वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ
मानव शरीरमा मुटु सबैभन्दा महत्वपूर्ण अंग हो । मुटु स्वस्थ हुँदा मानव शरीरका अन्य अंगसमेत स्वस्थ्य हुन्छ भन्ने बुझाई छ । मुटु बन्द भए मानवशरीरको स्वभाविक मृत्यु हुन्छ । १ नं. प्रदेशको राजधानी बिराटनगरमा अवस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ मुटु बचाउन आफ्नो दिनचर्यालाई ध्यान दिनुपर्ने बताउनुहुन्छ । हाम्रो शरीरको मुटु के हो ? मुटु स्वस्थ हुन के गर्नुपर्छ ? लगायत मुटुसम्बन्धी विभिन्न विषयमा डा. श्रेष्ठसँग हाम्रोमतले गरेको कुराकानीः
मुटु स्वस्थ्य राख्नलाई के–के गर्नुपर्छ ?
मुटु स्वस्थ राख्न विभिन्न उपाय अपनाउनुपर्छ । मानवको दिनचर्याले यसलाई निकै असर पार्छ । हामीले आफ्नो दिनचर्यामा व्यायाम वा अभ्यासलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । कम्तिमा दैनिक ३० मिनेट लम्किएर हिँड्नुपर्छ । अथवा सकिएन भने पनि कम्तिमा हप्तामा ५ दिन त ३० मिनेट लम्किएरै हिँड्नुपर्ने हुन्छ । यसले गर्दा शरीरमा भएका सबै अङ्गहरूमा समान रूपमा रक्तसञ्चार हुन्छ । कोषिकाहरु स्वस्थ हुन्छन् । कालान्तरमा गएर मुटुसम्बन्धी रोग लाग्ने सम्भावना नै कम हुन्छ । अर्को हामीले खानपिनमा एकदमै ध्यान दिनुपर्छ । चिल्लो बढी भएका खाना, रातो मासु, डिप फ्राइ गरेका खाना, जंकफुड आदिमा नराम्रो कोलस्टोलको मात्रा प्रचुर हुन्छ । नशाहरूमा नराम्रो कोलस्टोल जम्यो भने रक्तसञ्चारमा अवरोध आउँछ । मुटुलगायत विभिन्न अङ्गका नशाहरूमा पनि ब्लकेज (अवरोध) देखिन सक्छ । त्यसले दीर्घकालीन रुपमा गएर हेर्दा पक्षघात हुने अथवा हार्ट अट्याक (हृदयघात) हुनसक्छ । चुरोटले हाम्रो मुटुको नशामा भएको भित्री परतलाई पातलो बनाइदिन्छ । यसले त्यो परत पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ । जसको कारणले त्यहाँ गएर रगत जमेर हार्टअट्याक हुने हुन्छ ।
पछिल्लो समय मुटुसम्बन्धी रोगका मानिसहरु बढिरहेका छन् । कुन उमेर समूहका मानिसहरु मुटुका समस्या देखिएका छन् ?
पहिले पहिले ५० वर्षमाथिका मानिसहरुमा मुटुका समस्याहरु जस्तै, हर्ट एटेक, उच्च रक्तचाप देखिन्थे । तर, अहिले आएर ३०—३५ वर्षभन्दा मुनीका युवाहरुमा पनि मुटुका समस्याहरु देखिन थालेको छ । यसको कारण चाँहि उच्च रतmचाप, मधुमेह, ह्रदयघात हो । मद्यपान, धुम्रपानको अम्मली धेरै नै भए सानै उमेरमा पनि मुटुरोग लाग्नसक्छ । ३०÷३५ वर्षमा पनि मानिसहरु हार्ट अट्याक भएर मर्ने गरेका छन् । कसैलाई ९० वर्षको हुँदासम्म पनि हार्टअट्याक हुँदैन । खानपान ख्याल नगर्ने, धेरै हिँडडुल नगर्ने, शारिरीक अभ्यास हुने गतिविधि नगर्दा पनि मुटुमा समस्या देखिनसक्छ ।
‘कार्डियाक एरेस्ट’ पछिल्लो समय बढिरहेको देखिन्छ । यसको मुख्य कारण के होला ?
मुटु अचानक बन्द भएर बिरामीको मृत्यु हुने रोगलाई कार्डियाक एरेस्ट भनिन्छ । मुटुको चाल गडबड भएर, हार्ट अट्याक भएर, मुटु एकदम कम चलेर वा मुटु चल्न बन्द भएर कार्डियाक एरेस्ट हुन्छ । समग्रमा भन्दा मुटु बन्द भएपछि हुने मृत्युलाई कार्डियाक एरेस्ट भनिन्छ । अर्को भनेको कार्डियोमायोप्याथिको कारणले पनि हुन्छ जुन चाँहि पहिचान नभएको हुनसक्छ ।
कार्डियाक एरेस्ट र हार्ट अट्याकमा के फरक छ ?
सामान्यतया यी दुवै रोगलाई मानिसहरूले एकै जस्तो बुझे पनि दुवै फरक कुरा हुन् । हाम्रो मुटुमा एक विद्युतीय प्रणाली हुन्छ । यसले गर्दा मुटु चल्ने हुन्छ । त्यसमा गडबडी आयो भने मुटु अचानक छिटो चलेर एक्कासी बन्द हुनसक्छ । अथवा मुटु धेरै समयसम्म नचलेर वा बिस्तारै चल्ने हुँदा पनि हार्ट ब्लक हुन्छ । त्यस्तो बेलामा पनि कार्डियाक एरेस्ट हुनसक्छ ।
हार्ट अट्याक भएर पनि कार्डियाक एरेस्ट हुनसक्छ । हार्ट अट्याक्ट कार्डियाक एरेस्टको एउटा कारण बन्नसक्छ । तर, कार्डियाक एरेस्ट नै भने होइन । हर्ट अट्याकमा मुटुको धमनी अचानक बन्द हुन्छ । बोसो फुटेर त्यहाँ रगत जमेर रक्तसञ्चार बन्द हुनेगर्छ ।
कार्डियाक एरेस्ट भइहाले तत्काल बचाउनको लागि के गर्न सकिन्छ ?
आजभोलि सिपिआर (कार्डियो पल्मोनरी रिसक्सिटेसन) भनेको कृत्रिम रुपमा मुखले श्वास दिने, मुटुलाई थिचेर मुटुलगायत शरीरका अन्य अंगहरुलाई चाहिने रक्तसञ्चार प्रवाह गराई शरीरका मुटु लगायत अन्य कोषहरुलाई काम गर्तबाट जोगाउने हो । समयमै यस यन्त्रको प्रयोगले मुटुको चालको विद्युतीय गढबडीलाई ‘सक’ दिएर सच्याउने काम गरी विरामीको ज्यान बचाउन सकिन्छ ।
त्यसो भए कार्डियाक एरेस्ट भएकाहरुको एन्जिओप्लास्टि पनि गर्नु पर्छ ?
यस्तो हो । मैले अगाडि पनि जानकारी गराए । सामान्यतया यी दुबै रोगलाई मानिसहरूले एकै जस्तो बुझे पनि दुबै फरक कुरा हुन् । हार्ट अट्याक भएर पनि कार्डियाक एरेस्ट हुनसक्छ । हार्ट अट्याक्ट कार्डियाक एरेस्टको एउटा कारण बन्नसक्छ । तर, कार्डियाक एरेस्ट नै भने होइन । तर, समयमै यी यस्ता बिरामीहरुलाई क्याथ ल्याब भएको अस्पतालमा पु¥याए बचाउन सकिन्छ ।
के हो क्याथ ल्याब ?
हाल हाम्रो अस्पतालमा क्याथ ल्याब छ । क्याथ ल्याब भनेको मुटु सम्बन्धी, विशेषगरि हर्ट एटेक भएका बिरामीहरुको उपचार गरिने कक्ष हो ।
अहिलेको कोरोना माहामारीको बेला मुटुरोगीहरु कतिको जोखिममा छन् ?
विश्व नै आक्रान्त छ, अहिले कोरोनाले । र यो समयमा मुटु रोगीहरु प्नि जोखिममै छन् । एक त उच्च रक्तचाप, मधुमेह साथै यी रोगहरुले समेत मुटु रोगी हुने हुन्छन् । तसर्थ उनीहरु हाल जोखिममै छन् ।
उच्च रक्तचापसँग मुटुको कस्तो सम्बन्ध छ ?
उच्च रक्तचापको मुटुसँग प्रत्यक्ष सम्बन्ध छ । यो एक किसिमको अर्लाम (पूर्वसङ्केत) हो । उच्च रक्तचाप हुनु भनेको अब चाहिँ तिम्रो शरीरको सिस्टमले राम्ररी काम गर्न छाडेको छ है, समयमै सजग हुनप¥यो भनेर आफ्नै शरीरले चेतावनी र संकेत दिएको हो । उच्च रक्तचापका बिरामीमा हार्टअट्याक बढ्ने जोखिम बढ्छ । मुटु, किड्नी फेल हुनसक्छ । दिमागमा रगत जमेर पक्षघात हुनसक्छ । यसरी हेर्दा उच्च रक्तचापको खाली मुटुसँग मात्र हैन शरीरका सबै महत्वपूर्ण अंगसँग सम्बन्ध हुन्छ । उच्च रक्तचाप ढोकामात्र हो । त्यो ढोका खुले त्यहाँबाट विभिन्न रोगहरू शरीरमा सजिलै भित्र जान सक्छन् । सुरुमै त्यो ढोका बन्द गर्दिन सके ती जटिल प्रकृतिका रोगहरु शरीरसम्म पुग्ने बाटो नै बन्द हुन्छ ।
मुटु रोग लागेको के–के संकेतहरूले थाहा पाउन सकिन्छ ?
मुटु रोगमा मटुको धमनी, रक्तनलीहरूमा समस्या, हार्टअट्याक आदि पर्दछन् । मुटुले काम गर्न छाड्न लागेको छ भने श्वास फेर्न गाह्रो हुन्छ । मुटुमा केही गडबडी हुन लागेको छ भने अचानक बेहोस हुने, खुट्टाहरू सुन्निने, मुटुको ढुकढुकी बढ्ने हुन्छ । यी सबै मुटुसम्बन्धी रोग लागेका लक्षण हुन् ।
मुटु रोग लाग्न नदिन कसरी सजग हुन सकिन्छ ?
आफूलाई स्वस्थ्य राख्न दैनिक ३० मिनेट हिँड्ने, खानपिनमा चिल्लो पदार्थको प्रयोग कम गर्ने, जंकफुडहरुको प्रयोग कम गर्ने, खानामा नुनको मात्रा ठिक्क राख्ने, हरियो सागसब्जी दैनिक खाने, दिनमा एकपटक जसरी पनि फलफूल खाने, प्रेसर तथा कोलस्ट्रोलसँग सम्बन्धित रोगहरू भए त्यसलाई समयमा नै उपचार गर्ने, अम्मलहरू सबै छाड्ने वा सुरुमा नै त्यस्तो अम्मलमा नपर्ने गर्नुपर्छ ।