उमेरले झण्डै ५० पुगिसकेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अझैसम्म अविवाहित हुनुहुन्छ । उहाँले बेला–बेला आफ्नो जीवनको एउटा पाटो अधुरै भएकोले त्यसलाई चाँडै पुरा गर्ने बताउँदै आउनुभउको छ । तर, अहिलेसम्म बिहे नजुरेका मुख्यमन्त्री राईको १४ वर्षकै उमेरमा झ्यानापुल्टिुङ झ्याईको तयारी भएको रहेछ ।
गत शुक्रबार ४ बजे मुख्यमन्त्री शेरधन राईसँग प्रदेश १ सरकारले सञ्चालन गरिरहेको ‘म अघि बढछु’ कार्यक्रम अन्तर्गतको ‘सगरमाथा टिन्स क्लब’ का विद्यार्थीहरुसँग प्रश्नोत्तर कार्यक्रममा थियो । कोरोना महामारीले गर्दा भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रम सहभागी विराटनगर पोखरीया माविकी कक्षा १० की छात्रा योजना नेपालले प्रश्न गरिन् – ‘भन्छन्, हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ रे । तर, मुख्यमन्त्री ज्यू ! तँपाई त अहिलेसम्म अविवाहित हुनुहुन्छ, अनि तपाईको सफलताको श्रेय चाँही कसलाई दिनुहुन्छ नि ?’
मुख्यमन्त्री राई पनि के कम ? उहाँले पनि प्रश्नलाई सजतासाथ लिएर धैर्यसाथ उत्तर दिनुभयो– ‘मलाई सबैले सबै ठाउँमा प्राय गरिरहने प्रश्न पनि यही नै हो । तर, म निरास छैन । चाँडै नै आफनो लक्ष्य पुरा गरेपछि बिहे गर्छु । मैले प्रदेशको नामाकरण गराएपछि बिहे गर्ने भनेको छु । सायद चाँडै हुन्छ होला, यही मंसिर, पुस, माघसम्ममा ।’ आफू सफल मान्छे भएपनि आमाबाबु भने विहे नगरेकै कारण आफूदेखि असन्तुष्ट रहेको उहाँले सुनाउनुभयो । राजनीतिको व्यस्तताले गर्दा समयमा बिहे गर्न नपाएको भन्दै उहाँले आमाबाबुले आफ्नो बिहे १४ बषमै गराउन तयारी गरेको तर आफुले नमानेको पनि खुलासा गर्नुभयो ।
‘म हाइस्कूल पढ्न मात्र थालेको थिएँ। बुबाआमाले चिना हेराएर यो बेला गरेन भने फेरि विहे हुनसक्दैन भन्दै सबै तयारी गर्नुभएको रहेछ’ उहाँले भन्नुभयो, ‘म खाजा सामल लिन घर आउदा थाहा पाएँ र एसएलसी नसकी बिहे गर्दिन भन्ने अडान लिएँ । तर, पछि क्याम्पस सकेपछि पनि बिहे गर्ने अवसर नै पाइन ।’ मुख्यमन्त्री राईले आफ्नै समुदायकी महिलासँग विहे गर्ने र कसैसँग प्रेमसम्बन्ध नरहेको पनि प्रष्टाउँदै आउनुभएको छ ।
प्रश्नको उत्तर दिदै मुख्यमन्त्री राईले आफ्नो सफलताको श्रेय आफ्ना बाबुआमालाई दिनुभयो । पहाडको भिरालो जमिनमा कठिन कृषिकर्म गर्ने बाबुआमाको अथक मेहनत र सत्कर्मकै कारण आफू एउटा सफल राजनीतिज्ञ बन्न सफल भएको उहाँको भनाइ थियो । आफ्ना बाल्यकालका दिनहरु सुनाउँदै उहाँले भन्नभयो, ‘सायद बाबुआमा नभएको भए आज म यहाँ हुन्नथे होला ?’ अनि उहाँले आफनो सफलताको दोस्रो श्रेय चाँही आफ्नै मेहनत र लगावलाई दिनुभयो । आफूले निष्ठापूर्वक राजनिति गरेको र निरन्तर सक्रिय भइरहेकोले नै २७ वर्र्षको उमेरमै सांसद बन्द सफल भएको र केन्द्रीय सरकारको सञ्चारमन्त्री हुँदै मुख्यमन्त्री बन्न सकेको उहाँको दावी थियो ।
खेलकुदमा शौख
मुख्यमन्त्री ज्यू तपाईको शोखहरु के छन् भनेर विद्यार्थीले सोधेको प्रश्नमा राईले आफू जिल्लाको सर्बोत्कृष्ट भलिवल खेलाडी र टेवलटेनिस तथा तेक्वान्दोको पनि खेलाडी भएका खुलाउनुभयो ।
कक्षा ९ का विद्यार्थी चिराग गौतमले सोधे ‘मुख्यमन्त्री ज्यू ! तपाई संघीयता आएपछि प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेर इतिहासमा नाम त लेखाउनु भयो । तर, हामा भावीपुस्ताले सम्झना गर्नलायक काम चाँही के गरेर जानुहुन्छ ?’
उनको प्रश्नमा मुख्यमन्त्री राईले संयमतासाथ आफ्नो नेतृत्वको सरकारले संघीयता कार्यान्वनयमा कानून बनाएर आधार तयार गरेको, संयन्त्रहरु निर्माण गर्न सफल भएको र स्थायी राजधानी तोकेको तथा सुशासनका लागि पनि धेरै कामहरु गरेको दावी गर्नुभयो । उहाँले आफूहरुले पहिलो कार्यकालमा तयार गरेका आधारहरुलाई आगामी दिनमा सबैले सम्झना गरिरहने बताउनुभयो ।
प्रदेशको नामाकरण सर्वसहमतिबाट
कक्षा ११ की विद्यार्थी विनिशा भट्टराईको प्रश्न थियो, ‘मुख्यमन्त्रीज्यू, हाम्रो घरपरिवारमा त सबैको नाम छ, अनि हाम्रो प्रदेशको नाम चाँही अहिलेसम्म किन नभएको ?’
मुख्यमन्त्री राईले स्थायी राजधानी टुङ्ग्याइसकेको र चाँडै सबैको सहमतिमा नामाकरण पनि टुंगो लाग्ने बताउनुभयो । कोभिड महामारी नभएको भए गत हिउँदे अधिवेशनमा नामाकारणको प्रस्ताव प्रदेशसभामा दर्ता गराउने आफूहरुको योजना रहेको भन्दै उहाँले आगामी अधिबेशनमा प्रदेशको नामाकरण हुने दावी गर्नुभयो । नामाकारणको बिषय धेरै गाह्रो भएकोले सहमतिमै टुंगो लगाउने पहल गरिरहेको उहाँको भनाइ थियो ।
‘म अघि बढ्छु’ले सदाचारी बनाउने दावी
विद्यार्थीहरुले कोभिडले गर्दा विद्यालय बन्द भएको र सबैले अनलाइन शिक्षा प्राप्त गर्न नसकिरहेकोले प्रदेश सरकारले के योजना बनाउँदैछ भनेर प्रश्न गरेका थिए । यसैगरि किशोरहरुमा अझै लागूऔषध सेवन र आत्महत्याको समस्या बढ्दो रहेकाले कसरी सरकराले नियन्त्रण गर्छ भन्ने सोधेका थिए ।
केही विद्यार्थीले चाँही बिद्यालयमा दिवाखाजामा जंकफुड खुवाउने गरेको, प्रदेशको राजधानीमा घुमफिर गर्ने पार्क नभएको, बालवालिकाहरुमो श्रमशोषण भइरहेको विषय पनि उठाए । प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री राईले सबै समस्या निकट भविश्यमै समाधान हुने आवश्वास दिनुभयो । समाजलाई सदाचारी बनाउन प्रदेशमा ‘म अघि बढ्छु’ कार्यत्रम सञ्चालन गराइरहेको उहाँको दावी थियो ।
प्रतिबद्धता र निष्ठाले राजनीतिमा सफल
पोखरिया माविका कक्षा ९ मा अध्यनरत छात्र पोषण न्यौपानेले सोधे, ‘मुख्यमन्त्री ज्यू ! तपाई कसरी राजनीतिमा आउनुभयो ?’ मुख्यमन्त्री राईले उक्त प्रश्नको बडो रोचक तरिकाले दिनुभयो । भोजपुर जस्तो विकट जिल्लामा जन्मेर साँझबिहान खनजोत गर्ने, घाँस काट्ने, गाइबस्तु स्यहार्ने काम गरेर स्कूल पढ्ने गरेको सुनाउँदै उहाँले १० वर्षको उमेरदेखि नै भलिवल खेल्ने गरेको बताउनुभयो । स्कूल धेरै टाढा भएकोले हाइस्कुल पढ्दा उहाँ डेरा बस्नुभयो ।
एसएलसी पास गरेपछि क्याम्पस पढ्दा अखिलमा आवद्ध हुनुभएका उहाँ अखिलको केन्द्रीय सदस्य हुँदै भोजपुरमा लगातार चार कार्यकाल पार्टीको नेतृत्व गर्नुभयो । तर, उहाँको योजना चाँही राजनीतिमा आउने थिएन रे । धेरै पढेर वा खेलकुदमा चर्चित बनेर एकेडेमिक क्षेत्रबाट स्थापित हुने उहाँको चाहना रहेछ । तर। परिस्थितीले उहाँलाई राजनीतिबाट भाग्नै दिएन । यसैले उनी २७ वर्षमै सांसद बन्न पुग्नुभयो ।
‘म आफ्नो निष्ठा र प्रतिबद्धताले नै राजनीतिमा सफल भएको हुँ । यसैले मैले देश र जनताको जिम्मेवारीलाई नै सर्बोपरी ठाने र ठानिरहन्छु’ उहाँको दावी थियो । मुख्यमन्त्रीले गीत गाउँदा कक्षा ११ की छात्रा सुभानी राईले सोधिन्, ‘मुख्यमन्त्री ज्यू ! तपाईका रुचि के–के छन् ? सार्वजनिक कार्यक्रममा गीत गाएको मैले युटयुबमा हेरेको छु, त्यही गीत यहाँ पनि गाइदिनोस न ।’
मुख्यमन्त्री राईले आफू गीत संगीत र नृत्यमा नभै खेलकुदमा रुचि राख्ने गरेको बताउँदै उत्कृष्ट फुटबल खेलाडी रहेको जानकारी दिनुभयो । केन्द्रीय सरकारको सञ्चारमन्त्री हुँदा राष्ट्रिय लोकदोहोरी प्रतियोगितमा प्रमुख अतिथि भएर उद्घाटन गर्न गएको र त्यहाँ सञ्चालकले गीत गाएर प्रतियोगिता उद्घाटन गर्न भनेपछि निक्कै अप्ठेरो परेको उहाँले सुनाउनुभयो ।
सो कार्यक्रममा सम्हालिदै आफूले नेताहरु केही पनि जान्दैनन् भन्ने सन्देश नजाओस् भनेर आफंैले केही समय लिएर खोटाङ जिल्ला दिक्तेल बजार.. भन्ने भाकामा माथिको तीन लाइन गीत गाएको उहाँले बताउनुभयो । विद्यार्थीको आग्रहामा उहाँले गीत गाउनुभयो….
हलेसी मेला सबैले भर्नु है, सबैले भर्नु है,
पहिलो हुने कोशिस सबैले गर्नु है
खोटाङ जिल्ला दिक्तेल बजार, सम्झानामा आउँछ हजार ।
चोली राम्रो पाल्पाली ढाकाको, पाल्पाली ढाकाको
गीत गाउनु सबैले आ–आफ्नो भाकाको
खोटाङ जिल्ला दिक्तेल बजार, सम्झनामा आउँछ हजार ।
नखानु वियर कार्टुनका कार्टुन, कार्टुनका कार्टुन
धेरै खाए विगार गर्छ जानुम्
खोटाङ जिल्ला दिक्तेल बजार, सम्झनामा आउँछ हजार ।