैन । त्यस्तो ठाउँमा दिनहुँ छड्के र चेकजाँच किन गर्नुपर्यो ? सडकमा सयौं ट्रकको लाइन किन लगाउनु पर्यो ? कहिलेकाँही त ६ लेन सडकमा दुई लेनमा लाइन लगाएर जाँच भइरहेको हुन्छ । लाग्छ कि अब ट्रकको रेस सुरु हुँदैछ र त्यसको तयारी भइरहेको छ ।
अघिल्लो वर्ष सिक्कम घुम्न गएको थिएँ । सिलिगुडीबाट अघि बढेपछि सिक्किम पुग्दासम्म मैले कतैपनि ट्राफिक प्रहरी देखिन । छ्याङ्गु लेकसम्म पुगेर घर फर्किदासम्म सडकमा कतै ट्राफिक भेटिएनन् । तर, सवारी साधनहरु सबै नियमवद्ध थिए । न ओभरटेक गर्थे, न जथाभावी पार्किङ गर्थे, न त तोकिएको समय उल्लंघन गरेर सवारी रोक्थे । चालकहरु स्वयं अनुशासित देखिन्थे । त्यो देखेर मलाई अचम्म लाग्यो र सोधें ‘यहाँ ट्राफिक प्रहरी हुँदैनन् ?’ चालकले भने ‘छन् तर वर्षमा एक दुई पल्ट मात्र जाँच गर्छन् ।’ तर, जाँच भएको बेला कमजोरी भेटे ढाड सेकिनेगरी जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था त्यहाँ रहेछ ।
हाम्रै नेपाली मुलका दाजुभाइको बाहुल्यता देखिन्छ सिक्किममा । वर्षमा एकदुई पटक जाँच हुँदा पनि उनीहरु ३६३ दिन अनुशासनभित्र बाँधिएर सवारी चलाउँछन् । यहाँ दिनहुँ डण्डा चलाउँदा पनि ट्राफिक प्रहरीको चित्त बुझ्दैन । दिनहुँ जाँच गरेर ट्राफिक अनुशासन कायम हुँदैन भनेर जान्दाजान्दै पनि जाँडपड्तालको नाममा हैरानी दिनु र सबैलाई चोरको झैं व्यवहार गर्ने कुरामा सुधार ल्याउनु पर्छ । मुख्य कुरा शिक्षा हो । ट्राफिक नियमको पालना सम्वन्धी शिक्षा दिनेतर्फ राज्यले ध्यान दिनुपर्छ । मानिसलाई स्वअनुशासित बनाउने कुरामा जोड दिनुपर्छ । सडकमा अहिले भइरहेको चेकजाँच त्यसमा पनि दशैंको पूर्वसन्ध्यामा, यसले प्रहरीमाथि पनि आशंका बढाउँछ । दशैंको बेला बजार अनुगमन बढी हुने, सडकमा सवारी जाँच बढी हुने आदि क्रियाकलापभित्र लुकेको उद्देश्य के होला ? यो मेरो हैन सर्वसाधारणको प्रश्न हो ।
नमच्चिने पिङको सय झड्का । सडकको बिचमा गाडी रोकेर पान खाने शैली रोकिनुको सट्टा झन बढेको छ। सडकमा चौपाया छाडा छाड्ने र निर्माण सामग्री थुपार्ने गरेको ट्राफिकले देख्दैनन्। अनि छड्के ?