बजारमा युरियाको माग उच्च

कृषकले समयमै मल पाएनन्, बाली घाटामा जाने चिन्ता

विराटनगर । समयमै माग अनुसारको पर्याप्त रासायनिक मल नपाउँदा कृषकहरु सङ्कटमा परेका छन् । कोरोना भाईरसका कारण भारत तथा तेस्रो मुलुकबाट आउने मलको आयात प्रभावित भएपछि कृषकहरु सङ्कटमा परेका हुन् ।

प्रदेश नं. १ मा हालसम्म ८८.९३ प्रतिशत रोपाई सम्पन्न भईसकेको छ । प्रदेश नं. १ को कुल ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ३ हजार ९८ दशमलव ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भईसकेको हो । जसमा उच्च पहाडका ३ जिल्लाहरुको ८७.४५ प्रतिशत, मध्य पहाडका ८ जिल्लाहरुको ८२.८२ प्रतिशत र तराईका ३ जिल्लाहरुको ९१.५५ प्रतिशत भु–भागमा रोपाई सम्पन्न भईसकेको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उपे्रतीले बताउनुभयो ।

तर प्रदेश नं. १ का १४ वटै जिल्लाहरुमा रोपाई सकिएर धान हरियो हुन थालेपछि कृषकहरु मलको अभाव झेल्न बाध्य भएका छन् । कृषक वर्गले धान, गहुँ र मकै अर्थात ३ बालीका लागी ४ बिगाहा क्षेत्रफलमा आवश्यक पर्ने मल खरिद गर्न पाउने सरकारको निति छ । तर हाल कृषकहरुले सोको २५ प्रतिशत मल समेत प्राप्त गर्न सकिरहेका छैनन् । अहिले कृषकहरुले सबैभन्दा बढी युरिया माग गरिरहेका छन् । तर मलको अभावका कारण यसबर्षको रोपाई घाटामा जाने कृषकहरुको भनाई छ ।

सरकारले हरेक पटक ७० प्रतिशत मल आपुर्तिको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत मल आपुर्तिको जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशनलाई लगाउने गरेको छ । तर कोरोना भाईरसका कारण आयातमा समस्या भई समयमै मल आपुर्ति हुन नसकेपछि बजारमा मलको माग उच्च हुन पुगेको छ । विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा हाल १४७.६५ मेट्रिक टन डि.ए.पी र २२.२ मेट्रिक टन पोटास मलको मौज्दात रहेको छ । ज्येष्ठ मसान्तसम्म तिनै किसिमको मल बिक्रि वितरण गरिएपनि युरिया भने ज्येष्ठ मसान्तमै सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रदेश नं. १ का प्रमुख नवरत्न गौतमले बताउनुभयो । उहाँले युरिया खरिद प्रक्रियामै रहेको चाँडै नै बजारमा त्यसको आपुर्ति हुने दाबी गर्नुभयो ।

त्यस्तै हाल विराटनगरस्थित साल्ट ट्रेडिङ कम्पनीमा पनि डि.ए.पी मलको मौज्दात २ हजार १ सय मेट्रिक टन रहेको छ भने युरिया मलको मौज्दात शुन्य रहेको छ । ६ हजार मेट्रिक टन डि.ए.पी आयात भई आउनुपर्नेमा २१ सय मेट्रिक टन आईसकेको र सोही अनुपातमा ६ हजार मेट्रिक टन युरिया पनि आउने क्रममा रहेको साल्ट टे«डिङ कर्पोरेशन विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो ।

कृषि सामाग्री र साल्ट टे«डिङले आफै मात्र नभई मातहतका १६ वटा जिल्लामा निकासा गर्ने गरेको छ । तर विराटनगरमै पर्याप्त मल नहुँदा प्रदेश नं. १ का १४ र प्रदेश नं. २ का २ गरि कुल १६ वटै जिल्लाहरुमा मलको अभाव देखिएको छ ।

बिहिबार, १५ साउन, २०७७, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर