मापदण्ड पुरा गर्न नसक्ने सेनिटाइजर उद्योग बन्द

विराटनगर । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पुरा गर्न नसक्ने मोरङका सेनिटाइजर उद्योग बन्द भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका स्थित महेश सोनीले सञ्चालन गरेको सेनिटाइजर उत्पादन गर्ने ‘पपुलर प्रोडक्स प्रालि’ बन्द भएको हो ।

मदिरा उत्पादन गर्दै आएका सोनीले लकडाउन सुरू भएपछि बुढीगंगा गाउँपालिकामा सेनिटाइज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका थिए । बजारमा विषाक्त रसायन (मिथानोल) मिश्रित सेनिटाइजर बेचबिखन भइरहेको पाइएपछि विभागले अनुगमन तीब्र बनाएको छ ।

अनुगमनको क्रममा पपुलरले मापदण्ड पूरा नगरेको पाइएपछि एक महिनाभित्र तोकेको मापदण्ड पुरा गर्न विभागले निर्देशन दिएको थियो । मंगलबार विभागले गरेको अनुगमनको क्रममा मापदण्ड पुरा गर्न नसकेपछि उद्योग बन्द गरेको भेटिएको हो । ‘एक महिना अगाडि अनुगमनको क्रममा आउँदा सेनिटाइजर उत्पादन गर्ने पपुलरले कुनै मापदण्ड पुरा नगरेको भेटिएको थियो,’ विभागका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले भन्नुभयो, ‘अहिले अनुगमन गर्दा उद्योग नै बन्द भएको रहेछ ।’

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिब शर्मा कट्टेलको नेतृत्वमा मंगलबार विराटनगरसहित मोरङको ५ वटा सेनिटाइजर उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा विराटनगर–१५ ग्यालेक्सी डेन्डल एण्ड सर्जिकल सप्लार्यसले मापदण्ड पुरा नगरेको भेटिएको छ । अनिल चौधरीले सञ्चालन गरेको सो सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएपछि मौज्जाद गरिएको १ सय ९४ कार्टुन सेनिटाइजर बरामद गरेको फार्मेशी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

बरामद गरेको सेनिटाइजरको सेम्पल कलेक्सन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणको लागि पठाइनेछ । त्यसपछि ग्यालेक्सीको गुणस्तर थाहा हुनेछ । गुणस्तरहिन सेनिटाइजर भएको परीक्षणबाट पुष्टि भए विभागले थप कारवाही अगाडि बढाउने जनाएको छ । रिपोर्ट नआएसम्मको लागि सो उद्योगको उत्पादन बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

हिमगिरी डाइजिङ्ग प्रालि र रिजालको सेटिाइजर प्रालि तोकिएको मापदण्ड अनुसार सञ्चालन भएको पाइएको विभागले जनाएको छ । मापदण्ड पूरा नगर्दा पछिल्लो समय बजारमा औषधि व्यवस्था विभागले गरेको अनुसन्धानमा विभिन्न कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा मानब स्वास्थ्यमा असर गर्ने मिथानोल र कम अल्कोहल प्रयोग भएको पाइएको छ ।

हालसम्म विभागले १५ वटा कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ । ती कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा विषाक्त रसायन प्रयोग गरिएको र मापदण्डभन्दा कम अल्कोहल राखिएकाले रोक लगाइएको औषधि व्यवस्थाले जनाएको छ ।

विषाक्त रसायन (मिथानोल) मिश्रित ह्यान्ड सेनिटाइजरको प्रयोगले हात सुनिने, फुस्रो हुने, फुट्ने, मानिस कोमामा जाने र मान्छेको मृत्युसमेत हुनसक्ने विभागले जनाएको छ । विभागले रोक लगाएका १८ प्रकारका सेनिटाइजरमध्ये १४ वटामा मिथानोल प्रयोग भएको पाइएको थियो ।

फोटो क्याप्सन: सेनिटाइजर उद्योग अनुगमन गर्दै औषधि व्यवस्था विभागको टोली ।

बुधबार, १४ असोज, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर