विमानस्थल विस्तार हुने भएपछि निजी क्षेत्र उत्साहित

विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको उडान हुनेगरी विकास गर्न तीन तहका सरकारबीच समझदारी भएपछि प्रदेश १ का उद्योगी व्यावसायी उत्साहित भएका छन् ।

सोमबार विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको धावनमार्ग, अत्याधुनिक टर्मिनल हाउस र त्यसका लागि आवश्यक जग्गा प्राप्ति गर्ने सझदारी पत्रमा हस्ताक्षर भएपछि निजी क्षेत्रले स्वागत गरेको छ ।

लामो समयदेखि उद्योगी व्यवसायीहरुले प्रमुख मागको रुपमा सरकारलाई दबाब दिँदै आएको विषय कार्यान्वयनमा जान लागेको भन्दै उनीहरुले सरकारलाई आवश्यकता अनुसार सहयोग गर्ने पनि बताएका छन् । ३ हजार मिटर धावनमार्ग र आधुनिक टर्मिनल हाउसको निर्माण हुँदा यस क्षेत्रको पर्यटन विकासको ढोका खुल्नेमा निजी क्षेत्र आशावादी भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

‘विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्ने प्रक्रिया अगाडि बढ्नु पर्यटन क्षेत्रका लागि उत्साहको विषय हो,’ राउतले भन्नुभयो ‘यस क्षेत्रको पर्यटन बढ्नु भनेकै नेपाली उत्पादनहरु खपत हुनु हो । यसले राज्यको अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउन महत्वपूर्ण भुमिका निवार्ह गर्छ ।’ उहाँले भविष्यमा पर्यटन क्षेत्रका लागि यो एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रदेश १ को पहुँच बढ्ने बताउनुभयो ।

विराटनगर विमानस्थलको स्तरोन्नतिसँगै पूर्वी पहाडी जिल्लाका विमानस्थलहरुमा उडान गर्ने केन्द्रको रुपमा प्रयोग गर्ने सरकारको तयारीले पर्यटन क्षेत्रको भविष्य उज्यालो रहेको व्यवसायीहरुको भनाइ छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगरबाटै अब प्रदेशका अन्य पहाडी गन्तब्यमा उडान हुने जानकारी दिनुभएको छ । विराटनगर विमानस्थललाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै रुपमा विकास गरी सञ्चालन योग्य हुनेमा तीनै तहका सरकारहरु सहमत हुनु सुखद भएको निजी क्षेत्रको बुझाई छ ।

उद्योगी व्यावसायीहरुले २० वर्षेदेखि गर्दै आएको लबिङले सार्थकता पाउँदा उत्साहको सीमा नरहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउनुहुन्छ । उद्योगी व्यावसायीहरुले लामो समयदेखि माउन्टेन फ्लाईटहरु पनि विराटनगरबाटै गर्नुपर्ने माग राख्दै आएका थिए । उहाँले भन्नुभयो, ‘उक्त माग पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईद्वारा सम्बोधन भएको छ । तर, यसको कार्यान्वयन पक्ष शंकास्पद र चुनौतीपूर्ण देख्छु ।’

कोरोना कहरबीच सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएकोमा पनि निजी क्षेत्रले सन्तोष जनाएको छ । महामारीले उद्योग, व्यापार, पर्यटन सबै क्षेत्र धराशायी बनिरहेको अवस्थामा यस्ता दीर्घकालिन अर्थ राख्ने पूर्वाधार निर्माणको प्रकृया सुरु हुँदा पर्यटन लगायतका व्यवसाय पुनसर््थापित हुने आशा जागेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताउनुभयो । विमानस्थल सञ्चालनमा आएपछि व्यापार घाटा पनि सतहमा आउने र विराटनगरको महत्वसमेत बढ्ने उहाँको भनाइ छ ।

विराटनगर विमानस्थलको स्तरोन्नतिसँगै प्रदेश १ को पर्यटनको हव विराटनगर हुने र त्यसबाट यस क्षेत्रको पर्यटन व्यवसायीहरु लाभान्वित हुने भएकोले पनि यसप्रति सबैको चासो बढेको छ । विराटनगरबाट माउन्टेन फ्लाइटहरु सञ्चालन हुनसक्ने वातावरण बन्ने भएकोले पर्यटन व्यवसायीहरु उत्साहित बनेको होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । उहाँले भारतको पटना, दिल्ली, बैङ्लोर वा कलकत्ता जाँदा काठमाण्डौ वा पश्चिम बंगालको बागडुरा विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।

विराटनगरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने साझा मुद्दा कार्यान्वयनको अवस्थामा आइपुगेको र त्यसबाट विशेष गरी पर्यटन व्यवसायीहरु बढी उत्साहित भएको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन(नाटा) प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले बताउनुभयो । विमानस्थल निर्माणसँगै पर्यटन गतिविधि बढ्ने र समृद्धिको आधार तय हुने उहाँको विश्वास छ ।

विमानस्थल निमार्ण भईसकेपछि यसलाई प्रदेश नं. १ मा रहेका सम्भावनाहरुको सदुपयोग गर्ने पुर्वाधारको रुपमा पनि प्रयोग गर्न सकिने पर्यटन व्यावसायीहरुले बताएका छन् ।

मङ्गलबार, २० असोज, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर