लीलावल्लभ घिमिरे
बाको जन्म २००९ सालतिर हो । तेह्रथुमतिर जन्मनुभएका बा मेरा निकै अजिवका हुनुहुन्छ । बा बाहिर देख्दा जति नरम देखिनुहुन्छ, भित्र त्यति नै कठोर हुनुहुन्छ । बाका बानी पनि अनौठा छन् । बाको अधिकांश समय हसेउली ठट्टामा नै वित्छ । रमाइला पिस भन्नु र अरुलाई उडाउनु बाको पहिचान हो । बा त्यसैमा अहिलेसम्म रमाईराख्नु भएको छ । हुन त हाम्रो बाले परिवारका लागि धेरै दुःख गर्नुभएको छ । बाको पढाई आधाकोरी भन्दा अलि तल हो । तर, कुरा सुन्दा बालाई जो कोहिले पनि पपिएचडीभन्दा घटी हैन भन्ने अनुमान लगाउँछन् । बाले नजानेको केहि छैन । हरेक प्रश्नका उत्तर बाका ओठमा हुन्छन् । बाको यो अदभुत् क्षमता देख्दा हामीलाई पनि अचम्म लाग्छ ।
गाउँमा हाम्रो सामान्य मध्यमवर्गीय परिवार । बा दुई आमाका श्रीमान् । बा त्यस बेलादेखिकै गाउँका टाठााटा । निकै ठूलो परिवार भएकाले बाले हामीलाई लालनपालन गर्न धेरैथोक गर्नुभयो । गाउँमा हाम्रो परिवारको निकै राम्रो इज्जत थियो । बाले धेरै आइडीयावाला भएकाले छिमेकीहरुलाई ललाईफकाइ एउटा समूह बनाउनुभयो । सबैजना एउटै परिवार भएर सामूहिक रुपमा खेतीपाति गर्न थाल्यौं । दिन वित्दै गए, सामुहिक खेती निक्कै फष्टायो । गाउँले सबै मिलेर समुह गठन गरे । बालाई समूहको अध्यक्ष पनि बनाए । बा अब गाउँको डिठ्ठा बन्नुभयो । सुरुमा बालाई सबैले मान्थे । अध्यक्ष भएपछि बा फुरुक्क बन्नुभयो । हावादारी गफ र उखानतुक्का बाले अझ बढाउनुभयो । अब बा बोल्न थालेपछि सबै हाँस्न थाले । बा भने झन् मख्ख पर्दै जानुभयो ।
बाको हैकम घरमा बढिरहेको थियो । समूहमा पनि बाको हैकम सुरु भयो । अब समूहका बैठक बस्न छोडे । सबै निर्णयहरु बा एक्लै गर्न थाल्नुभयो । पुराना कर्मचारीलाई निकाल्नुभयो । कान्छी आमापट्टीका सबैलाई समूहमा जागिर दिनुभयो । समूहमा आएका विउविजन मात्र हैन। कहीँ जानुप¥यो, भत्ता पाउने भयो भने सबै कान्छी आमाका सन्तानले मात्र पाउन थाले । पहिला जग्गा एकै ठाउँ बनाउने छिमेकी त के हामीलाई समेत बाले सौतेनी आमाका छोराछोरीकै व्यवहार गर्न थाल्नुभयो । घर झगडा हाम्रोमा नियमित बन्नथाल्यो । बाले धेरै पटक कान्छी आमासँग छुट्टै बस्ने धम्की दिन थाल्नुभयो । अहिले पनि त्यो क्रम जारी छ । गाउँ पुरै बाको बानीदेखि आजित भइसकेको छ । बालाई समूहको अध्यक्षबाट निकाल्न सबै गाउँले एक भए । तर, पनि सकेको छैनन् ।
पहिला पुरै गाउँ बाको पक्षमा थियो । अहिले पुरै गाउँ विरुद्ध छ । तर, बाको दम्भ घटेको छैन । अहिले समूहको पैसाले बा धेरै धनी बन्नुभएको छ । तर, सबै पैसा ससुरालीका नाममा राख्नुभएको छ । घर चलाउन हामीलाई हम्मेहम्मे परेको छ । कोरोनाले घरमा चुलो बल्ने अवस्था छैन । बेसार पानीसमेत खानसक्ने अवस्था छैन । तर, हिजो हामीलाई मुटुको टुक्रा जस्तो मान्ने बालाई हाम्रो पिडाले आज छुन सकेको छैन । बा कसैका कुरा सुन्ने पक्षमा नै हुनुहुन्न । आज बा नाक काटेको र सिँगान पुछेको थाहा पाउने अवस्थामा हुनुहुन्न । हिजोसम्म बाका कुरा कसैले काट्दैनथे । आज बाका कुरा कसैले सुन्दैन । सुन्न बाध्य भए हाँसेर उडाइदिन्छ । लाग्छ, हाम्रा बा कुनै साम्राज्यका भयानक तानशाह हुन् । उनी पोटल्पोट बन्न चाहन्छन् ।
यो अध्यक्ष पदले हाम्रा बा हामीबाट चटकै चुडेर लगे जस्तो लाग्छ । गाउँ नै पुरा बाको विरोधमा उत्रिएपछि एकपटक बाले समूहको अध्यक्ष छोड्ने सहमति गरेका थिए । तर, अहिले बा त्यो सहमतिको कुरै गर्दैनन् । बाको व्यवाहरले हामीलाई समेत गाउँमा छिछि र दुरदुर गर्न थालिसकेका छन् । कुनै बेला थियो । बाको साथमा पुरै गाउँ थियो । अहिले बाको साथमा कान्छी आमाका खाल मात्र छन् । तैपनि बाको घमण्डमा कमी आएको छैन । यस्तै हो भने बाको मलामी हामी छोरा मात्र हुनेछौं । भिरबाट खसेको गाईलाई रामराम भन्न सकिदो रहेछ, काँध थाप्ने आँट कसैमा हुँदो रहेनछ । बाको ताल त्यही भएको छ । बा त बुढो हुनुभयो । अब हामीले गाउँको समूहको अध्यक्ष त के शौचालय निर्माण समितिको सदस्यसमेत कसैले बनाउनेवाला छैन । समूहको अध्यक्ष भएर राम्रो काम गर्नुभएको भए आज हामी छोरा गाउँ नगरका मेयर हुन्थ्यौं होला । तर, अहिले बाले गरेको कु कर्मको फल हामीले भोग्नु परेको छ ।
एक मनले सोचे जन्म दिने बाका बारेमा के यो नानाथरी कुरा पत्रिकामा लेखेको होला । लेखिसकेपछि डिलिट गर्न मन लाग्यो । तर, अर्को मनले सम्झे मेरा बाका के कुरा गर्नु ? अहिले देशका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली र मेरा बाबीच धेरै कुरा मिल्दाजुल्दा रहेछन् । प्रधानमन्त्री ज्यूको जन्मथलो पनि तेह्रथुम । मेरा बाको पनि । प्रधानन्त्री र मेरा बा एकै सालका हुनुहुँदो रहेछ । बोलीचाली हाउभाउ, पढाई मात्र हैन, शासन गर्ने शैली पनि मेरो बा र प्रधानमन्त्रीको उस्तै रहेछ । त्यसैले सम्झे बाको गुणगान लेख्नैपर्छ । मेरा बाका कारण हाम्रो घर मात्र विग्रेको छ । तर, प्रधानमन्त्रीका कारण आज नेकपाभन्दा बढि देश विग्रेको छ । आज बालाई केही भन्यो भने प्रधामन्त्रीलाई देखाउन थाल्नुभएको छ । आब हामीले बालाई क्वारेन्टाइनमा राख्ने बेला भएको छ । अब बालाई सुधारेर हुनेवाला केही छैन । त्यसैलाई बालाई एउटा घण्टी किनेर घरमा पाठपुजा गर्न लगाउने अन्तिम निर्णयमा हामी पुगेका छौं । र त्यो गरेर पनि देखाउँछौं । अब रह्यो प्रधानमन्त्रीको कुरा, त्यत्रो ठूलो कुराको पछि नलागौं । आगे माने बाको मर्जी ।