सीमा बन्दको सकारात्मक प्रभाव : गुल्जार हुँदै विराटनगरको बजार

विराटनगर । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै विराटनगर बजारको चहलपहल बढेको छ । बजारमा उपभोक्ताहरुको चहलपहल बढ्दा कोरोना महामारीका कारण लामो सयम व्यवसाय बन्द गरेर नोक्सानी व्यहोरेका व्यवसायीले राहत अनुभूति गरेका छन् ।

भदौ अन्तिम सातादेखि पूर्णरुपमा खुलेको विराटनगर बजारमा आजभोलि उपभोक्ताहरुको घुँइचो बढ्दै गएको छ । नेपालमा महत्वका साथ मनाइने दशैं पर्व नजिकिँदै गएकोले पनि बजारमा उपभोक्ताहरु बढेका छन् ।

विगत वर्षहरुमा दशैं तिहार जस्ता ठूला पर्वको पूर्वसन्ध्यामा पनि ग्राहक कुरेर बस्नुपर्ने विराटनगरका पसलहरुमा अहिले बिहानदेखि नै उल्लेख्य संख्यामा उपभोक्ताहरु पुग्ने गरेका छन् । उपभोक्ता बढेपछि ७ महिनासम्म व्यवसाय बन्द गर्दा भएको नोक्सानीबाट पीडित भएका व्यवसायीहरुले राहतको सास फेरेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो ।

कोरोनाका कारण अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द हुँदा विराटनगर जस्तो सीमा क्षेत्रको बजारलाई फाइदा भएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ । सीमा नाका बन्द भएपछि उपभोक्ताहरु विराटनगर बजारबाटै आफ्ना दैनिक आवश्यकताहरु पुरा गरिरहेका छन् । जसले गर्दा यहाँको बन्द ब्यापार राम्रो ढंगले चलेको थापाले बताउनुभयो ।

यतिबेला विराटनगरका हरेक प्रकारका पसलहरु राम्ररी चलेका छन् । लकडाउनको अवधिमा पनि खुला रहेको किराना पसलहरुलाई सीमा नाका बन्द हुँदा सबैभन्दा राम्रो फाइदा पुगेको छ । किराना सामग्री खरिद गर्ने झण्डै ५० प्रतिशत उपभोक्ता विराटनगरमा थपिएको विराट व्यापार संघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

‘सीमा नाका बन्द हुँदा विराटनगरमा ५० प्रतिशत उपभोक्ताहरु बढेका छन्,’ थापाले भन्नुभयो ‘दैनिक हजारौं मानिसहरु नजिकको भारतीय बजारबाट दैनिक उपभोगका अधिकांश वस्तु आयात गर्दारहेछन् भन्ने कुरा बोर्डर बन्द भएको अहिलेको अवस्थामा यहाँ बढेको उपभोक्ताहरुको चापले प्रमाणित गरेको छ ।’

सरकारले दुई देशबीच खुला आवतजावत गरेपनि उपभोक्ताहरुलाई आफ्नै बजारमा रोक्नेगरी व्यवस्था मिलाउनुपर्ने थापा बताउनुहुन्छ । सामान्य अवस्थामा विराटनगरका उपभोक्ताहरुले भारतीय बजार जोगवनीमा दैनिक सरदर ३ करोड रुपैयाँ खर्च गर्दै आएको यहाँका व्यवसायीहरुले बताउने गरेका थिए । बोर्डर बन्द रहेको र बजार खुलेको अवस्थामा विराटनगरमा फस्टाएको व्यापारले उक्त दावी प्रमाणित गर्ने उनीहरुको भनाई छ ।

सार्वजनिक यातायात सञ्चालनमा आएपछि सोमबार धरानबाट एकजना व्यक्ति भारतको जोगवनी जानका लागि विराटनगर आइपुगेका थिए । जोगवनीका पसलेसँग सम्पर्क गरेर आएका उनले चोरबाटो भएर जोगवनी जाने आँट गरेनन् । व्यापारको उद्देश्यले केही किराना सामान, केही लत्ताकपडा धरान लैजान भनि आएका उनले विराटनगरबाटै सामान लिएर फर्किए ।

जोगवनीका व्यापारीहरुले आवश्यक सामान छानेर फर्किए दुई दिनभित्रमा सामान घरमै पु¥याइदिने भनेपनि उनले आँट गरेनन् । यो घटनाले अहिले पनि अनौपचारिक सीमापार व्यापार जारी रहेको स्पष्ट पारेको अध्यक्ष थापा बताउनुहुन्छ ।

यद्यपी खुलारुपमा हजारौं उपभोक्ता भारतीय बजार जान नपाएका कारण नेपाली बजारलाई त फाइदा भएकै छ ‘सरकारलाई पनि राम्रो राजश्व आम्दानी भइरहेको छ, यहाँको व्यापार फस्टाउँदा रोजगारी र व्यवसायीको आम्दानी बढेको छ,’ थाापाले भन्नुभयो । लकडाउनको अवधिमा चलेका किराना पसलहरु निश्चित समय खुला हुँदा पनि खर्च व्यवस्थापन गर्न गाह्रो नभएको उहाँको भनाई छ ।

केही दिनदेखि लत्ताकपडा, किराना, बिजुलीका सामानहरु आदिको कारोवार राम्रो भइरहेको व्ययापारीहरुले बताएका छन् । यद्यपी लामो समयको लकडाउन र मानिसहरुको आम्दानीमा परेको प्रभावले गर्दा बजारमा सबै खालका उपभोक्ता भने नआइपुगेको उनीहरुको भनाइ छ । उपभोक्ताको खर्च गर्ने क्षमतामा पनि ह्रास आएका कारण बजार अकल्पनीय ढंगले गुल्जार हुने अवस्था भने छैन ।

अन्तराष्ट्रिय सीमा नाका बन्द बजारमा कपडा व्यवसायीहरुलाई पनि राम्रो फाइदा भएको छ । यस क्षेत्रका अधिकांश उपभोक्ता कपडा किन्नकै लागि जोगवनी जाने गरेका थिए । विराटनगरका मात्र होइन धरान, धनकुटादेखि कपडा र चिनी किन्न जोगवनी जानेहरु हजारौंको संख्यामा थिए । अहिले उनीहरु आन्तरिक बजारकै उपभोक्ता बनेका छन् ।

विगतमा कपडा पसलेहरुले दशै–तिहारमा गर्ने कारोवार निराशाजनक नै हुन्थ्यो । भारतीय बजारबाट एक हजारभन्दा बढी मूल्यको वस्तुको खरिदमा भन्सार लाग्ने व्यवस्था गर्न उनीहरुले वर्षेनी दवाव दिनेगर्थे । यहाँको बजार सुक्दै जाने र सीमापारीको बजार गुल्जार हुँदैजाने अवस्थाले गर्दा उनीहरुले सरकारलाई दवाव दिने गरेको तर कहिल्यै सुनुवाई नभएको अध्यक्ष थापाको भनाइ छ ।

मङ्गलबार, ०६ असोज, २०७७, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर