जटिल अभियानका अभियन्ताको कथा

 गणेश लम्साल

मध्यमवर्गीय सदाचारी संस्कार बोकेको परिवारका सन्तान । व्यावस्थापन विषयमा मास्टर्स । चाहेको भए नेपाल सरकारका उच्च अधिकारी वा कुनै बैक वा वित्तीय संस्थाको उच्च तहको कर्मचारी हुनसक्ने क्षमता । तर, लोभलालच छाडेर उनी सडकमा भौतारिने कडाखाले मनोरोगी (मानसिक रोगी) बेसहाराहरुको उद्धार र संरक्षणको अभियानमा छन् ।

रामजी अधिकारी भर्खर ३३ वर्षका भए । सरल र सदाचारी जीवन विताउने उनले आध्यात्म र भौतिकवाद दुबैलाई बुझेका छन् । प्रबिधिको उच्च प्रयोग गर्ने उनी मास्टर्स सक्नेबित्तिकै २०६९ देखि सडकमा भौतारिने मनोरोगीहरुको उद्धार र संरक्षणमा लागे । अहिले देशका सातवटै प्रदेशका ११ स्थानमा आफू अध्यक्ष रहेको मानव सेवा आश्रमको शाखा विस्तार गरिसकेका छन् । अभियानमा लागेको ८ वर्षमा हजार बेसहाराहरुको उद्धार भइसकेको छ । जसमा एक हजार जना समाजमा पुनस्र्थपना भइसकेका छन् । ७ सय जना आश्रमभित्रै मत्युवरण गर्न बाध्य भएका छन् । यो अवधिमा मानव सेवा आश्रम ७ प्रदेशको १४ जिल्लामा विस्तार भइसकेको छ । आश्रमको संरक्षकत्व दिन ५ सय बढी अभिभावक जुटिसकेका छन् । अभियानमा २ सय जना समर्पित पढेलेखेका युवाले निःशुल्क स्वयंसेवा गरिरेहका छन् । अभिायनमा ४ हजार बढी बेसहाराहरुको उद्धार भैसकेको छ । १४ शाखाहरुमा ११ सय जना बेसहाराहरु अहिले आश्रित छन् । अभियानको एउटै लक्ष्य छ, अब नेपाललाई सडक मानवमुक्त बनाउने । सबैका लागि खाना, नाना र छाना दिलाउने । मानव सेवा आश्रमका अध्यक्ष रहेका अभियन्ता रामजी भन्छन्, ‘स्पिडमा ब्रेक लागेन भने हामी तोकिएको समय अगावै आफनो लक्ष्य पुरा गर्न सक्षम हुनेछौ ।’

समाजमा अझै मनोरोगीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भैसकेको छैन । मानिसहरु अझै मानसिक रोग लागेको थाहा भए भने मात्र पनि छि छि दुरदुर गर्छन् । पागल भन्छन् । अझ उपचार गर्दा पनि निको भएन र रोग जटिल खाले मनोरोगमा फेरियो भने त परिवारले नै वास्ता गर्दैनन र विरामी वेसहारा भएर सडकमा भौतारिन बाध्य हुन्छ । सडकमा हिंसा सहनुपर्छ । आफ्नो ठाउँबाट अर्को ठाउँमा खेदाउने, कुकुर लगाउने र ढुंगाले हानेर खेदलाउने जस्ता काम हुन्छ । अझ महिलाहरु त यौन हिंसाको शिकार हुन्छन् । कडाखाले मनारोगीहरु न त मागेर खान जान्दछन् न त आफू विरामी छु उपचार गर भनेर भन्न सक्दछन् । तर, उपचार र माया स्नेह पाएमा उनीहरु निको हुन्छन् र समाजमा पुनस्र्थापित पनि हुनसक्छन् ।

जोगी र बाबाहरु धेरै छन् । उनीहरुका आश्रम पनि थरिथरिका छन् । उनीहरुले धर्मकर्मका नाममा कमाएका पनि धेरै छन् । जसले गर्दा उनीहरु नामी र दामी भएका छन् । अनि धेरैले वालबालिका र जेष्ठ नागरिकहरुको आश्रम चलाएर नाम र दाम पनि कमाएका छन् । थोरै मात्रै यस्ता छन्, जसले कर्मको मर्मलाई बुझेर मानव सेवालाई नै धर्म मानेका छन् । र आफूलाई सर्मिपत गरेका छन् । रामजी अधिकारी र उनका संस्थापक साथीहरु सुमन, रुपा र अन्य समर्पित युवाहरु ती अभियन्ता हुन्, जो जटिल अभियानका लागि आफनो भौतिक भविश्य नै लोभ गरेका छैनन् । पढेलेखेका शिक्षित भएर पनि उनीहरु निरन्तर वेसहारा मानिसहरुको सेवामा जुटिरेहका छन् । एउटै लक्ष्य बनाएर, आफ्नो देशलाई सडक मानवमुक्त बनाउने र सबैलाई नाना, खाना र छाना उपलब्ध गराउने ।

अहो ! कसरी सुुरु भयो त यस्तो महान् तर जटिल अभियान ? कथा झन जटिल छ । गोरखाको पालुङटार १ मा जन्मिएका थिए, रामजी अधिकारी । बुवा रिटायर्ड आर्मी, अति नै सदाचारी अनि मनकारी । आमाको हरेक कुरा सञ्चिती गर्ने बानी । असल संस्कारको उदाहरण थियो, घर । स्कूले शिक्षापछि रामजी काठमाडौ पढ्न गए । मास्टर्स गर्दे थिए । उनको सर्वोत्कृष्ट जीवन सासत्व चिन्तन अभियानका अभियन्ता डा.गोबिन्द टण्डनसँग सम्पर्क भयो । उनी संस्थामा आवद्ध भए । अहिंसा, शाकाहार, सदाचार, आध्यात्म चिन्तनको व्यवहारले लोकप्रियता पाउन थाल्यो । रामजी सोही चिन्तनका लागि प्रदेश ३ को राजधानी हेटौडा आए । हेटौमा केही अभियानहरु सम्पन्न भए । त्यही उनले सडकमा भौतारिने वेसहाराहरु देखे । उनलाई दुःख लाग्यो । उनीहरु सबैखाले अधिकार र संरक्षणबाट बंचित थिए । उनले आफना साथीहरुसँग परामर्श गरे । उनीहरुकालागि केही गर्ने योजना बन्यो । २३ जेठ २०६९ मा बेसहाराहरुसँग पिकनिक खाने निधो भयो । १८ जना वेसहारा भेला भएर पिकनिक भयो । मैलाधैला लुगा लगाएका वर्षौदेखि ननुहाएकाहरुलाई सफा गरेर लुगा फेरिदिने, दाह्री काटिदिने अनि मिठा खानेकुरासँगै खान िदने काम भयो । सबैले पिकनिकको प्रशंसा गरे । सिडिओ बसन्त भट्टराई प्रमुख अतिथि थिए । बेसहाराहरुलाई अभिभावकत्व दिन अनुरोध गदौ गर्दा कोही अघि सरेन । सफा भएर एकछाक मिठो खाएका बेसहाराहरु सडकमै छाडिए । एक जना बेसहाराले भने, ‘पहिले मैलो थियौं, माग्दा पनि दिन्थे । तपाईहरुले नुवाएर सफा लुगा लगाइदिएपछि त अब हामीलाई न त भिख दिन्छन् न त हामीले सडकमा बास पाउँछौं, अब हामी कता जानु ?’

मन कटक्क खायो रामजी र उनका साथी सुमन र रुपाहरुको । यसैले उनीहरुले निधो गरे, बेसहाराहरुकालागि केही गर्ने । जस्तोसुकै परिस्थिति आएपनि सामना गर्ने । तर, हार नखाने । उनीहरुले बेसहारा मानव सेवा अभियान नाम दिएर जटिल अभियानको ओखलमा मुन्टो हाले । घरपरिवार र आफन्तहरुले आफूसँगै सबैको भविष्य विगार्न लागिपरेको भनेर धेरै गाली गरे । तर, उनीहरु पछि हटेनन् ।

धेरै गाह्रो भयो, अभियान सुरु गर्न । उनीहरुसँग न त पैसा थियो न त संरक्षण । विदेशी पैसा पनि नलिने प्रतिबद्धता थियो, उनीहरुको । सबैले आफूसँग भएको धनमाल बिक्री गरे र बेसहारा राख्न घर खोज्नथाले । ‘पागलहरु’ राख्नका लागि घर दिन कसैले मानेनन् । धेरैले पढेलेखेका युवाहरु भएर मागीखाने काममा लाग्न थालेको भनेर उल्टै गाली गरे । हुतिहाराहरु भने । बल्ल हैटौडा ५ अब्लडाँडामा बासु कार्कीले घरको एउटा फल्याट दिए । २३ साउन २०६९ का दिन उनीहरुले ५ जना वेसहाराहरुलाई ल्याएर राखे । नाम दिए, मानव सेवा आश्रम । पकाउन र सुताउन सरसमान हाँडाभाँडा, लुगाफाटा थिएनन् । न त खुवाउनका लागि अन्नपात थियो । उनीहरुले मुठिदान सहयोग सुरु गरे । मान्छेका घरघर पुगे । पुराना लुगा र पुराना भाँडाहरु बटुले । त्यो बेला मान्छेहरु कलकलाउदा युवाहरु कमाउने काममा नलागेर बैरागी बनेर बिग्रिएको भन्दै खुब गाली पनि गर्थे । माग्ने बहानामा चोर्नेहरु आए भनेर कुकुर फुकालेर पनि छाडिदिन्थे । तर, उनीहरु डगमगाएनन् । बेसहाराहरुलाई सहारा दिन छाडेनन् । अगाडि बढिरहे ।

विस्तारै उनीहरुको चर्चा हेटौडामा फैलिनथाल्यो । मानिसहरुले सकारात्मक रुपले उनीहरुलाई हेर्नथाले । सहयोग जुट्नथाल्यो । उनीहरु सेवाभाव भएका शिक्षित युवाहरुले पनि स्वयंसेवा गरेर अभियानमा साथ दिनथाले । विस्तारै अभियानको प्रशंसा बढ्यो । सरकारले चासो दिनथाल्यो र मानव सेवा आश्रम देशभरी बिस्तार भयो । देशभरिका सडकमा भौतारिक बाध्य वेसहाराहरुले सहारा पाउन थाले । पहिले गाली गर्नेहरुले विस्तारै ताली बजाउन थाले । गाली गर्ने घरपरिवारहरुले स्यावास भन्न थाले । अझ अध्यक्ष रामजीका आमाबुबा र श्रीमती सबैजना मानव सेवामा समर्पित छन् । सबै जना चितवनको आश्रमको रेखदेखमा लागिरेहका छन् । तर, अभियानको लक्ष्य पुरा हुने भएपनि उद्देश्य अझै पुरा भएको छैन् । अझै पहुँचवाल मानिसहरु आफ्ना रोगी र अशक्त सन्तानलाई राखिदिन आग्रह गर्दै आश्रममा आउँछन । दुई सय भन्दा बढिले निबेदन दिएका छन् । तर, अभिभावक भएकाहरुलाई आश्रमको नीतिले राख्न दिदैन । यसैले रामजी र सहकर्मीहरु सम्झाएर पठाउने गरेका छन् । अझै पनि आश्रममा धनी र नामीहरुका आफन्तहरु आश्रय लिन बाध्य भैरहेका छन् । किनकी उनीहरु सडकबाट उद्धार गरिएका हुन् । आफन्तले आफै जिम्मा लिएर नलगेसम्म उनीहरुलाई जवरजस्ती पठाउन पनि मिल्दैन । तर, आफन्तले जिम्मा लिनै चाहदैनन् ।

आजकल मानव र समाज सेवा मान र सम्मानका लागि देखावटी ढोंग बनेको छ । समाजमा कामचोर र लम्पटहरुको संख्या पनि बढिरहेको छ । काम गर्न नचाहने बरु भीख मागेर खानेहरु बढिरहेका छन् । जसले समाजलाई दुव्र्यसनतिर लगिरहेको छ । मन्दिरमा बसेर याचना गर्ने अधिकार दिनहिनहरुको हो, लम्पटहरुको हैन । उनीहरुलाई कर्तव्यमा लगाउनुपर्ने पनि अभियानको योजना छ । लम्पटहरुले गर्दा वास्तविक पीडितहरु ओझेलमा परेका छन् । दयाको भावनामा ठोस पुगेको छ । पीडितले पाउनुपर्ने दया लम्पटहरुले पाइरहेका छन् । यसका लागि पनि सरकारले लम्पट भिखारीहरु घटाएर गरिखान कर्तव्यप्रति जिम्मेवार मानव तयार गर्ने नीति बनाउन आवश्यक छ ।

रामजी, सुमन र रुपाहरुलाई आजकल खुसी पनि लागेको छ कि आफूहरुले थालेको अभियानले बृहत रुप लिइरहेको छ । मानव सेवाका लागि मानिसहरु अगाडि आउन थालेका छन् । अध्यक्ष रामजीलाई सरकारले जनसेवा पदकबाट सम्मान गरिसकेको छ । संस्थापक रुपालाई पनि सम्मान गर्दैछ । मानव सेवामा सर्मिथत अभियन्ताहरुलाई सरकारले राष्ट्रसेवक परिचयपत्र पनि दिने तयारी गरेको छ । संघीय सरकारले निःशुल्क सेवा गरिरहेका अभियन्ताहरुका लागि ८ करोडको कोष पनि बनाइदिएको छ । केही महानगर सडक मानवमुक्त महानगर घोषण भइसकेका छन् । र धेरैले धमाधम घोषणा गर्ने तयारी गरिरहेका छन् । संघीय सरकारले देशलाई २ वर्षभित्र सडक मानवमुक्त बनाउने नीति कार्यक्रम घोषणा गरिसकेको छ । प्रदेश सरकार र स्थानीय तहहरुले पनि वेसहाराहरुको उद्धार र संरक्षणमा चासो दिन थालेका छन् । मानव सेवाग्राम स्थापना गराउन लागि परिरहेका छन् । चितवनमा मानव सेवा आश्रमको मुख्यालय भवन पनि बनिरहेको छ । विदेशमा पनि शाखाहरु खुल्न थालेका छन् ।

यति मात्र अभियानको उद्देश्य हैन । अभियानको उद्देश्य हो, आश्रमको संख्यासँगै बेसहाराहरुको पनि संख्या घटाउनु । नेपालबाट सुरु भएको मानव सेवा अभियानलाई विश्वभरि फैलाउनु । तर, यस्तै हो भने न त आश्रमको संख्या घट्नेछ । न त अभियान विश्वभरि फैलनेछ । बरु आमाको संख्या झन् बढ्ने र अभियालने स्वार्थको रुप धारण गर्ने र नामलाई भजाएर बद्नाम बनाउने कामहरु हुन थाल्नेछन् । अध्यक्ष रामजीका अनुसार यसैले पहिले मान्छेलाई कर्तव्य पालनमा जिम्मेवार बनाउन आवश्यक छ । कर्तव्यप्रति गैरजिम्मेवार मानिसलाई राज्यले नीति बनाएर कार्वाही गर्न आवश्यक छ । कसैलाई पनि मानव भएर मानवका लागि कर्तव्यबाट अलग गर्ने अधिकार छैन । यसैले अभियानले अठोट गरेको छ । मानिसले आफू मानव भएको कर्तव्य पुरा ग¥यो भने सडकमा कोही पनि वेसहारा भएर आइरहनुपदैन । मानव भएको कर्तव्य पुरा गर्ने मान्छे नै साँचो मानवसेवी हो । यति गरेमा न त मान्छेले अनुमानका भरमा हनुमान बनेर ढोंग रच्दै मानव सेवालाई व्यापार बनाउन आइरहनुपर्छ ।

अर्को राज्यले भौतिक र आर्थिक विकाससँगै समाजमा मानवीय विकासलाई पनि सँगसँगै जोड्नुपर्छ । अभिभावक, समाज र राज्यलाई जिम्मेवार बनाउनुपर्छ । किनभने जबसम्म मानवीय विकासलाई प्राथमिकता दिएर नीति बनाइदैन, तबसम्म मानिस कर्तव्यप्रति जिम्मेवार हुन चाहदैन । र जबसम्म मानिस कर्तव्यप्रति जिम्मेवार हुदैन, मानव सेवा ढोंग मात्र रहिरहनेछ । गफ मात्र भइरहनेछ । अधिकारको बहानामा सडकमा मागेर खाने लम्पटहरु घट्ने छैनन्, बरु पेशेवर मगन्तेका रुपमा बढिरहने छन् ।

आइतबार, ११ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर