डा. नवराज सुब्बा, जनस्वास्थ्य विज्ञ
नेपालको परिवेशमा हामी सबैले आफ्नो आफ्नो दृष्टिकोणले (कोभिड–१९) कोरोनाको समस्यालाई हेरिरहेका छौं । म आफू पहिले स्वास्थ्य क्षेत्रमा काम गरेको कारण अहिले मैले देखेको कमजोरीहरु धेरै छन् । नेपालले कोरोना संक्रमण नियन्त्रणको तयारीको लागि पर्याप्त समय नपाएको होइन । तर, लकडाउन घोषणा गरिसकेपछि नेपालले आवश्यक योजना तर्जुमा गर्नेतिर ध्यान पुगेन भन्ने कुरा अहिले आएर पुष्टि भयो । यस विषयमा अरु विज्ञहरुले पनि भनिरहेका छन् । किनभने क्वारेन्टाइनको राम्रो व्यवस्थापन नभएको र अस्पतालमा पनि राम्रो उपचार गर्न सकिएन । यो भनेको योजनाबद्ध ढंगले हामीले काम गर्न नसक्नुको प्रतिफल नै हो । अझै बिरामीको संख्या बढ्ने सम्भावना छ । तर, सुरुकै चरणमा कोरोनाको बिरामीहरुले राम्रो उपचार पाउन नसकेको अवस्था सरकारले स्वीकार गरेको छ, भने आगामि दिन कस्तो होला यसै अनुमान लगाउन सकिन्छ । यस्तो किन भयो ?
१) विश्वका महाशक्ति राष्ट्रहरु अमेरिका, बेलायत, इटलीमा भकाभक मानिसहरु मरिरहेका बेला हामी नेपालीहरु चाहिं बाँच्छौं, सुरक्षित छौं, इम्युनिटी पावर बलियो छ भन्दै बस्यौं । त्यसमा पनि माथिल्लो तहमा बस्नेहरुले अलिक गम्भिरतापूर्वक लिएनन् । त्यस कारणले योजनाहरु बनाउनका लागि सरकारको ध्यान पुगेको देखिएन । बेसार पानी, तातोपानी खाने हाछ्युँ गर्ने भन्दै हल्का फुल्का कुरा गरेर बसियो । त्यो कुरा तल सामान्य मानिसले मात्रै होइन राज्यका उपल्लो तहको मानिसहरुले पनि भनिदिएपछि त्यसैलाई भर परियो ।
२) नेपालको स्वास्थ्य प्रणालीमा अहिले चेनअफ कमाण्डमा काम भएको छैन । भन्न खोजेको कुरा के हो भने अहिले तीन तहको सरकार भयो । स्वास्थ्य सेवा भनेको सेना तथा प्रहरीमा कमाण्डरले आदेश गर्दा जसरी जवानहरु लाग्छन् त्यस्तै हुनुपर्दथ्यो । तर, यहाँ कोरोनाबारे जनस्वास्थ्य क्षेत्रमा आदेश दिने माथिल्लो निकाय (अहिले रक्षामन्त्रीको नेतृत्वमा बनेको छ)ले स्वास्थ्यमन्त्रालयलाई निर्देशन दिन्छ (मन्त्रालय पनि अहिले विभिन्न किसिमको भयो, जस्तैः स्थानीय, प्रदेश, संघ) । त्यो आदेशहरु तल पुग्दा धेरै स्वायत्त निकायहरुसँग जाँदा त्यसको संवेदनशीलता नबुझ्ने र कार्यान्वयन फितलो हुने अवस्था देखियो । भएको बजेटहरु पनि सरकारले प्रवाह गरेकै हो । तर, त्यसलाई कायान्वयन गर्न बनाइएको गाइडलाइन र निर्देशिकाको पालना मै समस्या भएपछि योजना कार्यान्वयन कसरी हुन्छ ? स्थानीय निकायहरु कस्ता भए भने हामी स्वायत्त सरकार हौं भन्ने (संविधानले नै त्यस्तो फिलिङ ल्याएको छ) कुरा सोचिदिए । त्यसले स्वास्थ्य सुरक्षाको लागि माथिल्लो निकायले गम्भीरता पूर्वक दिएका निर्देशनहरु प्रभावकारी ढंगले कार्यान्वयन भएन र परिचालनमा पनि समस्या देखियो । तल आइसकेको बजेट हामीले हाम्रो अनुकूलतामा खर्च गर्ने हो भन्ने मानसिकताका कारण महत्वपूर्ण क्षेत्र छुटेको देखियो । त्यो चाहिं कोरोनाको विषयमा मात्रै होइन सबै स्वास्थ्य क्षेत्रमा त्यस्तो देखियो ।
३) यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय हुँदा जसरी स्वास्थ्य सेवाको क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाएको थियो । अहिले स्थानीय निकायले त्यसरी अगाडि बढाउन सकेन । उनीहरुले एउटा हेल्थपोष्टलाई वा स्वास्थ्य संस्थालाई जनस्वास्थ्यको रणनीतिको हिसावले नबुझेर एउटा अस्पतालको रुपमा बुझेर परिचालन गर्न खोजे । जसको कारण औषधिहरुको व्यवस्थापन र स्वास्थ्यकर्मीहरु परिचालन गर्न समस्या देखियो । त्यही बेलामा कोरोनाको महामारी आयो । त्यसले हाम्रो व्यवस्थापन झनै उदाङ्गो भयो ।
४) स्थानीय निकायमा अहिले कस्तो छ भने जनप्रतिनिधिलाई चित्त बुझाएपछि कर्मचारीको जिम्मेवारी पूरा भयो । त्यसो भएपछि राष्ट्रियस्तरमा राष्ट्रले लिएको लक्ष्य र कार्यक्रमहरु चाहिं गौण भएर गएको छ । स्थानीय निकायका जनप्रतिनिधि, प्रशासकीय अधिकृत तथा विभागीय प्रमुखहरुले पनि राष्ट्रिय लक्ष्य र कार्यक्रम राम्रोसँग बुझ्नु भएकै छैन । यसअघि हरेक प्राविधिक कुराहरुको अनुगमन जनस्वास्थ्य कार्यालयले गथ्र्यो, प्राविधिक हिसावले कसलाई समाउने भन्ने कुरा त्यसबेला प्रष्ट थियो । अहिले भने जनप्रतिधि र प्रशासनिक मानिसलाई रिझाए भयो । जसले गर्दा परिणाम आउन समस्या भयो र जनतामा मार प¥यो । त्यसको प्रतिफलहरु के कस्तो छ भन्ने कुराको मूल्यांकन प्रतिवेदन पछि आउला । तर, अहिले कोरोनाको समयमा देखिएको व्यवस्थापकीय कमजोरीले त्यही कुरालाई प्रमाणित गर्दछ ।
निष्कर्षमा भन्नुपर्दा अहिलेको व्यवस्थापनमा तीनै पक्ष कमाण्ड गर्ने, निर्देशन दिने र कार्यान्वयन गर्ने पक्षमै समस्या देखियो ।
५) अर्को कुरा जनस्वास्थ्य भनेको सरकार र जनस्वास्थ्यसँग सम्बन्धीत कार्यालयहरुको मात्रै जिम्मेवारी होइन । सरकार एकलौटी ढंगले जतिसुकै गर्न खोजे पनि सम्भव हुँदैन । सरकारले निजी क्षेत्रलाई पनि रिझाएर जिम्मेवारी तत् ठाउँमा दिनुपथ्र्यो । नेपालको निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई राष्ट्रलाई परेको संकटमा सहभागी हुन आव्हान गर्दा परिचालन हुन सक्थे । नेपालका धेरै स्वास्थ्य संस्थाहरु समाजका लागि देशका लागि गर्ने खालकै हुनुहुन्छ । नाफा कमाउनु पर्छ भन्ने मात्रै पनि हुनुहुन्न । त्यहाँ पनि सरकार चुक्यो । त्यो कुरा बुझेर सरकारले नेतृत्व गरेर विश्वासमा लिएर सरकारी–निजी–साझेदारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्दथ्यो । यसैगरी जनतालाई पनि त्यहाँ सहभागी गराएर जनचेतनामूलक काम गर्ने गर्नुपथ्र्यो ।
अब के गर्ने ?
अब रोकथाम र नियन्त्रणको लागि स्थानीय तहका निकायहरुले बिरामीहरुको अवस्था के कस्तो अवस्था छ ? काँहाबाट आएका बिरामी काहाँ छन् ? वडा र टोलभित्रका संक्रमित बिरामीहरुको डाटा राखेर सूचना प्रणालीलाई दह्रो बनाएर बस्नुप¥यो । रोग नियन्त्रणको मुख्य आधार भनेको तथ्यांक हो यसलाई विशेष ध्यान दिनुपर्दछ । जनताको तर्फबाट भने राम्रै सहयोग गरेको पनि देखिएको छ ।
कोरोना कहिले अन्त्य होला ?
कुनै पनि महामारी नियन्त्रण हुनका लागि निश्चित समय लिन्छ नै । जस्तैः रुघा लागेको अवस्थामा पनि त्यसले ५÷७ दिन लिन्छ । त्यस्तै माहामारीको पनि एउटा स्वरुप लिएपछि मात्रै अन्त्य हुन्छ । अहिले हामीले जतिसुकै धेरै प्रयास गर्दा पनि कम मात्रै हुने हो तर, अन्त्य नै भन्ने चाहिं तत्कालै सम्भव नहोला । नेपालमा हेर्दा चाहिं यहाँका धेरैे महामारी र रोगहरु भारतबाट आएका छन् । त्यस कारण जबसम्म भारतमा कोरोना नियन्त्रण हुँदैन तबसम्म जतिसुकै कन्ट्रोल गर्न खोजेर पनि नेपालमा सम्भव हुँदैन । अन्य देशमा पनि समयावधि लामै गएको देखिएकोले हाम्रो देशमा पनि कोरोना अन्त्य हुन समय लिन्छ । हाम्रो अनुमान भनेको जाडो मौसमको अन्त्यसँगै कोरोनाको अन्त्य होला कि भन्ने छ । अरु विज्ञहरुले पनि विश्वमा कोरोना महामारी नियन्त्रणको विषयमा आगामी चिसो मौसमको अन्त्यसँगै होला कि भनेका छन् ।
कसरी सुरक्षित रहने ?
पहिलो कुरा त भ्याक्सिनको अन्तिम चरणमा पुगेको भन्ने कुरा आएको छ त्यसमा आशावादी हुनुपर्छ । यो २०२० को अन्त्यसम्ममा भ्याक्सिनहरु आउँछ भन्ने छ । सुरुवाती चरणमै नेपालमा भ्याक्सिन आउँछ कि भन्ने आशा पनि छ । दोस्रो कुरा भनेको जनतालाई सँधैभरी लकडाउन गरेर पनि राख्न सक्ने अवस्था छैन । अब लकडाउन खुकुलो बनाउनै पर्छ । तर, यदि महामारीले झन् ठूलो रुप लियो भने के गर्ने भन्ने आवश्यक तयारी पनि गर्नुपर्छ । जाडो महिनामा चिसोमा अझै बढी संक्रमणले सताउने भएको हुँदा सोही अनुसार तयारी गर्नुपर्यो । तेस्रो भनेको जनचेतना फैलाउनु नै हो । अबको जनचेतना भनेको सामान्य अवस्थामा छ भने घरैमा बस्ने, अप्ठ्यारो अवस्थामा छ, बिरामी जटिल छ भने अस्पतालमा लैजाने । अहिले सरकारले होम आइसोलेसन भनेर ल्याएको अवधारणा भनेको धान्न नसकेर भनेको हो । अब हामी जनता पनि यदि कोरोना लाग्यो भने कसरी उपचार गर्ने, आवश्यक औषधिहरु के के हुनसक्छ ? कसरी सेवन गर्ने जस्ता प्राविधिक कुराहरुको तयारी गरेर बस्नुपर्दछ । यसकारण हामीले सामाजिक दूरी कायम गर्ने, मास्क लाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने जस्ता प्राविधिक विषयको पालना गरौं । यो कोरोना भनेको मानव सभ्यताको लागि नै आएको एउटा चुनौति हो । यसको सामना सकारात्मक ढंगले, सचेततापूर्वक गरौं । कोरोनाको विषयमा कसैप्रति आरोप प्रत्यारोपको भावना भन्दा सहकार्य र सहयोगी भावनाका साथ अगाडि बढौं ।
डा.सुब्बासँगको कुराकानीमा आधारित