डा. गणेश क्षेत्री
वि.सं. २०७५ साल जेठ ३ गतेका दिन बहुदलका साथै जनवादको समेत फेरो समातेर ठिङ्ग उभिन पुगेको नेकपा एमाले भनिने एउटा दल र माओवादको घुम्टो ओढेर बसेको अर्को दल नेकपा माओवादी केन्द्रबीच एकता भयो । आणविक विस्फोटनमा परेर पनि नमरेको वृक्ष जिंक्गो वाईलोवा बालुवाटारमा रोपेर, प्रतिकात्मक रुपमा भविष्यका दिनहरुमा समेत सदा सर्वदा र एकतावद्ध भईरहने संकल्पसहित र विखण्डनमा नजाने प्रतिवद्धतासहित दुई दलको एकताबाट एउटा नयाँ दलको सृष्टि गरिएको थियो, नेकपा । बालुवाटारमा नेकपा दलको अजरता, अमरता एवं चीरस्थायीपनाको प्रतिकको रुपमा रोपिएको उक्त विरुवा वर्तमान ताकासम्म पक्कै हुर्कियो र ठूलो भैसक्यो होला भनेर विश्वास गर्न सकिन्छ । उक्त एकताको उद्घोषबाट जन्मिएको कम्युनिष्ट दल भनेर परिचय गराइयो । नेकपा वर्तमन अवस्थासम्मको यात्रामा भत्किने, तुहिने र विग्रने शिलशिलााहरुको चक्रब्यूहमा परेर, मक्काउने, खिया लाग्ने र धमिराहरु ग्रस्त भएर च्यांग्लो र थिंगथिलो अवस्थामा पुगेको कुरा स्पष्ट देखा पर्न पुगेको छ ।
नेकपा ढुलमुल–ढुलमुल हुँदै हिँडिरहेको देखिएपनि यसको एकताको संकल्प र प्रतिवद्धतामा भने, नेता एवं कार्यकर्ताहरुमा देखापरेको (१) व्यक्तिगत अहम् (२) चरम सत्तालिप्सा (३) पद मर्यादा र नियुक्तिहरुको कित्ता काटाकाट (४) व्यक्तिगत झिनामसिना स्वार्थका लागि हुने गरेको मत भिन्नता एवं (५) अवैधानिक र अवाञ्छित आयआर्जन र त्यस्तो आयआर्जनमा आफ्नो पाउनुपर्ने अंशलगायत (६) कुन छिमेकी वा विदेशी महाशक्तिहरुको शरण पर्ने र चाकरी गर्ने वा आदेशहरुको पालना गर्ने आदि यावत विषयहरुमा नेतृत्वकारीहरुमा हुने विभेद र मतभिन्नताको कारणले गर्दा निरन्तरता कायम रहन नसक्ने अवस्थाको सृजना हुन पुग्यो । जसले एकताताका गरिएका संकल्प र प्रतिवद्धताको स्वरुप खुम्चिन र चाउरिन पुग्यो । नेकपामा स्पष्ट रुपमा देखापरेको एकता सम्बन्धि यो विचलन र स्खलनलाई सहि प्रकारले बुझ्नका निमित्त नेकपाको सृजना गर्ने त्यसताका सम्पन्न ‘एकता’ लाई नै चीरफार (पोष्टमार्टम) गर्न जरुरी हुन्छ । यस्तो चीरफार वा पोष्टमार्टमबाट एकताको आधारभूमि वा जग फितलो थियो वा सुदृढ थियो भन्ने कुरा पत्तो पाउन जरुरी हुनजान्छ ।
नेकपाको सृजनाको निमित्त त्यसताका गरिएको एकतामा खर्च गरिएको वौद्धिक श्रम र भौतिक श्रमरुपी घटकहरु के कति हदसम्म विश्वासिला, गतिला, पत्यारिला वा अपत्यारिला, अविश्वासिला, अगतिला तथा परस्परमा आत्मसातीकरण हुनसक्ने वा नसक्ने स्वरुपका थिए भन्ने कुरा विश्लेषण गर्न सकेमा मात्र संश्लेषण निस्कन सक्दछ । यस्तो प्रकारको विश्लेषणका निमित्त निम्न तथ्यहरुमाथि ध्यान पु¥याउनु पर्ने हुन्छ ः–
१) सवैप्रथम वैज्ञानिक वा ऐतिहासिक पाठको दृष्टिकोणबाट कुनैपनि एकता किन नहोस्, त्यसको दुईटा किसिम वा प्रकार हुने गर्दछ । जसलाई (क) रसायनिक घोल (केमिकल कम्पाउण्ड) को प्रकारको एकता र (ख) भौतिक मिश्रण प्रकारको (फिजिकल मिक्चर) को एकता । यसमध्ये पहिलो प्रकारको वा रासायनिक घोलरुपी मिश्रण भनेको दूधमा ग्लुकोज वा चिनी मिसिएर वा दूधचिनीपानी, रंग मिसाएर बनाइएको पिउने चिया जस्तो हुने गर्दछ । जसबाट मिसिएका फरक–फरक चिजहरुलाई पुनः छुट्याएर राख्न सजिलो हुन्न । अर्कोथरी एकता भौतिक पदार्थहरुलाई एकै ठाउँमा लग्ने वा थुपार्ने एकता हो । जसलाई भौतिक मिश्रणरुपी एकता भनिन्छ । उपरोक्त दुईथरी एकताको दृष्टिकोणले हेर्दा नेकपाका सृष्टि गर्ने दुईथरी घटकहरुका आन्तर्यहरु परस्पर विरोधी आन्तर्यहरु थिए । जसमा एकताको सम्भावना न्यून मात्रै थियो र यो एकता वास्तविक अर्थमा रशायनिक घोलको रुपमा हुने एकता नभएर भौतिक पदार्थहरुको मिश्रण रुपी एकताको नमूना मात्र थियो । यसअर्थमा यो एकताको एउटा घटक मदन भण्डारीको जनताको वहुदलीय जनवादलाई शिरोधार्य गर्ने, नवउदारवादी विचारधाराका समर्थक लोकतन्त्रवादी एवं वहुलवादी जनपूँजिवादी र जनवादी लोकतन्त्रका समर्थकहरुको थियो । अर्को घटक माओवादी सिद्धान्तका अनुयायी देखाउने, दश वर्षे जनयुद्धको घोषणा गरेर युद्ध नै सञ्चालन गरेर अन्त्यमा निकाशको रुपमा १२ बुँदे सम्झौतामार्फत प्रतिष्पर्धी संसदीय निर्वाचनमा भाग लिएर सर्वहारा अधिनायकत्वको ठाउँमा जनताको सर्वोच्चता (पिपुल्स हेजीमोनी) स्थापना गर्न सकिने सपना साँचेर, स्टालिन, गंञ्जालो, पोलपोट एवं भारतीय साम्यवादीदलले गरेका गल्तीहरु सच्याउँदै देशमा समानुपातिक र सहभागितामूलक संघीय गणतन्त्र र धर्म निरपेक्षता आधारभूमीमा समाजवाद हुँदै साम्यवादमा पुग्न तम्तैयार मनोविज्ञानयुक्त घटक थियो । एकताको क्रम यी दुवै घटकबीच समानुपातिक, सहभागिता, संघीयता, संसदीय प्रजातान्त्रिक आवधिक निर्वाचन, धर्मनिरपेक्षतालगायतका कुरामा विचारको एकरुपता भएतापनि निर्वाचन क्षेत्रमध्ये कसले कति निर्वाचन क्षेत्र पाउने कुरामा, सत्ता सञ्चालनको नेतृत्व लिने कुरामा, मन्त्रीमण्ललगायत अन्य पदहरु एवं नियुक्तिहरु तथा मर्यादाक्रमको वाँडफाँडको विषयमा, एउटै सर्वमान्य सिद्धान्त हुने र त्यसै सिद्धान्तका बुँदाहरुमा सबैले अनुशासनको रुपमा चल्न पर्ने कुरामा हस्ताक्षर संयुक्त रुपमा गरिएको दस्तावेज विनाको एकता सम्पन्न भएको थियो ।
यसअर्थमा भईपरि आउने कुरा समयसापेक्ष रुपमा सुल्झाउँदै जाने ‘मनोधारणा’ राखेर भएको एकता थियो । यसरी यो एक्ताको संरचना र स्वरुप पिँधविनाको लोटाको जस्तो अथवा कुनै एकैखाले मत, विचार, सिद्धान्त एवं दर्शनबारे कुनै प्रकारको विमर्श, छलफल र अन्तरक्रिया गरेर एउटा टुंगोमा नपुगी एकताको आधारलाई आकर्षण बनाएर, केन्द्रीयताको ठाउँमा विकेन्द्रीकरणयुक्त शासनको राजतन्त्रको ठाउँमा गणतन्त्रात्मक शासनको हिन्दुराज्यको ठाउँमा धर्म निरपेक्ष शासनको, एउटै धर्म, भाषा, संस्कृति र खस एवं आर्यहरुको शासनको ठाउँमा सबै जातजाति, वर्ण, लिंग, क्षेत्र, भाषा, संस्कृतिको जगेर्ना गर्ने भनेर समानुपातिक सहभागिता एवं धर्म निरपेक्षताको सपना देखाएको भरमा नेपाली जनताको बढिभन्दा बढि मत प्राप्त गरेर, सत्ता र शासनतन्त्रमा निर्वाचनको माध्यमबाट योजनाबद्ध तवरबाट कब्जा जमाउने षड्यन्त्रको रुपमा यो ‘एक्ता’ भएको तथ्य एकतापछिका घटनाका शिलशिलाहरुबाट स्पष्ट देखापरेको छ । जसले एकताको जग वा आधारभूमि अत्यधिक फितलो रहेको कुरा प्रमाणित हुन पुग्दछ ।
यसैगरि नेकपालाई सृजना गर्ने दलको एकताको संरचना र स्वरुपको कुरा चलाउँदा पौराणिक रुपमा चर्चित तथा श्रीमद्भागवत महापुराणको समुद्र मन्थनको बेला विष्णुले देवतागणलाई दिएको निर्देशन र हितोपदेश कथा संग्रहमा लेखिएको वर्णन गरिएको एउटै काठको ढुंगा वा वाकसभित्र थुनिएका सर्प र मुसो कथा पनि सान्दर्भिक देखापर्दछ । प्रथम सन्दर्भमा भगवान विष्णुले समुद्र मन्थनताका देवताहरुलाई निर्देशन दिँदै अहिले दावनहरुले जे भनेपनि मान, पछि समुद्र मंथनबाट प्राप्त हुने प्राप्तिहरुको वितरण ताका कौशलतापूर्वक वितरणको परिवन्ध मिलाउनेछ भन्नु र अर्को सन्दर्भमा एउटा काठको बाकस वा ढुंग्रोभित्र परेका सर्प र मुसोमध्ये मुसो सर्पको भयले डराउँछ, सर्पले, ए मुसा मदेखि नडरा हामी दुवैजना कैदमा परेका छौं, बरु आफ्नो तिखा र बलिया दाँतहरुको प्रयोग गरेर बाकस वा ढुंगोमा प्वाल पार, जसबाट हामी दुवै बाहिर निस्केर जान वा उम्कन सक्नेछौं भन्दा मुसोले आफ्नो समेत मुक्तिको आशाले प्वाल बनाउन सफल हुन्छ । त्यसपछि सर्पले सर्वप्रथम त्यहि मुसालाई खाएर बाकसमा बनाइएको प्वालबाट आफू अघाएर बाहिर निस्केको कुरा गरेको छ । यस कथाको सन्दर्भहरुले एकताको निष्कर्षबाट जन्मिन पुगेको नेकपा वास्तवमा दुईवटा फरक दलहरुमध्ये कुनै एक दल वा दुवै दलको निजी र विशेष स्वार्थपूर्ति गर्ने उद्देश्यबाट प्रेरित प्रयासको परिणामबाट भएको एकताको कारणले उत्पन्न संरचना र स्वरुपको नाम नेकपा भएको रहेछ भनेर स्पष्ट बुझ्न सकिन्छ ।
यसैगरि हितोपदेश नामक ग्रन्थको एउटा कथा भरुण्ड नामक पंक्षी को । यो पंक्षी दुईमुखे पंक्षी हो । तर, यो पंक्षीको एउटा मुखले बल मिच्याई गरेर भेटेजति र पाएसम्म स्वादिलो चारो आफू मात्र खाने गरेपछि अर्को चाँही मुखले अभक्ष खाद्य पदार्थ खाई दिँदा भरुण्ड पंक्षीको नै मृत्यु हुन्छ । सारमा नेकपाको दुई अध्यक्षहरुको बानी, व्यहोरा र आचरण उक्त भरुण्ड पंक्षी सरह हुन पुगेकाले नेकपाको मृत्यु नै सम्भव हुने तथा एकता नै समाप्त हुने हो की भन्ने बलियो आशंका उत्पन्न भएको छ । भरुण्ड पंक्षीको व्यहोरासँग मेल खाने गरि नेकपाले देखाएको व्यहोराको उदाहरणहरु निम्न बुँदाहरुद्वारा स्पष्ट हुन्छन् ः–
क) एकता हुँदाको बखत एकताको सम्पूर्ण प्रक्रियाहरु तीन महिनाभित्र पूरा गरिसक्ने वाचा गरेकोमा २ वर्ष नाघिसक्दा समेत पूरा गर्न नसक्नु ।
ख) नेकपा र नेकपाबाट सञ्चालित सरकारले मुख्य दायित्व एवं कार्यभारहरु निर्वाह गर्न नसक्नु ।
ग) नेकपाको कार्ययोजना र रणनीति अनुरुप र निर्णयअनुसार सरकार नचल्नु ।
घ) रोमको निरोले देशमा आगो लाग्दा मुरली बजाएझै, लुई १६ औंले म नै राज्य हुँ भनेझै र भारतको औरगजेवले मै जो वोलता हुँ वो कानून है, कयामतके दिन मुझपर क्या गुजरेगी मै नहि जानता भने झै दम्भ र अहंकारको शासन सरकारले सञ्चालन गर्नु ।
घ) खास–खास समूहका र गुटका भिजिलान्तेहरु मात्र नेकपाका खास–खास नेतृत्वमा एवं कार्यकर्तामा नियुक्ति पाउने शिलशिला चल्यो । जसले अन्य कार्यकर्ताहरुमा निराशा र वितृष्णा सृजना हुनपुग्यो ।
च) एकताताका र पछिका कतिपय भद्र सहमति, आन्तरिक समझदारी र परस्परका सहमतिहरु चुडाँइयो अनि लत्याइयो ।
छ) सत्ता र शासनमा पहुँचका निमित्त गुटबन्दीका षड्यन्त्रहरुको क्रमवद्धता देखा पर्नगयो । फलत बालुवाटार र खुमलटारको दौडधुप, भेला र गोप्य वार्ताका क्रमहरु चलाइयो ।
ज) स्थायी समितिको वैठक नबोलाउनु, बोलाइएको वैठक समेत बारम्बार निलम्वनमा पर्नु ।
झ) पुनः सहमति खोज्ने भनेर वा कसैलाई कार्वाही गरेको र कसैलाई निष्कासन गरेको नदेखापरोस् भनेर विभिन्न बैठकहरुलाई पर सार्दै लगियो भने आरोप र प्रत्यारोप नहोस् भनेर अचानक संसद अधिवेशन अन्त्य भएको घोषणा गरियो ।
ञ) २०७७÷३÷१४ का दिन आफ्नो सरकार हटाउन भारतले चलखेल गरेको र त्यसमा आफ्नै पार्टीका वरिष्ठहरुले समेत सहयोग दिएको भावनासहितको अभिव्यक्ति प्रधानमन्त्रीबाट आयो । अर्का अध्यक्षले भारतले हैन, मैले राजिनामा मागेको हुँ भन्नु ।
ट) प्रधानमन्त्रीको राजिनामा र अध्यक्षपदबाट समेत भन्दै धेरै स्थायी सदस्यबाट माग हुनु ।
ठ) पार्टी फुटाउनसक्ने अध्यादेश जारी गर्नु र यसैक्रममा एमाले. पार्टीसमेत दर्ता हुनु ।
ड) एम.सी.सी.बाट प्राप्त हुने सहयोग लिने नलिने विषयमा नेकपाभित्रै परस्परमा मतभेद वा विभेदको अवस्था हुनु ।
ढ) चिनियाँ राजदुतले नेकपाको परस्पर विभेदको चर्को रुपलाई साम्य बनाउने उद्देश्य राखेर मध्यस्थता गर्दै, विभिन्न नेताहरुसित भेटघाट र छलफलको शिलशिला चलाउनु ।
ण) प्रधानमन्त्रीलाई कांग्रेससँग गठबन्धन गरेर सरकार बनाउन र चलाउन खोजेको दोषारोपण हुनु ।
त) प्रधानमन्त्रीले विरोधीहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाउन चलखेल गरेको दोष लगाउनु ।
थ) कोविड १९ वा कोरोना महामारी र बाढी पहिरो जस्तो विपद् व्यवस्थापनको ठाउँमा प्रधानमन्त्रीले नेपाली कुटनितिक मर्यादालई ख्यालै नगरि दिएका कतिपय अभिब्यक्तिहरुमा (सत्यमेव जयते की सिंहमेव जयते वा रामको जन्म नेपालमा भएको) नेकपाकै सांसदहरुको समर्थन र विभेद देखापर्नु ।
ध) प्रधानमन्त्रीको कामकारवाहीको समर्थनमा र विरोधमा जुलुसहरु प्रदर्शन हुनु र कतिपय ठाउँमा आफ्नै नेकपाकै कार्यकर्ताबीच कुटपिटसमेत हुनु ।
उपरोक्त सवै बुँदाहरुले एकता र त्यसबाट सृजित नेकपाको भविष्य र विघटनतिर गैरहेको यथार्थ प्रकट हुन्छ । ढिलो होस् कि चाँडो अन्ततः गति भरुण्ड पंक्षीकै गति हुनेवाला देखिन्छ । त्यसैले यो नेकपाले समय चेतलाई आत्मसातीकरण गरेर सावधानी र सतर्कता अपनाउन अनिवार्य भैसकेको छ । भेतना भया !