विराटनगर । पुष्पलाल चोकका नारायणप्रसाद पोखरेल केही दिनअघि बिरामी परे । ज्वरो आउने र छोड्ने क्रम दोहोरियो । हातखुट्टा दुख्ने, सुनिने, छाति पनि फुलेजस्तो हुने आदि समस्या देखापर्यो । नजिकै मेडिकलमा देखाएर औषधि खाएपनि सञ्चो भएन ।
ज्वरो आउने र छोड्ने क्रमले पोखरेलललाई कोरोना संक्रमण भएको त हैन भन्ने शंका लाग्यो । स्वाब परीक्षण गराउन पाए हुन्थ्यो भनेर आफन्तसँग सल्लाह गरे । पत्रकारिता पेशा गर्ने आफन्त बाबुराम भण्डारीसँग सल्लाह गरेपछि उनले बुढिगंगा १ वडाध्यक्ष युवराज पौडेललाई समस्या सुनाए ।
‘मलाई ज्वरो आउने र छोड्ने भइरहेको छ, हातखुट्टा पनि दुखिरहेको छ, एक पल्ट कोरोना परीक्षण गराउन तपाईले सहयोग गर्नुपर्यो’ नारायणले भने । तर, नारायणको समस्यालाई अध्यक्ष पौडेलले गम्भीरतापूर्वक लिएनन् । ‘तपाई एक जनाको मात्र स्वाब संकलन गर्न सम्भब छैन, त्यसका लागि टोली मिलाउनु पर्छ, स्वास्थ्यकर्मीहरु कताकता छन् थाहा पनि छैन,’ पोखरेलले अध्यक्षले भनेको कुरा सुनाउँदै भने ‘म बुझेर खबर गर्छु भनेका वडाअध्यक्षले तीन दिनसम्म पनि कुनै चाँजो मिलाइदिएनन् ।’
वडाध्यक्षले परीक्षणको चाँजोपाजो मिलाउने भनेपनि खबर नगरेपछि नारायणले उनलाई दिक्क लागुन्जेल फोन गरिरहे । तर, कुनै उपाय चलेन । समस्या थपिदै गएपछि उनले आरती स्ट्रिपका जनसम्पर्क अधिकृत दिवश नेपाललाई फोन गरेर समस्या सुनाए । ‘कतैबाट कोरोना परीक्षण नभएपछि मैले दिवश सरलाई फोन गरें, रोएँ पनि,’ पोखरेलले भने ‘दिवश सरसँग कुरा गरेपछि आरती स्ट्रिप्सका प्रमुख अश्विनी सरलाई पनि समस्या सुनाएँ र उहाँले तिमी नडराउ म परीक्षणको व्यवस्था मिलाउँछु भन्नुभयो अनि मात्र अलि ढुक्क भएँ ।’
चार दिनको निरन्तर प्रयासपछि आरतीकै सहयोगले स्वाब संकलन भएको र कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि आरतीकै आइसोलेसनमा बसेर निको भएर फर्केको पोखरेलले बताए । जनप्रतिनिधिले जनताको दुःखसुखमा सहयोग गर्छन् भन्ने पोखरेलको विश्वास त्यसै बेलादेखि टुट्यो। जब उनले गुहार माग्दा पनि कोरोना परीक्षण गराउन सकेनन् । आरतीमा कार्यालय सहयोगी रहेका पोखरेलको कोरोना परीक्षण गर्न वडाध्यक्षले सहयोग नगर्नुको कारण थियो, उनी आरती स्ट्रिप्समा कार्यरत रहनु ।
उद्योगका कर्मचारीको परीक्षण गाउँपालिकाले गर्न नमिल्ने जवाफ दिँदै वडाध्यक्षले भनेका थिए ‘म आरतीसँग कुरा गरेर परीक्षणको वातावरण मिलाउँला ।’ तर, उनले आरतीकै माध्यमबाट परीक्षण गराएपछि आरतीकै आइसोलेसनमा बसेर कोरोनामुक्त भइसकेका छन् ।
अहिले बुढीगंगा १, २ र ३ नं वडाका वडाध्यक्षहरु जनताप्रति उत्तरदायी भएर समुदायमा कोरोना फैलिनबाट रोक्नेतर्फभन्दा उद्योगका मजदुरहरुको कोरोना परीक्षण गराउन उद्योगहरुलाई पत्राचार गर्नमै केन्द्रीत छन् । उनीहरु जनताको गुनासोप्रति त्यति गम्भीर हुँदैनन् ।
बुढिगंगा २ का प्रदीप आचार्य पनि जनप्रतिनिधिहरुको व्यवहारबाट सन्तुष्ट छैनन् । ‘मेरी माइली बुहारी बिरामी परिन् र उल्टी रोकिदै रोकिएन, विराट मेडिकल कलेजमा लगेर उपचार गरियो, कुनै रोग देखिएन,’ आचार्यले भने ‘घर ल्याएपछि बुहारीलाई श्वासप्रश्वासमा समस्या भयो भनेपछि डरलाग्यो र कोरोना परीक्षण गर्नुपर्यो भनेर वडाध्यक्ष रेवतिनारायण चौधरीसँग सिफारिस मागें । तर, सिफारिस दिनै मानेनन् ।’
बुढिगंगा गाउँपालिकाले अहिलेसम्म १३ सयभन्दा बढीको पिसिआर परीक्षण गरेको तथ्यांक आफ्नो वेवसाइटमा राखेको छ । तीमध्ये अधिकांश परीक्षण उद्योगको संलग्नतामा भएको स्थानीयहरुले बताएका छन् । स्थानीयलाई पिसिआर गर्न सिफारिससमेत नगर्ने जनप्रतिनिधिले १३ सय जनाको परीक्षणको तथ्यांक राखेकोप्रति नै शंका गरेका छन् ।
उनीहरु भन्छन् ‘गाउँपालिकाले हामी बुढीगंगाबासीका लागि गर्नुपर्ने परीक्षणको कोटा उद्योगमा बेचेकै कारण हामीलाई समस्या हुँदासमेत परीक्षण गर्न नपाउने अवस्था बनेको छ यसको छानविन हुनुपर्छ ।’ वडाध्यक्षलाई पटक–पटक भन्दा पनि सुनुवाई नभएपछि आचार्यले बुहारीको पिसिआर परीक्षण गर्न स्थानीय समाजसेवी प्रल्हाद थापाको सहयोग लिनुपरेको थियो ।
थापाको सहयोगमा बुढिगंगा १ स्थित नरग्राम माबिबाट निकै दुःखगरेपछि मात्र स्वाब दिन पाएको उनले बताए । उनले भने ‘मैले मेरो बुहारीको स्वाब परीक्षण गर्नका लागि मेरै वार्डको सिफारिससमेत पाउन सकिन सोर्स नै लगाउनु पर्यो ।’ त्यसको कारण के थियो भने बिरामी बुहारी पनि उद्योगमा कार्यरत मजदुरकै परिवार थिइन् ।
बुढिगंगा उद्योगहरु बढी भएको गाउँपालिका हो । त्यहाँका अधिकांश व्यक्तिहरु उद्योगमा कार्यरत छन् । स्थानीयहरुले उद्योगमा काम गर्ने मजदुर र तीनको परिवारको सुरक्षाका लागि भएपनि शंकास्पद परिवारको कोरोना परीक्षण गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आएका छन् ।
उनीहरुले उद्योगहरुमा नमुना परीक्षण नभएसम्म उद्योग बन्द गर्नका लागि पन जनप्रतिनिधि मार्फत आग्रह गर्दै आएका छन् । तर, त्यसप्रति जनप्रतिनिधिहरुले सुनुवाई गर्नुको साटो उद्योगीसँग मिलेर उद्योग चलाउने र जनस्तरमा परीक्षण नगरी उद्योगसँग पैसा लिएर मात्र परीक्षण गर्ने धन्दा चलाउने गरेको गुनासो आएको छ ।
स्थानीय समाजसेवी प्रल्हाद थापाले भन्नुभयो ‘गाउँलेहरु त्रासमा छन्, यहाँ आरतीमा काम गर्ने धेरै मासिनहरु बस्छन् र प्रायः उद्योगमा कार्यरत मानिसहरु नै छन्, हामीले रुघाखोकी र ज्वरो आएका व्यक्तिको परीक्षण गरिदिनुपर्यो भन्दा जनप्रतिनिधिले सुनुवाई गर्दैनन् ।’ उहाँले भन्नुभयो, ‘परीक्षण गर्न अटेर गर्ने, ढिलासुस्ति गर्ने जस्ता समस्या हामीले भोगिरहेका छौं ।’
केही दिनअघि बुढिगंगा १ का युवाहरुले वडाध्यक्ष युवराज पौडेललाई आरती स्ट्रिप्स बन्द गरेको भनेपनि चलिरहेको र त्यसले स्थानीयमा त्रास बढेको सूचना दिएका थिए । अध्यक्ष पौडेलले फोन गर्ने युवा किशोर रानालाई नै हप्काउँदै उद्योगको गुनासो सुन्नै नमानेको स्थानीयहरुले बताएका छन् । त्यसक्रममा किशोरले भनेका थिए ‘हामी सर्वसाधारणको परीक्षण गर्न आएको भिटिएम फ्याक्ट्रीलाई बेचेर जनतालाई हप्काउने काम बन्द गर्नुस् ।’
बुढीगंगा गाउँपालिकाले आारती स्ट्रिप्सलगायत केही उद्योगको कोरोना परीक्षण गरेर प्रतिव्यक्ति ५ हजार ५०० का दरले रकम लिएको तर सरकारी आम्दानी नबाँधी दुरुपयोग गरेको विषय सार्वजनिक भएको छ । उद्योगहरुमा कोरोना परीक्षण गर्न पत्राचार गरेर गाउँपालिकाले शुल्क तिर्नुपर्ने बताएपछि उनीहरुले परीक्षण गरेका छैनन् ।
स्थानीयको लागि आएको कोरोनाको स्वाब परीक्षण गर्ने भिटिएम उद्योगलाई बेचेर जनप्रतिनिधिले स्थानीय भन्दै उद्योगका मजदुरको एकमुष्ठ परीक्षण गराएको आरोप छ । त्यसमा मुछिएका वडाध्यक्षले स्थानीयबासीप्रति गर्ने व्यवहारले पनि गाउँपालिकाको नेतृत्व सर्वसाधारणको भन्दा उद्योगसँग संस्थागत सहमति गरी परीक्षण गर्न नै उद्यत रहेको देखिएको छ । उनीहरुको व्यवहारबाट स्थानीयबासी असन्तुष्ट छन् ।
गाउँपालिका अध्यक्ष बालचन्द्र माझी र वडाध्यक्ष युवराज पौडेलले भने आफूहरुले उद्योगको परीक्षण नगरेको दावी गर्दै आएका छन् । उनीहरु उद्योगले आफैं परीक्षण गरेको र आफूहरुले स्थानीयको मात्र परीक्षण गरेको बताउँछन् ।