विराटनगर । तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का बीचमा २०७५ जेठ २ गते एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपा गठन हुँदा भएको उक्त ५ बुँदे विशेष सहमतिको १ नम्बर बुँदामा समाजवादउन्मुख जनताको जनवादको राजनीतिक मान्यताका साथ अगाडि बढाउने उल्लेख छ ।
तर, एकता भएको दुई वर्षपछि अहिले भने नेकपा अध्यक्ष ओली पक्षले पूर्वएमालेकै जनताको बहुदलीय जनवादलाई विचारको बहसको रूपमा अगाडि बढाएको छ भने पूर्वमाओवादीले एकता हुँदा भएको सहमति अनुसार जनताको जनवादलाई नै अगाडि बढाउनुपर्ने बहस थालेको छ ।
वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा विवाद चर्केको बेला तत्लो तहमा पनि अलग–अलग बहस र छलफल सुरु भएको छ ।
मोरङमा ओली समूहको भेला अघिल्लो साता नै विराटनगरको एक निजी स्कूलमा भयो । पूर्वमाओवादीको कारण पार्टीमा समस्या आएकोले पूर्वएमालेहरु एकताबद्ध भई जनताको बहुदलीय जनवाद केन्द्र मानेर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषय भेलामा उठ्यो ।
लगत्तै पूर्वमाओवादी समूह पनि एक सामुदायिक भवनमा जम्मा भएर माओवादी आन्दोलनकै जगमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता प्राप्त भएको भन्दै पछाडि फर्कने प्रयास विरुद्ध उभिनुपर्ने छलफलमा सहभागी भयो । पूर्वमाओवादी पक्ष र ओलीपक्षीय नेताहरु छुट्टा–छुट्टै छलफलमा बसिरहेको बेला नेता माधवकुमार नेपालपक्षीय नेताहरु भने छुट्टै भेला र बैठक विधि र पद्दति विपरीत हुने भन्दै मौन बसेका छन् ।
ओली पक्षले भेला सुरु गरेपछि पूर्वमाओवादी समूह भने श्रृंखलाबद्ध रुपमा बहसलाई तलसम्म लैजाँदै आफ्नो समूहलाई एकीकृत गर्न जुटेको छ । गत बुधबार भएको जिल्लास्तरीय कार्यकर्ताको भेलाले तलैसम्म आफ्नो पंक्तिलाई संगठित गर्दै जनताको जनवादलाई स्थापित गर्नेगरी बहसमा सहभागी हुने निष्कर्षमा रहेको एक नेताले बताए ।
जिल्ला तहको भेलापछि विराटनगर महानगरपालिकास्तरीय छलफल गरेको पूर्वमाओवादी समूहले मंगलबार मात्रै राष्ट्रिय युवा संघ मोरङका जिल्लास्तरीय नेताको छलफल ग¥यो । सबै छलफलमा जनताको बहुदलीय जनवाद तत्कालिन कार्यक्रम भएपनि संघीय गणतन्त्र स्थापनापछिको अवस्थालाई समेट्न नसक्ने भन्दै अबको कार्यक्रम जनताको जनवाद हुँदै समाजवादमा जाने हुनुपर्नेमा जोड दिएको छ ।
‘२१ औं शताब्दीको जनवादले ल्याएको गणतन्त्रमा बसेर, राजा रहेको बेला ल्याएको जनताको बहुदलीय जनवाद (जबज)को बहस गर्नुको कुनै अर्थ छैन,’ युवा नेता अशोक दाहालले भन्नुभयो, ‘जबजलाई जबर्जस्ती ब्यूँताउने कोशिस गरियो, जबजले समाजवादको सपना देख्दैन, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको योजना जबजमा काहाँ छ, त्यो देखाउन कसैले सक्दैन ।’ दुई दर्जन बढी युवा नेताहरुको सहभागीता रहेको उक्त छलफलले पार्टी फुट्न नहुने र विधि अनुसार पार्टी चल्नुपर्नेमा पनि जोड दिएको छ ।
अर्का युवा नेता इश्वरी आचार्यले पार्टी नेतृत्व तहमा भएको छलफल र विवादलाई पदका लागि भनेर बद्नाम गर्ने कोशिष भएको भन्दै आफूहरु तलैसम्म कार्यकर्तालाई बुझाउन लागेको बताउनुभयो । ‘एउटा अध्यक्षको पक्ष लिएर अर्को अध्यक्षलाई खुइल्याउने काम भएको छ, पदका लागि भएको झगडा भनिएको छ,’ आचार्यले भन्नुभयो, ‘त्यस्तो होइन अहिलेको विवाद भनेको विधि र पद्दतिलाई पालना गरौं, मिलेर समस्याको समाधान गरौं भन्ने हो, तल्लो तहमा भ्रम सिर्जना भएको कारण हामी सबैलाई बुझाउन लागेका छौं ।’
पूर्वमाओवादी समूहले अनेरास्ववियुका आफू निकट नेता कार्यकर्ताहरुलाई पनि बहसमा ल्याउने तयारी गरेको छ । ‘आ–आफ्ना समूहलाई बजबुद बनाउँदै, विचारको बहसमा तलैसम्म हामी जानुपर्छ,’ आफू निकटकाहरुसँगको छलफलमा नेकपा मोरङका सचिव गणेश उप्रेतीले भनेको कुरा उदृत गर्दै एक पूर्वमाओवादी नेता भन्छन्, ‘सबै उपलब्धीहरु २१ औं शताब्दीको जनवादका आधारमा हुने अनि राजतन्त्रसहितको राजनीतिक व्यवस्थाको परिकल्पना गर्ने जबज चाहिं उत्कृष्ट हुने यो कसरी हुनसक्छ ? ।’
बैठकमा उत्तेजित हिसावले फिल्डमा जानेभन्दा पनि वैचारिक हिसावले प्रतिवाद गर्दै महाधिवेशनसम्म जाँदा उपर्युक्त हिसावले जवाफ दिनेगरी तयारी हुने निष्कर्ष पनि निकालेको छ । कतिपयले बैठकमा पार्टी एकताको कुराले मात्रै निकास नदिने भएकोले बहुमतका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिएका थिए । नेताहरुले भने फुटको पक्षमा लाग्नु नहुने र पार्टी एकता जोगाउनमै आफूहरु केन्द्रित हुनुपर्नेमा जोड दिएको स्रोतले बताएको छ ।