लीलाबल्लभ घिमिरे
देशमा दुईतिहाइ नजिकको सरकार केन्द्रमा छ । सिंहदरवारको अधिकार जनताको घरदैलोमा आएको छ । जता हे¥यो उतै सरकार नै सरकार छन् । झण्डावाला गाडीहरु टोलटोलमा कुदिरहेका छन् । जनता खाली पेट कोरोनासँग युद्ध गरिरहेका छन् । यो लडाई हिजो प्रजातन्त्र, लोकतन्त्र र संघीयताका लागि लडेको भन्दा अझ कठोर छ । तर, पशुपतिनाथको कृपाले नेपालीहरुमा बाँच्ने आशा मरेको छैन ।
आफूहरुले विश्वास गरेर सबैभन्दा ठूलो दान गरेर पठाएको सर्वाहाराको पार्टी सरकारमा छ । तर, माखो मारेको छैन । निरास जतता लामो समयसम्म सत्ताको अनुभव बोकेको प्रमुख प्रतिपक्षी दलतर्फ नजर लगाउँछन् । तर, त्यहाँबाट पनि आशा जाग्दैन ।
स्थायी सरकारले आमुल परिर्वतन गर्ला भनेर आशा बोकेका जनतामा निरासा छाउन थालेको छ । विकल्पमा रहेको कांग्रेससँग पनि अहिलेकै अवस्थामा जनताले धेरै आशा गरिहाल्लान् भन्ने अवस्था छैन । सत्ता सञ्चालनको लामो अनुभव बोकेको कांग्रेसले किन केन्द्रदेखि प्रदेशसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकासमेत जनआकांक्षा अनुसार निभाउन सकेन भन्ने प्रश्न यति बेला सबैमा छ । धेरैले यसको दोष शेरबहादुर देउवालाई दिने गरेका छन् ।
देशको सबैभन्दा पुरानो दल कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । कांग्रेसको १३ औं महाधिवेशन २०७२ साल फागुनमा भएको थियो । अब १४ औं महाधिवेशन २०७७ साल फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय भईसकेको छ । तर, कोरोनाका कारण देखाएर महाधिवेशन फागुन हुदैन भन्नेमा म चाँही ढुक्क छु । २०७८ वैशाखमा १४ औं महाधिवेशन होला । त्यसपछि कांग्रेस कस्तो हुन्छ ? नेतृत्व कस्को हातमा जान्छ भन्ने अड्कलबाजी चिया पसल हुन थालिसकेको छ । अहिले नै १४ औं महाधिवेशनले यसलाई सभापति बनाउँछ भन्दा हतार होला । तर, कांग्रेस कस्तो बन्छ भन्ने कुरा चाँही भन्न सकिन्छ ।
१४ औं महाधिवेशनले सभापतिमा नाम फेरिएला, अलिसमय जित्नेले पार्टी संगठनमा भेल नै ल्याए जस्तो गर्लान् । तर, मेरो विचारमा अहिलेको कांग्रेस र १४ औं महाधिवेशनपछिको कांग्रेसमा कुनै फरक आउने छैन । किनभने अहिले सभापतिको दौडमा रहनुभएका नेताहरुले विचार संघर्षका मुद्दालाई समाएर हैन, एकले अर्काका कमजोरीलाई मुद्दा बनाएर अघि बढिरहनु भएको अवस्था छ । हुन त सबैभन्दा वैचारिक मन्थन हुने नेपालका बामपन्थी दलहरुमा समेत अचेल लाइन संघर्ष विचारका आधारमा नभई ब्यक्तिका गुण र दोषका आधारमा भईरहेका छन् । कांग्रेसमा हुनु स्वाभाविक नै हो ।
कांग्रेसको १४ औं महाधिवेशन पनि दशैं तिहारमा टोल–टोलमा हुने रातो भाले कप फुटवल प्रतियोगिता भन्दा फरक हुदैन । कुम्भमेला हुन्छ । हिजोकै शैलीमा मतदान, अनि विजयी घोषणा । यसले कांग्रेसको आन्तरिक जीवनमा कुनै नयाँ रक्तसञ्चार ल्याउन सक्दैन । मैदानमा देखिएका उम्मेदवारहरुले विपीले ७० वर्ष पहिला परिकल्पना गरेको समाजवादको थोत्रो पाना नै बोकेर हिँडिरहेका छन् । विपीले त्यसबेला भन्नुभएको थियो, ‘सबै नेपालीको एउटा दुहुनु गाइ होस्, टिनले छाएको घर होस्, विरामी पर्दा सिटामोल खान पाओस्, सबै छोराछोरीस्कूल जान पाउन् ।’ सामान्य र सबैले वुझ्ने भाषामा विपीले कांग्रेसको त्यो समयका लागि प्रतिपादन गरेको मुल सिद्धान्तलाई अहिलेसम्म कांग्रेसले परिमार्जन गर्नका लागि बहससमेत चलाउन सकेको छैन ।
अबको कांग्रेस कस्तो हुन्छ ? बामपन्थीलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? कांग्रेसले हिन्दु राष्ट्रका बारेमा केहि बोल्नुपर्छ कि पर्दैन ? धेरै प्रश्न उत्तर विपीले जे दिनुभएको थियो, त्यही नै १४ औं महाधिवेशनका सभापतिका उम्मेदवारहरु हुनेछ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र अहिंसा (शान्तिको बाटो), कम्युनिष्ट सरकारले हेर्ने दृष्टिकोण सबैको एउटै छ ।
अहिले जस्तो छ । त्यही रुपमा कांग्रेसलाई चलाइराख्ने हो भने आइ कांग्रेसको अवस्थाभन्दा माथि उठ्ने देखिन्न । त्यसका लागि आगामी महाधिवेशनमा बैचारिक मुद्दासहित उम्मेदवारहरु मैदान आउनुपर्छ । कार्यकर्ता जसका मुद्दामा सहमत हुन्छ, सभापति उही हुनुपर्छ । अब उम्मेदवारहरुले विपीले प्रतिपादन गरेको सिद्धान्तलाई परिमार्जन गर्ने खाका कोर्न थाल्नुपर्छ । तर, त्यसो कसैले गरेको देखिदैन । बैचारिक लडाइ युवाहरुले बढि गर्नुपर्ने हो । तर, कांग्रेसमा देखिएका युवाहरुमा पनि त्यो क्षमता नभएर हो कि नगरेर हो त्यतातिर लागेको देखिदैन । १४ औं महाधिवेशमा कांग्रेसमा रहेका युवा नेताहरु कांग्रेसलाई बदल्नेभन्दा पनि आफ्नो गुट बदल्न तल्लीन देखिएका छन् । पापबाट मुक्ति पाउनका लागि बुढा गाईको पुच्छर समातेर वैतरणी नदि तरे झैं युवा नेताहरु पदमा पुग्नका लागि बुढा नेताको फेर समात्न तल्लिन देखिनु विडम्बनाको कुरा हो ।
कांग्रेसका सबै खेमाका नेताहरू नेकपा सरकार लोकतन्त्रलाई कमजोर पार्ने प्रयासमा रहेको, जनताका मुद्दालाई बेवास्ता गरेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँछन् । तर, ती मुद्दालाई लिएर बलियो रुपमा न त सदनमा देखा परेका छन् न त सडकमा नै । यहाँसम्म कि जनतासम्म समेत यी मुद्दालाई स्थापित गर्नेगरी जान सकेका छैनन् । यसले पनि कांग्रेस नेतृत्वमाथि प्रश्न उठाइरहेको छ । यी सबै प्रश्नको उत्तर १४ औं महाधिवेशनमा कार्यकर्ताहरुले खोज्नुपर्ने हो । तर, त्यहाँ कार्यकर्ताहरुले यी प्रश्नको उत्तरसमेत माग्ने छैनन् । किनकि वुथबाट सुरु हुने कांग्रेस निर्वाचन प्रक्रियामा विजयी बन्न कुनै न कुनै दाजुको फेर समाउनुपर्ने बाध्यता छ । जसले कांग्रेसभित्रको लोकतन्त्र दिनानुदिन कमजोर बनाइरहेको छ । यहाँ नेताहरुलाई कांग्रेस कमजोर हुनेभन्दा पनि आफू र आफ्नो गुट कमजोर हुने हो कि भन्ने चिन्ताले सधै सताइरहन्छ ।