बजारमा चिनी अभावसँगै मूल्यवृद्धि

चिनी उद्योगीको तथ्यांकमा सरकारको विश्वासले बजारमा एकाधिकार

विराटनगर । बजारमा चिनी उत्पादकहरुको एकाधिकार कायम हुँदा नेपालमा चिनीको अभावसँगै अधिक मूल्यवृद्धि भएको छ । चिनी उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको गलत तथ्यांक दिएर उद्योगीहरुले सरकारलाई भ्रममा पारेका कारण अहिले बजारमा चिनीको अभाव भएको हो ।

आत्मनिर्भर भएको वस्तुको आयातलाई निरुत्साहित गर्न सरकारले चिनी आयातमा भन्सार महशुल १५ बाट बढाएर ४० प्रतिशत पु¥याएको छ । जसले आयातित चिनीको उपभोक्ता मूल्य न्युनतम ७८ रुपैयाँ पर्नजान्छ । तर, बजारमा चिनी अभाव छ र उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँमा खरिद गर्न बाध्य छन् ।

नेपालमा प्रतिवर्ष २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक हुने र नेपाली उद्योगहरुले वार्षिक २ लाख ८० हजार मेट्रिकटनसम्म उत्पादन गरेको तथ्यांक उद्योगीहरुले प्रस्तुत गरेपछि चिनीमा आत्मनिर्भर भएको भन्दै सरकारले आयात नियन्त्रणको नीति लिएको थियो । ‘नेपालमा चिनीको उत्पादन २८० मेट्रिकटन पुगिसकेको थियो तर गतवर्ष केही कमी हुनपुग्यो,’ नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले भन्नुभयो ‘अहिले बजारमा थोरै अभाव छ, त्यो आयात गरेर सहजै आपुर्ति गर्न सकिन्छ ।’

नेपालका अन्य उद्योगीहरु भने अग्रवालको भनाईसँग सहमत छैनन् । नेपालमा प्रतिव्यक्ति चिनी उपभोग वार्षिक १५ किलोभन्दा बढी भएको र वार्षिक ४ लाख ५० हजार मेट्रिकटन चिनी खपत हुने उनीहरुको दावी छ । पछिल्लो समय नेपाल बिस्कुट उत्पादनमा आत्मनिर्भर भएको छ भने जुस उत्पादनमा पनि निकै अघि बढेको छ । चिसो पेय पदार्थको उत्पादनमा पनि नेपाल आत्मनिर्भर भइसकेको छ । चकलेट उत्पादन पनि बढिरहेको छ ।

यी सबै उत्पादनमा चिनीको अधिक खपत हुने भएकोले चिनी उत्पादकहरुले सरकारलाई प्रस्तुत गरेको तथ्यांक गलत भएको व्यवसायीहरु बताउँछन् । बिस्कुट उत्पादक संघका केन्द्रीय उपाध्यक्ष महेश जाजु खपतको अनुपातमा नेपालमा चिनीको उत्पादन आधा पनि नरहेको दावी गर्नुहुन्छ । ‘नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिकटन चिनी खपत हुन्छ तर सरकारलाई २ लाख ५० हजार मेट्रिकटन मात्र खपत छ भनिएको छ,’ उहाँले भन्नुभयो ‘नेपालमा कुल खपतको आधा पनि चिनीको उत्पादन हुँदैन ।’ भारतमा प्रतिव्यक्ति १९ किलो चिनी खपत हुने गरेको छ ।

यो वर्ष नेपालका १० वटा चिनी उद्योगहरुबाट १ लाख ९० हजार मेट्रिकटन चिनी उत्पादन भएको चिनी उत्पादक संघका अध्यक्ष अग्रवालले बताउनुभएको छ । उहाँका अनुसार सरकारले साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङलाई सहुलियत महशुल दरमा ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएकोले अब बजारमा अभाव हुँदैन । तर, अन्य व्यवसायीहरु भने अग्रवालको भनाई मान्न तयार छैनन् ।

‘नेपाली बजारमा मासिक २० हजार मेट्रिकटन चिनीको खपत हुन्छ भनेर मान्ने हो भने यो वर्ष नेपालमा उत्पादन भएको चिनीले १० महिना पुग्नुपर्नेथ्यो कसरी ६ महिनामै अभाव भयो त ?’ व्यवसायीको प्रश्न छ । ‘पुस महिनादेखि बजारमा गएको नेपालको चिनी असारमा सकिनुको अर्थ हामी आत्मनिर्भर छैनौं भन्ने नै हो,’ बिस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्माचार्यले भन्नुभयो ‘हामी उद्योगमा कच्चा पदार्थको रुपमा चिनी प्रयोग गर्छौं तर सरकारले तयारी वस्तुकै रुपमा भन्सार महशुल लिन्छ । हामीले कच्चा पदार्थको रुपमा प्रयोग हुने चिनीको भन्सार दर २० प्रतिशत कायम गर्नुपर्छ भनेर भनेका छौं ।’

अहिले साल्ट ट्रेडिङले १० र नेशनल ट्रेडिङले ५ हजार मेट्रिकटन चिनी आयातको प्रक्रिया अघि बढाएको छ जुन दशैं अघि मात्र आइपुग्छ । त्यसअघि नै नेपाली बजारमा चिनीको अभाव हुने देखिएको छ । केही नेपाली उद्योगहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्न ४० प्रतिशत भन्सार महशुल तिरेर सिर्धै आयात गरेका छन् । तर, उपभोक्ताहरुलाई बिक्री वितरण गर्नेगरी भने निजी क्षेत्रले चिनीको आयात गरेका छैनन् ।

सरकारको नीतिका कारण यतिबेला नेपाली उपभोक्ता महंगोमा खरिद गर्न बाध्य भएका छन् । सीमावर्ती भारतीय बजारमा यतिबेला चिनीको मूल्य प्रतिकिलो ५२ रुपैयाँ छ । स्वदेशमा अभाव भएको दैनिक उपभोग्य वस्तु आयातमा ४० प्रतिशत भन्सार महशुल लिँदा उपभोक्ताले प्रतिकिलो झण्डै १० रुपैयाँ बढी तिर्नुपर्ने अवस्था छ ।

आत्मनिर्भर नभइसकेको वस्तुलाई आत्मनिर्भर भयो भन्दै भन्सार महशुल बढाउँदा उपभोक्ता मारमा परेका छन् । अर्कोतर्फ सस्तोमा उत्पादन भएको नेपाली चिनी पनि आयातित चिनीको अनुपातमा महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यतामा उपभोक्ताहरु छन् ।

सीमा बन्द हुँदा चिनी अभाव
कोरोनाका कारण अहिले नेपाल भारत सीमा बन्द छ । तराईका सिमावर्ती क्षेत्रका हजारौं नेपालीहरु भारतीय बजारमा पुगेर दैनिक उपभोग्य वस्तु खरिद गर्थे र चिनी सबैले ल्याउँथे । चैत्र महिनादेखि त्यो क्रम रोकिएको छ । जसले गर्दा तराईका बजारमा नेपाली चिनीको खपत बढेको हो ।

तराईमा नेपाली चिनीको खपत बढ्नासाथ नेपालको उत्पादन छ महिनामै सकिएको नेपाल बिस्कुट उत्पादक संघका महासचिव कर्माचार्यले बताउनुभयो । त्यसबाहेक अनौपचारिक कारोबारका माध्यमबाट आउने चिनी पनि यतिबेला सीमामा भएको कडाईले गर्दा आएको छैन । यसले पनि नेपाली उत्पादनको खपत बढेको हो ।

महासचिव बज्राचार्यले भन्नुभयो ‘कोभिडले हाम्रो वास्तविक माग के हो भन्ने प्रष्ट पारेको छ यो कुरा सरकारले बुझ्छ भन्ने मलाई लाग्छ ।’ तराईका बजारमा चिन बिक्रीका लागि नेपाली चिनी उद्योगले डिलरसमेत खोलेका थिएनन् जसको अभाव लकडाउनको बेला देखापरेको थियो ।

चिनी उत्पादन अझै घट्ने
तीन वर्ष अघि पाकिस्तान र भारतबाट अनियन्त्रित ढंगबाट चिनीको आयात भएका कारण नेपाली चिनी बिक्री नभएको भन्दै चिनी उद्योगहरुले उखु किसानलाई समयमा भुक्तानी दिएनन् । जसले गर्दा किसानहरु निरुत्साहित भई उखु खेतीबाट बिमुख भए र यो वर्ष चिनीको उत्पादनमा गिरावट आयो ।

यो वर्ष पनि अवस्था राम्रो नरहेको चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउनुहुन्छ । ‘उखु रोप्ने बेलामा कोरोना महामारीका कारण लकडाउन भयो, जसले गर्दा धेरैले उखु लगाएनन्,’ अग्रवालले भन्नुभयो ‘उखु लगाएकाहरुले पनि समयमा बीउ र मल पाएनन् यसले आगामी सिजनमा पनि उत्पादन घट्ने आशंका छ । तर, हामी सर्भे गरिरहेका छौं केही समयपछि वास्तविक अवस्था थाहा हुन्छ ।’

बिहिबार, १५ साउन, २०७७, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर