विराटनगर । प्रदेश १ कै अब्बल शिक्षण संस्थाको रुपमा स्थापित विराटनगर ५ को एभरेष्ट एजुकेशन फाउन्डेसनले आफ्नो भौतिक तथा शैक्षिक क्षमता थप विस्तार गरेको छ ।
पिजी टु पिजीको (प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएट) को शिक्षण संस्था बनाउने अभियानमा जुटेको फाउन्डेसनले बिभिन्न चार बिषयको अध्यापन गराउन विराटनगरमा स्थापित एम्स कलेज खरिद गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका बिएससी सिएसआईटी, बिबिएस, बिएचएम र बिएका कोर्ष पढाइ हुने कलेजलाई फाउन्डेसनले आफ्नो स्वामित्वमा लिएको हो । हाल ४ सय ५० विद्यार्थी अध्ययनरत कलेजको क्षमता पनि क्रमशः बिस्तार गरिने फाउन्डेसनका प्रबन्ध निर्देशक तथा प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।
यसअघि फाउन्डेसन अन्तर्गत विराटनगर ६ मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल र एभरेष्ट कलेजका तीन वटा सुबिधा सम्पन्न भौतिक संरचनासहितका शिक्षण संस्था संचालनमा छन् । उता सुनसरीको ईटहरी उपमहानगरपालिकामा पनि पाथीभरा सेकेण्डरी स्कूल संचालनमा छ ।
स्वीमिङ पुल, भलिबल, फूटबल, बास्केटबल, टेबलटेनिसलगायतका छुट्टाछुट्टै खेलमैदानसहित पर्याप्त भौतिक संरचना रहेको एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक भवनमा अध्यापन गराउँदै आएको जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्षसमेत रहेका फाउन्डेसनका प्रबन्ध निर्देशक पुरीले एभरेष्टका सबै शिक्षणसंस्थालाई उच्च प्रबिधियुक्त बनाइएको बताउनुभयो ।
हरेक कक्षा कोठालाई वातानुकुलितसहित सुबिधासम्पन्न बनाई शैक्षिक गुणस्तरलाई समेत अन्तर्राष्ट्रियस्तरको बनाईने एभरेष्टको योजना छ । कोरोना भाईरसका कारण सिङ्गो मुलुक बन्दाबन्दीमा रहँदा स्कूल कलेजको अध्यापन भर्चुअल माध्यमबाट पनि प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको एभरेष्टले जनाएको छ ।
फाउन्डेसन अन्तर्गत संचालित शिक्षण संस्थाहरूमा हाल ४ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । प्ले ग्रुप देखि स्नातक तहसम्मको अध्यापन गर्दै आएको एभरेष्टले चाँडै स्नातकोत्तर तह पनि शुरु गर्ने तयारी गरेको जनाएको छ ।
गुणस्तरीय शिक्षाको लागि प्रदेश र आसपासका विद्यार्थीले अन्यत्र जानुपर्ने बाध्यता एभरेष्टले हटाउने प्राचार्य पुरीको दावी छ ।