अनन्तराज न्यौपाने
काँग्रेसका ३ केन्द्रीय सदस्य र कार्यकर्ताबीच गत हप्ता गरिएको भर्चुअल परिसंवाद कार्यक्रम चर्चित रह्यो । प्रदेश नम्बर १ को प्रदेशसभाका सचेतक सूयर्माराज राईको संयोजनमा भएको कार्यक्रममा नेतात्रय महेश आचार्य, डा.मीनेन्द्र रिजाल र डाक्टर शेखर कोइराला मुख्य आकर्षण थिए । तीन केन्द्रीय सदस्य एउटै मञ्चमा बसेर काङ्ग्रेसको भविष्य–चिन्तन गर्नु निश्चय पनि सुखद सङ्केत थियो । तर, यससँगसँगै आम कार्यकर्ताका साथै स्वतन्त्र पर्यवेक्षकलाई खट्कने अर्को विषय के रह्यो भने नेतात्रय नै पार्टीको वर्तमान संस्थापन पक्षका विरोधी हुन् र उनीहरूबीच मनोमालिन्य वा मेलमिलाप जे भएपनि सभापति शेरबहादुर देउवालाई खुइल्याउने कुरामा एकमत राख्छन् । यद्यपि उनीहरू आफैँबिच मधुर एकता छैन । मोरङमा तीन जनाकै अलग–अलग गुट छन् । सहजकर्ता सूयर्माले देउवाविरोधी नेतालाई मात्र भेला गरेर कुनै मिसनको प्रयोग गरेको आभास भएको छ । उपरोक्त तीन जनाको समूहमा केन्द्रीय सदस्यद्वय अमृत अर्याल वा डाक्टर डिला सङ्ग्रौलामध्ये एकलाई पनि सहभागी गराउन सकेको भए सन्तुलनको अभ्यास हुने थियो ।
डाक्टर कोइराला आफैंले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसका लागि उनी अझै पनि अहोरात्र देशदौडाहामा व्यस्त छन् । कोइरालाका भाषण, अन्तर्वार्ता र लेखको अध्ययन गर्दा उनी काङ्ग्रेसको क्षितिजमा विचारशील नेताका रूपमा उदाइरहेको अनुमान गर्न अप्ठ्यारो हुँदैन । तर, तिनै विचार, निष्ठा र आदर्शको प्रयोग चाहिँ उनको निर्वाचन क्षेत्र मोरङको क्षेत्र नम्बर ६ मा प्रयोगमा आएको छ कि छैन भन्ने प्रश्न पनि अहम् छ । डाक्टर कोइरालाले पटक–पटक के भन्दै आएका छन् भने पार्टीभित्रको आन्तरिक निर्वाचनको लगत्तै जनप्रतिनिधिको निर्वाचन राखिनु हुँदैन । जनप्रतिनिधिको निर्वाचन आउनुभन्दा धेरै पहिले पार्टीको आन्तरिक निर्वाचन सम्पन्नु गरिनुपर्छ । आन्तरिक निर्वाचनको लगत्तै जनप्रतिनिधिको निर्वाचन गरिए त्यसको असर जनप्रतिनिधिको चुनावमा पर्नेछ र त्यसले घातअन्तर्घातको स्वरूप ग्रहण गर्नेछ ।
उनको यो अभिव्यक्ति काङ्ग्रेसभित्रको एक कटु सत्य हो । तर यस कटु सत्यको स्पष्ट प्रतिविम्ब गत आम निर्वाचनमा उनकै निर्वाचन क्षेत्रमा देख्न पाइयो । पार्टीको आन्तरिक निर्वाचनताका डाक्टर कोइराला पक्षधरले आफूसित फरक मत राख्नेलाई सिध्याउन खोजेको, कतिपयको क्रियाशील सदस्यता नै नवीकरण नगरिदिएको, कतिपय होनहार पुराना कार्यकर्तालाई प्रतिनिधिमै आउन नदिएको र निर्वाचन क्षेत्रको आन्तरिक निर्वाचन एकलौटि गराएको आरोप अर्को पक्षले लगाएको थियो । नभन्दै कोइरालाले ६ सय ७५ को झिनो मतले पराजय भोग्नुप¥यो । उनका दुबै प्रदेश सभासद्ले विजयश्री हात पारे । आम निर्वाचन सकिएको ३ वर्ष बित्नै लागेको छ । तर, अझै मोरङको क्षेत्र नम्बर ६ मा डाक्टर कोइरालाले गुड म्यानेज गर्न खोजेको छनक पाइँदैन ।
पार्टीका अर्का केन्द्रीय सदस्य महेश आचार्यले आगामी महाधिवेशनमा डाक्टर शशाङ्कको समूहमा महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा व्यापक छ । विदेशी अर्थशास्त्रका उद्भट विद्वान् महेश आचार्य आफ्नो मनको कुरा र व्यक्तिगत आकांक्षा हत्पती खोल्दैनन् । उनले कुरा खोल्दा त्यो समय धेरै ढिलो भइसकेको हुन्छ । र, उनको तयारी कमजोर सावित हुन्छ । गत आम निर्वाचनमा उनलाई आफू लामो समय केन्द्रीय सदस्य भएको र सँगसँगै पाण्डित्यको पनि अहङ्कार थियो । अहङ्कार सबैका अगाडि काम लाग्ला तर मतदाता वा जनता जनार्दनका अगाडि निस्तेज हुन्छ । उनी विद्वान् र ठूला नेता हुँदैमा सबै कार्यकर्ता उनकै सति जानुपर्छ वा अधिसङ्ख्य मतदाता उनकै पक्षमा हुनुपर्छ भन्ने अवश्य होइन । बिसौँ वर्ष सत्तामा रहँदा उनले आफ्नो क्षेत्रका कार्यकर्ताका लागि के गरे भन्ने खोजी त्यस चुनावमा गरिएको थियो ।
डाक्टर मीनेन्द्र रिजाललाई गत निर्वाचनमा चिट्ठा प¥यो । उनले गिरिजाबाबुको क्षेत्र मोरङको २ नम्बरमा जान पाए । डाक्टर रिजाल त्यस निर्वाचनका लागि उपयुक्त वा योग्य थिए वा थिएनन् भन्ने विवाद अझै पनि काङ्ग्रेस वृत्तमा यथावत् छ । तर, त्यस क्षेत्रमा विरासतको राजनीति खोज्दै डाक्टर शेखर गएर मीनेन्द्र क्षेत्र नम्बर ६ का उम्मेदवार भएका भए दुबै सिट काङ्ग्रेसको हुने पक्का थियो । मीनेन्द्रका लागि गत निर्वाचन पहिलो पटक थियो । त्यसैले उनले सहजै जिते । त्यस निर्वाचन क्षेत्रमा उनको परीक्षा अब हुनेछ । तर, आम निर्वाचनकै बेलाको जस्तो सोलिड्यारिटी अहिलेको क्षेत्र नम्बर २ मा छैन । कलहको आगो भित्रभित्रै सल्किएको छ । यसलाई डाक्टर रिजालले कसरी प्रबन्ध गर्ने हुन् हेर्न बाँकी छ ।
यहाँनिर अर्को स्मरणीय के छ भने आचार्य र रिजाल दुबै शशाङ्क समूहका हुन् । तर, मोरङमा दुबैका अलग–अलग स्पष्ट गुट छन् । दुबै नेताबिच माधुर्य छैन । संवादको नियमित आदानप्रदान छैन र साहचर्य छैन ।
कार्यक्रममा तीनै नेताले पार्टीभित्र डनवाद र धनवादको विरोध गरे । तर, कटु सत्य के हो भने तीन नेताकै वरिपरि डन पनि छन् र तीन जनाकै पकेट फाइनान्सर पनि छन् । तीन नेताले नै आफू तीन जनाबीच नै मेलमिलाप र हार्दिकता भएको दाबी गरिरहँदा कुनै कार्यकर्ता पत्याउन तयार थिएनन् ।
मूलतः आजको काङ्ग्रेस रिसर्च सँगसँगै मि–सर्च पनि चाहन्छ । काङ्ग्रेसको र यसका संस्थापक नेता बीपी कोइरालाले देखाएका आदर्श, विचार र सिद्धान्तको रिसर्च जरुरी भएको छ । काङ्ग्रेसका हजारौँ कार्यकर्ताले भोगेको र पाएको दुःख, निर्वासन, जेलनेल, सम्पत्ति हरण र अपमानको खोजी र अभिलेखीकरण पनि चाहिएको छ । सँगसँगै नेता–कार्यकर्ता आम काङग्रेसजनले म को हुँ, के गर्दैछु, के गरिरहेछु, गर्नुपर्ने के हो र यही दिशामा हिँड्दा कहाँ पुग्दैछु भन्ने विषयमा मि–सर्च अर्थात् सेल्फ अडिट गर्नु आवश्यक भइसकेको छ ।