अनलाइनबाट भुक्तानीमा आकर्षण बढ्यो

विराटनगरका २७ हजार ग्राहकले घरमै बसरे तिर्छन्, बिजुलीको बिल

विराटनगर । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै घण्टौं लाइन बसेर विद्युत महशुल भुक्तानी गर्नेहरुको संख्या घट्दै गएको छ । इन्टरनेटको माध्यमद्वारा घरबाटै सजिलै महशुल भुक्तानी गर्न सकिने सुविधा भएपछि उपभोक्ताहरु बिस्तारै त्यसमा अभ्यस्त हुँदै गएका छन् ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गतका विद्युत प्रयोगकर्ताहरुमा पनि पछिल्लो सयम सूचना प्रविधिको प्रयोग गरेर महशुल भुक्तानी गर्ने बानी विकास हुँदै गएको प्राधिकरणले जनाएको छ । कोरोना महामारीको समयमा घरबाटै महशुल भुक्तानी गर्दा उपभोक्ताहरुले सुरक्षित अनुभूति गरेका कारण पछिल्लो समय अनलाइनमार्फत भुक्तानी गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७६/७७ को चैत्र महिनादेखि देशव्यापी बन्दाबन्दी भएपछि उपभोक्ताहरुले अनलाइनमार्फत भुक्तानी गर्ने अभ्यास थप बढाएका थिए । त्यसअघि पनि बैंक तथा अनलाइनमार्फत महशुल भुक्तानी गर्नेहरुको सीमित संख्या भने थियो ।

साउन महिनामा विराटनगर वितरण केन्द्रका २३ हजार ९८० जना उपभोक्ताले अनलाइनमार्फत विद्युत महशुल भुक्तानी गरेका थिए । यो प्राधिकरणको विराटनगर वितरण केन्द्रको नियमित महशुल भुक्तानी गर्ने ग्राहकमध्ये ३३.६५ प्रतिशत हो । भदौ महिनामा अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकको संख्या अझ बढेको प्राधिकरणले जनाएको छ । भदौ महिनामा २६ हजार ९०० जनाले अनलाइन मार्फत महशुल भुक्तानी गरेका गरेका छन् । यो कुल ग्राहक संख्याको ३७.७४ प्रतिशत भएको बिलिङ शाखाका युवराज घिमिरेले जानकारी दिनुभयो ।

प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरगत रहेका १८ वटा एरियामा ७१ हजार २७० विद्युत प्रयोगकर्ताहरु छन् । अनलाइनमार्फत महशुल भुक्तानी गर्दा उपभोक्ताका लागि सबैभन्दा धेरै समयको बचत बचत हुन्छ भने समयमै भुक्तानी गर्दा विलम्ब शुल्क बचत हुन्छ । त्यसबाहेक बिल प्राप्त हुनासाथ महशुल भुक्तानी गर्दा छुट सुविधा पाउन सकिने प्राधिकरणले जनाएको छ ।

अहिले कोरोना महामारी चलिरहेको बेला घण्टौं लाइन लाग्ने वा टोकन लिएर भीडमा पालो कुरेर महशुल भुक्तानी गर्न बस्दा भाइरस संक्रमणको जोखिम बढी हुन्छ । अनलाइनमार्फत कारोबार गर्दा त्यो जोखिम कम गर्न सकिन्छ ।

विराटगरका ७२ हजारभन्दा बढी ग्राहकमध्ये करिब २७ हजारले अनलाइनमार्फत सेवा लिँदा प्राधिकरणलाई भीड र जोखिम कम गर्न सहज भएको छ । कर्मचारीहरुलाई पनि काममा सहयोग पुगेको उनीहरुले बताएका छन् ।

प्राधिकरणले प्रयोग गर्दै आइरहेको अनलाइन भुक्तानी प्रणाली पुरानो हो । यस प्रणालीमा बिलिङ गरेको दुई–तीन दिनपछि मात्र बिलिङ रकम अपडेट हुन्छ । तत्काल अपडेट नहुँदा विलम्ब शुल्क तिर्न नपरोस् भनेर धेरैले काउन्टरबाटै महशुल भुक्तानी गर्ने गरेका छन् । प्रणालीमा सुधार गर्न सकेको खण्डमा अनलाइन भुक्तानी गर्नेको संख्या निकै बढ्नसक्ने देखिएको घिमिरेले बताउनुभयो ।

नेपाल खानेपानी संस्थानले मिटर रिडिङ गरेको ३० मिनेटभित्रै अनलाइनमा अपडेट हुनेगरी सिस्टमको विकास गरेको छ । त्यस्तै सिस्टमको विकास गर्ने हो भने घरबाटै महशुल भुक्तानी गर्नेको संख्या बढाउन सकिने कर्मचारीहरुको विश्वास छ ।

बिजुलीलगायत विभिन्न महशुल भुक्तानीका लागि ई–सेवा, आइएमई–पे, फोन–पेलगायत विभिन्न सेवाहरु सञ्चालनमा छन् । त्यसबाट उपभोक्ताले सहज सेवा लिन सक्नेछन् । यसले बैंकमार्फत कारोवार गर्ने पद्दतिको विकास गर्ने भएकोले सेवालाई अझ विश्वसनीय पारदर्शीसमेत बनाउने प्रयोगकर्ताहरुको अनुभव छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले वार्षिक सरदर २ देखि ३ अर्बको हाराहारीमा विद्युत महशुल संकलन गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ६४ करोड १५ लाख ७२ हजार ११९ रुपैयाँ महशुल संकलन गरेको प्राधिकरणले जनाएको छ । लकडाउनका कारण उद्योग, कलकारखाना, अन्य धेरै प्रकारको व्यवसाय बन्द भएका कारण विद्युत खपत कम हुँदा मशुल घटेको थियो ।

पछिल्लो समय विराटनगर वितरण केन्द्र अन्तरगतको क्षेत्रमा विद्युत चुहावट पनि घटेको छ । अघिल्लो वर्ष ११.२१ प्रतिशत चुहावट रहेकोमा त्यसमा सुधार भई यो वर्ष ९.६१ प्रतिशतमा झरेको केन्द्रका प्रमुख राजिव सिंहले जानकारी दिनुभयो ।

बिहिबार, ०८ असोज, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर