लघुकथा : बालुवा र टार

 रेवती ढुङ्गाना ‘रफ्तार’

यात्राको क्रममा हर्केले सोध्यो– ‘दाई त्यो पारिको ठाँउ कहा र के हो ?’ आश्चार्य मान्दै उसले सोधेको ठाँउ हेर्दै मैले सबिस्तार उसलाई भनें–  ‘त्यो पारि देखिएको ठाँउ करिब–करिब एक सय रोपनि क्षेत्रफलमा फैलिएको छ। त्यो ठाँउ निकै पुरानो बसोबासको ठाँउ हो। सबै बालुवानी माटोले बनेको छ। त्यहाँ कुनैपनि बिरुवा हालसम्म आफै उम्रेर फलेको कसैलाई थाहा छैन। बाहिरबाट लगेर सारेको बोटबिरुवा बाहेक केहि चिज पनि त्यहाँ उत्पति भएर जाग्दैन। त्यहाँ सारेको बिरुवाले लामो समयसम्म फलेको र मिठोफल दिएको हासम्म कसैले चाखेको पनि छैन। बालुवाको टार हो त्यो। त्यसैले सबैले त्यसलाई बालुवाको टार भन्छन्।

पुरानो कुरा छोडेर म अहिलेको कुरा भन्छु है त । हाल त्यहाँ एकजना जब्बर बुढा मान्छे बस्छन् । एक किसिमले उनको रजगज चलेको सुनिन्छ। कुन्नि कसले के लाइदिएछ, मल भए यहाँ जे पनि फल्छ भनेर। उनले एक हल आँखा फुटेका गोरु पनि पालेका छन्, मलको लागि भनेर। जो त्योलाई त सुँघेकै भरमा फुँ गरेर उडाइदिन्छन् ती गोरुले। अरिङ्गालै जस्ता छन गोरु त। त्यो बुढो मानिसलाई भेट्न त्यहाँ मान्छेको धुइरो लागेको हुन्छ। दलालहरुलाई भेला पारेर हावा गफ हान्नु उसको दिनचर्या हुन्छ। त्यो मानिससँग भेट भएर निस्किनेले भन्छन् कि हाँसेरै आनन्द भइयो । यतिसम्म कि उसको कुरा सुनेर केटाकेटी पनि हुरुक्क भएर हाँस्छन्।

बालुवाले बनेको टारमा बसेर पनि रजगज गर्ने त्यो जब्बर बुढोले गाउँका बुद्धिजीवी, भलाद्मी र समाजसेवी भावना भएका मानिसहरुले आफ्नो उट्पट्याङको खेतिमा दाबा गर्ने हुनकी भनेर बच्न ती गोरु पालेका रहेछन्। ध्यान सबैको आँखा फुटेका गोरुतिरै जाओस् भनेर। खासमा ती गोरुको पनि रेखदेख गर्ने एउटा हलीको रुपमा भतुवा राखेका छन् बुढाले। त्यो अलि पर छुट्टै घरमा बस्छ। बालुवानी बगरको खेति लगाउन राखेको हली र आँखा फुटेका गोरुको लालनपालनमै ब्यस्त छन्, बुढा अहिले। केही कुरा बुझ्नपरो भने हलीलाई सोध्छन रे, बुढा । उ पनि के कम, भातमारा न परो, दिँदो रछ गफ । ‘बा ! हराभरा भएर बाली फस्टाएर आउँदैछ, अब फल्छ लुँडिकुँडुलीसँग। बेसार, अदुवा, सुठो, पिप्ला र मरिचले त छपक्कै बारी ढाक्न लागि सक्यो नि।’

भातमारा हली, आँखा फुटेका एकहल गोरु, बालुवाको बगर, उट्पट्याङ खेति, छिमेकीलाई मजाक, आफन्तलाई हैरान पार्ने त्यही ठाँऊ हो, हर्के ! तैले जिज्ञाशा राखेको त्यो पारिको सम्म परेको बालुवानी टार। म चुप्, हर्के चट्।

शनिबार, २४ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर