थापाको आगमनले तोडिएला त लालकिल्ला ?

 लीलावल्लभ घिमिरे

२०२२, २०३५, २०३८, २०५४ र २०५९ सालमा गरी पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका सुर्यबहादुर थापाका एक मात्र छोरा सुनिलबहादुर थापा कांग्रेसमा प्रवेश गरेसँगै अनेक कोणबाट विश्लेषण भइरहेको छ । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेस धनकुटामा विजयी भएपनि २०४६ सालको परिवर्तनपछि अहिलेसम्म विजयी भएको छैन । के अब सुनिल थापाको आगमनसँगै लालकिल्ला तोडिएला त ? सबैको प्रश्न यहि हुन्छ । धनकुटा जिल्ला राप्रपाको संगठनभन्दा मतदाता बढि भएको जिल्ला हो । यो जिल्लामा राप्रपाको संगठन त्यस्तो मजबुद छैन । तर, राप्रपाको मत भने राम्रो छ । प्रजातन्त्र स्थापनपछि सुर्यबहादुर थापा र सुनिलबहादुर थापाले एक एक पटक यहाँबाट जितिसकेका छन् । त्यसले पनि राप्रपाको पक्षमा मत छ भन्ने पुष्टि हुन्छ । तर, राप्रपाभित्रको आन्तरिक कलह निक्कै गहिरो पहिलादेखि नै थियो ।

सुर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापाको धनकुटाको राजनीतिमा निकै लामो लगानी छ । कुमारबहादुर थापासहित पार्टीबाट एक वर्षदेखि अलग भएका हुन् । थापासँगै जिल्ला नेतृत्वमा रहेका टिकाप्रसाद घिमिरे, धर्मध्वज राई र श्याम गुरुङसहितका ३२ जना नेताहरूले सुनिलबहादुरकै कारण देखाउँदै पार्टी छोडेका थिए । उनीहरु पनि कांग्रेसमा प्रवेश गर्ने चर्चा चलेको थियो । तर, सुनिलबहादुर नै कांग्रेसमा आउने थाहा पाएपछि उनीहरु नेकपा मात्र हैन संघिय समाजवादी पार्टीमा समेत प्रवेशको तयारीको हल्ला चल्यो । तर, अब उनीहरु सुनिलको राप्रपा बहिर्गमनसँगै पुरानो घर र्फकने तयारीमा रहेको हल्लाहरु आइरहेका छन् । उनीहरुको निर्णयले पनि केही महत्व राख्नेछ ।

सुनिलबहादुर थापाको कांग्रेस प्रवेशसँगै नेकपालाई झड्का अवश्य पनि लाग्नेछ । स्थानीय तह, प्रदेश सरकार हुँदै केन्द्रीय सरकारले समेत जनपक्षीय काम गर्न सकेको छैन् । अर्कोतर्फ नेकपाभित्रको आन्तरिक कलह झाङ्गी रहेका बेला थापाको कांग्रेस आगमनले नयाँ तरंग ल्याउदैन भन्नु मुर्खता हुनेछ । हुन थापाको प्रवेशसँगै कांग्रेसमा एक खाले आवज पनि नउठ्ला भन्न सकिन्न । धनकुटा कांग्रेसको पहिलो लडाइ कम्युनिष्टहरुसँग भयो भने दोस्रो सुर्यबहादुर थापासँगै हो । राजनीतिक चलायमान भन्ने कुरा धनकुटा कांग्रेसजनले बुझ्न सक्नुपर्छ । कोही आएर मेरो भाग खान्छ भन्ने गरिब चिन्तनबाट मुक्त हुन सक्नुपर्छ । राजनीति एउटा दौड प्रतियोगिता हो, यहाँ जो कुद्न सक्छ, उसकै जित हुन्छ । त्यसैले कोहि आउँदा बाटो साँधुरो हुने र कोही जाँदा खाली हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु आवश्यक छ । पार्टीमा दुई मात्र सन्तान ईश्वारका बरदान भन्ने कुरा लागू हुदैन । अरु पार्टीबाट नेता कार्यकर्ता नआइ कहिल्यै भोट जितिदैन भन्ने हेक्का सबैमा हुनु आवश्यक छ । दलमा आउने जाने क्रम जारी रहन्छ । कोही आउँदा र जाँदा आत्तिने र मात्तिने दुवैले स्थायी रुपमा राजनीति गर्न सक्दैन ।

कमजोर अवस्थामा रहेको कांग्रेसका लागि थापाको आगमन बरदान सावित हुनसक्छ । त्यसका लागि जिल्ला नेतृत्वले आफ्ना कार्यकर्तालाई बुझाउन सक्नुपर्छ । अर्कोतर्फ थापाको व्यवहारले पनि अर्थ राख्छ । अवश्य पनि कांग्रेसमा गुटगत राजनीति छ । थापालाई कुन गुटबाट अघि बढ्छन् भन्ने सबैले हेरिरहेका छन् । तर, थापाले अब गुटको राजनीतिबाट बच्न सक्नुपर्छ । उनले दूधमा नुनको काम हैन, जोर्डनको काम गर्न सके भने मात्र उनी र धनकुटा कांग्रेसको भविष्य उज्वल हुनेछ ।
नेकपा जति बलियो भएपनि केन्द्रीय राजनीतिमा धनकुटा निकै कमजोर देखिन्छ । ७७ जिल्लाकै नमुना हुँदा पनि झण्डै दुईतिहाइको संघीय सरकार र प्रदेश सरकारमा नेकपाका नेताहरुले स्थान नपाउनुले प्रष्ट हुन्छ, केन्द्रीय राजनीतिमा धनकुटाको पहुँच कम छ भन्ने कुरा । धनकुटाका कांग्रेसका लागि थापाको आगमनसँगै केन्द्रीय राजनीतिमा बढेको पहुँच अवश्य पनि फाइदाजनक हुनेछ । त्यसले समेत भविष्यको राजनीतिमा अर्थ राख्नेछ ।

२०१६ सालमा जन्मेका सुनिलबहादुर थापाको राजनीतिक यात्रा त्यति लामो त अवश्य पनि हैन । थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा सेवा गरे । सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला त्यहाँ राजीनामा गरी उनी एकाएक नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । २०६९ सालमा राष्ट्रिय जनशक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थापा एकै पटक राष्ट्रिय जनशक्ति पार्टीको केन्द्रीय सदस्य भएका थिए ।

सुर्यबहादुर थापाले आफ्नो जीवनको उत्तरार्धमा एकल पुत्र सुनिललाई मैदानमा उतारे । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार मात्र बनेनन्, उनी संविधानसभा सदस्यमा निर्वाचितसमेत भए । २०७२ बैशाख २ गते सुर्यवहादुरको निधन भयो । २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बने । २०७४ को सांसदीय निर्वाचनमा धनकुटा संघीय प्रतिनिधि सदस्यमा राप्रपा, कांग्रेस र संघीय समाजवादीलाई एक बनाइ चुनाव लडेका थापा नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । तत्कालीन नेकपा एमालेका राजेन्द्रकुमार राईले ३७,३३३ मत ल्याएर विजयी भएका थिए भने थापाले २६,८७४ मत ल्याएका थिए ।

संगठन बेसभन्दा पनि मतदाता बेसमा उभिएका थापाका लागि कांग्रेसको राजनीति सहज हुनसक्छ । संगठनको बेसमा रहेकालाई पार्टी परिर्वतन गराउन जति कठिन हुन्छ, मतदाताहरुलाई आफूसँग ल्याउन त्यति नै सहज हुन्छ । अब थापाले आफ्ना मतदातालाई कांग्रेसको संगठनमा बदल्न सके भने त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

आइतबार, १८ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर