सुदिप कोइराला
कोरोना भाईरस (कोभिड–१९) का कारण ११ चैतदेखि मुलुकमा लकडाउन सुुरु भयो । त्यहि मितिदेखि असार मसान्तसम्म विराटनगर भन्सारबाट मात्र ३२ करोड ५३ लाख रुपैयाँ मूल्य बराबरको आलु, प्याज, गोलभेडा, लसुन, च्याउ र अन्य हरियो सागसब्जीहरु आयात भएको छ । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिभन्दा १० करोड बढीको आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ५६ लाख ५५ हजार ४ सय ७० रुपैयाँ बराबरको ७ हजार ३ सय ९० मेट्रिक टन आलु, हरियो प्याज, गोलभेडा, लसुन, काउली, बन्दागोभी, ब्रोकाउली, सुकेको प्याज र च्याउसहित अन्य हरियो सागसब्जीलगायतका तरकारी आयात भएको थियो ।
विराटनगर भन्सारबाट साउनदेखि यता मात्र १२ करोड ५२ लाख ७० हजार ५ सय ५६ रुपैयाँकोे १ हजार ९ सय ५८ मेट्रिक टन गाँजर, मुला, हरियो लसुन, सलगम, काँक्रा, गोलभेडा र अन्य ताजा सागसब्जीहरु आयात भएको छ । यो तथ्यांकलाई केलाउने हो भने संकटका बेला विकल्प खोज्न सक्ने क्षमता पनि हामीमा हराउँदै गएको पाइन्छ ।
करिब ८५ प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर रहेको तथ्यांक प्रस्तुत गर्दै आएका हामीले आफ्नो परिवारलाई पुग्ने हरियो सागसब्जि समेत उत्पादन गर्न सकेका छैनौं । यसको प्रत्यक्ष असर हामीमा आत्मनिर्भरता भन्दा परनिर्भरता नै हाबी भइरहेको देखिन्छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकलाई हेर्ने हो भने पनि यसलाई पुष्टि गर्दछ । कोभिड यो पटक आएको समस्या हो । यस्ता समस्याहरु फेरि पनि आउन सक्छन् । यस्ता समस्या आएपनि नआएपनि मुलुकलाई आत्मनिर्भर बनाउँदै अघि लैजान आवश्यक छ । त्यसका लागि हरेक नागरिक र राज्यले पनि समान दायित्व निर्वाह गर्दै अघि बढ्न सक्नुपर्छ । राज्यले वातावरण तयार गरिदिने हो भने अबको युवा जनशक्तिले स्वदेशमै उत्पादनमा जोडिन आवश्यक छ । कम्तिमा आफ्नो परिवारलाई पुग्ने हरियो सागसब्जी मात्रै उत्पादन गर्न सक्दा राज्यका निम्ति पनि योगदान पुग्छ भन्ने हेक्का राख्नुपर्छ ।
विश्व्यापी महामारीको रुपमा भित्रिएको कोभिड–१९ ले अनेकन समस्या निम्त्यायो । स्वदेश तथा विदेशमा रहेका हजारौं नागरिकले रोजगारी गुमाउनुप¥यो । कोभिडको संक्रमण फैलिँदै जाँदा रोजगारीका लागि गएका छिमेकी मुलुक भारत सहित तेस्रो मुलुकबाट फर्कने नेपालीहरुको लस्कर लामै लाग्यो । अझै पनि फर्कन चाहनेहरु प्रशस्तै छन् ।
यसरी युवा जमात बेरोजगार भएर नेपाल फर्कदै गर्दा धेरैले चिन्ता व्यक्त गरे । त्यो स्वभाविक थियो, बेरोजगारको समस्या बढ्दैथियो । यद्यपी ‘समस्यापछि नयाँ सृजना हुन्छ’ भने झैं नेपाल सरकारसहित प्रदेश र स्थानीय सरकारहरुले पनि तीनै युवा जनशक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउन स्व–उद्यमी बनाउनेदेखि कृषि उत्पादनमा जोड्नेसम्मका योजनाहरु अघि सारेका छन् । ती योजनाहरुको कार्यान्वयन चाँही के भइरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ । बेला यहि हो, यहिबेला तिनै युवा जनशक्तिलाई कृषि पेशामा लाग्न उत्प्रेरण जगाउँ । यसका लागि राज्यले पनि कृषकको सुरक्षामा तत्काल ठोस योजना कार्यान्वयन गर्न सक्नुपर्छ ।
कम्तिमा मौसम अनुसार उत्पादन हुने तरकारीलाई समयमा नै संकलन गर्ने र भण्डारण गर्ने व्यवस्था गर्न सके कृषकलाई हौसला हुनेथियो । केहि समय अघि मात्र मोरङसहित विभिन्न जिल्लाका कृषकले सयममा उठाउन नसक्दा गोलभेडा, खोर्सानीलगायतका हरियो सागसब्जीहरु त्यसै कुहिएर गएको समाचार आए । कतिपय स्थानमा बजारसम्म पु¥याउन नसक्दा सडकमै पोखे । यो समस्या कोभिडका कारण निम्तिएको हो भनिएला । तर, त्यो पन्छिने तर्क मात्रै हुन्छ । सायद त्यसलाई मात्र समयमा भण्डारण गर्न सकिएको भए अहिलको आयातमा केहि प्रतिशत भएपनि कमी आउथ्यो होला । यसतर्फ सम्बन्धित पक्ष र आम नागरिक अझ युवाजनशक्तिको ध्यान पुग्न सकोस् ।
हुन त सहि कुरा हो तर अहिलेको युवापुस्तामा त्यो जागरण आउन सक्या छैन । अहिलेको पुस्ता कामलाई वर्गीकरण गरेर बस्या छ र जसरी हुन्छ उसको दिमागमा बिदेश मोहले यसरी डेरा जमाएर बसेको छ कि त्यो उक्काउनु निकै ठूलो पहाड उचाल्न सरह छ । साथमा अहिलेका अभिभावक पनि उसको बालापन देखि नै बिदेश मोह यसरी भरिदिन्छन कि मानोउ त्यो जीवन जिउने गुरुमन्त्र हो ।