विराटनगर विमानस्थल विस्तार हुने : प्रदेश सरकारसँग सम्झौता हुँदै

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । संघीय मन्त्रालय र प्रदेश सरकारबीच दुईपक्षीय समझदारी कायम गरी विमानस्थल विस्तारको काम अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटनगर विमानस्थलको धावनमार्ग २५ सय मिटरमा बिस्तार गर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तयारी छ । तर, प्रदेश सरकारले अन्तराष्ट्रिय उडान गर्न सक्नेगरी ३ हजार मिटरको धावनमार्ग बनाउनुपर्ने अडान कायम राखेको छ ।

धावन मार्गको लम्बाइको विषयमा अन्तिम टुंगो नभएपनि बिस्तारको काम अघि बढाउने तयारी अगाडि बढेको छ । असोज १९ गते विराटनगरमा प्रदेश सरकार र संघीय मन्त्रालयबीच विमानस्थल निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । संघीय मन्त्रालय र प्रदेश सरकारबीच ‘मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ’ (एमओयु) हुने निश्चित भएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले जानकारी दिनुभयो ।

समझदारी पत्रमा हस्ताक्षर गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु विराटनगर आउने भएका छन् । मन्त्री कुशियैतले ३ हजार मिटर लम्बाईको धावन मार्ग निर्माण हुने र अन्तराष्ट्रिय विमानस्थलकै रुपमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको पनि बताउनुभयो ।

विराटनगर विमानस्थल विस्तारका लागि गतवर्ष उत्तर–दक्षिण चौडाईका लागि आावश्यक केही जमिन सरकारले अधिग्रहण गरिसकेको छ । विमानस्थल ३ हजार मिटरमा विस्तार भए धावन मार्गको मध्यबिन्दुबाट १७० मिटर उत्तरदक्षिण चौडाई आावश्यक पर्ने हुँदा थप जमिन अधिग्रहण गर्नुपर्ने अवस्था हुने प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

विराटगनर विमानस्थलको विद्यमान धावन मार्ग १५ सय मिटरको छ । धावन मार्गको लम्बाई एक हजार मिटर थप गर्दा क्षेत्रीय अन्तराष्ट्रिय उडानका लागि प्रयाप्त हुने उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि भने ३ हजार मिटरको धावन मार्ग आवश्यक पर्ने उहाँको भनाई छ ।

विराटनगर विमानस्थल विस्तारको गुरुयोजना तयार भइसकेकोले अब प्रदेश सरकारसँगको समन्वयमा सबै काम अघि बढ्नेगरी ‘एमओयु’मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिनुभयो । समझदारी पत्रमा हस्ताक्षर भएपछि जग्गा अधिग्रहणलगायतको काम अघि बढ्नेछ । त्यसको सबै तयारी अघि बढिसकेको प्राधिकरणले जनाएको छ ।

विराटनगर विमानस्थल २५ सय मिटरमा विस्तार गर्दा पश्चिम केशलिया नदी पूर्वका जग्गा अधिग्रहण हुनेछ । तर, धावन मार्ग ३ हजार मिटरमा बिस्तार गर्ने हो भने नदीमा पुल हाल्नुपर्ने वा नदीको बहाव परिवर्तन गर्नुपर्ने अवस्था आउँनेछ । तत्काललाई भने २५ सय मिटरमै विस्तारको काम अघि बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

आइतबार, १८ असोज, २०७७, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर