जनक ढकाल
देशभक्ति त मर्दैन चुत्थै देश भएपनि…. कवि बालकृष्ण समको यो कविताको पंक्तिबाट बिषय उठान गर्न मन लाग्यो । देशभक्ति र राष्ट्रियताको कुरा आएपछि छिमेकी देश भारत जोडिने कुरा हाम्रो नेपाली राजनीतिमा नयाँ बिषय होईन । हाम्रो देशको बर्तमान राष्ट्रिय राजनीतिमा पनि त्यहि बिषयले मुल स्थान पाएको छ । यहाँ मैले भारतको पक्षपोषण गरिरहेको छैन । हाम्रो देशको हरेक बिषयहरु जस्तै राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक लगायतका कुरा हरुमा भारत तघारो भएकै छ । त्यसमाथि भारतीय गोदि मिडियाहरुको हर्कतले सिमा नाघिसकेको छ ।
पत्रकारिताको सामान्य नियम र मान्यताहरुको हेक्का नराखी कुर्ली रहेका छन् । हाम्रो देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि निर्लज्ज प्रहार गरिरहेका छन् । हाम्रो देशको सिमा अतिक्रमणको बिषयमा हामीले तथ्थसंगत कुरा उठाउदा चिनको उस्काउटमा लाग्यो नेपाल भन्न समेत पछि परेनन् । अधिकांश भारतीय च्यानल तथ्य र तर्कको चिन्ता गर्दैैनन् । देशभित्र होस् वा बाहिर, कुनै मानक पूरा गर्दैनन् । ती आफैँ चोर जन्माउँछन्, आफैँ प्रहरी हुन्छन् र पक्राउ गर्छन् । आफैँ अदालत खडा गर्छन् र आफैँ फैसला सुनाउँछन् । उनीहरुको नजरमा नेपाल चीनको पिछलग्गु भइसकेको छ । नेपाल दिल्लीको न्यानो काख छोडेर बेइजिङको कोक्रोमा झुला खेलिरहेको छ ।
पछिल्ला दिनमा त स्टुडियोहरू यसरी पेस हुन्छन्, मानौँ काठमाडौंमा चिनियाँ सैनिकको परेड चलिरहेको छ र ती राति नै दशगजा पार गरेर दिल्ली हान्दैछन् । क्यामेराअघि उभिएपछि भारतीय प्रस्तोतामा त्यसै भूत चढ्छ । भारतीय गोदी मिडियाहरुले नेपाल र भारतबीचमा अन्तरद्वन्द सिर्जना गरेका छन् । यो दुई देशबीचको अन्तरद्वन्दमा कुनै पनि तेश्रो देशले खेल्ने मौका पाएको खण्डमा दुबै देशको लागि घातक हुन्छ भन्ने कुरा यिनिहरुले नबुझेको हुनसक्छ । यिनै हर्कतहरुका कारण नेपालमा यिनीहरुको प्रशारण बन्द गरियो । यो हामी नेपालीहरुको लागि खुसीको कुरा हो ।
मिडियाहरु त एउटा पात्र मात्र हुन् । हाम्रो देशलाई हेर्ने भारतीय कुटनैतिक नजर नै खराब छ । भारतीय बिस्तारवादी सोचका कारण हामीले सधै भारतको पेलानमा बस्नु परेको तितो यतार्थ छ । त्यसमा पनि हाम्रो देशका नेतृत्वहरुको अकर्मण्यता र गलत सोच पनि भारत हामीमाथि हाबी भएको देखिन्छ । ताजा राजनैतिक घटनाक्रमलाई नियाल्ने हो भने पनि प्रधानमन्त्री के पि ओलिले भगवान राम र अयोध्याको तथ्यहिन कुरा उठाएर भारतलाई थप चलखेल गर्ने मौका दिएका छन् । उनको यो अभिब्यक्तिले भारत ले हामीसँग थप चलखेल गर्ने ठाउँ भेटेको छ । यहि कारणले अब हाम्रो देशको अतिक्रमित भुमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा ओझेलमा पर्ने देखिन्छ । यी जमिनहरु नेपालका हुन् भन्ने बिषयलाई सबै नेपालीहरु एक ठाउँमा उभिएर भारतको बिपक्षमा उभिएको ताजा ईतिहास छ । हामीले अतिक्रमित भुमि फिर्ता ल्याउन राष्ट्रिय सहमति गरेर संविधान सम्सोधन गरेकै हो । यो बिषयमा हामी नेपालीले सदनदेखि सडकबाट प्रधानमन्त्रीलाई साथ दिएकै हो । यसलाई दुई देशको कुटनैतिक कोणबाट हल गर्ने कुरामा भारतलाई दबाब दिनु आजको मुख्य आवस्यकता हो । तर प्रधानमन्त्रीले आफु मात्र राष्ट्रबादी हुनको लागि दिएको यो काल्पनिक अभिब्याक्ति सम्पुर्ण देश र जनताको लागि घातक देखिन्छ ।
हाम्रो देशको राजनैतिक संस्कार यसरी मौलाएको छ, नेतृत्वले गरेका हरेक कदमहरुलाई अन्धभक्त भएर समर्थन गर्नुपर्ने चलन छ । उनका हरेक तथ्थहिन, काल्पनिक र कपोलकल्पित कुराहरुलाई समर्थन नगरेको खण्डमा देशघातीको बिल्ला भिडाउने संंस्कार बसेको छ । अतिक्रमित भुमिहरु फिर्ता ल्याउने बिषयलाई अन्तिम किनारा लगाउनुपर्ने समयमा आज हाम्रो प्रधानमन्त्रिले पुनः अर्को बिबादास्पद कथन दिएर मुख्य मुद्दा लाई ओझेलमा पारेका छन् । हुन त यो उनको नौलो चाल भने होईन । एकपछि अर्को बिबादास्पद कथन दिएर राजनितीमा तरङ्ग ल्याउन उनी बानी परिसकेका छन् । कहिले कोरोनाको औषधी बेसार र तातोपानी भनेर वा अन्य उटपट्याङ कथन गर्न माहिर हाम्रा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको काण्डैकाण्ड र भ्रष्टाचारको फेहरिस्त एउटा अर्को महापुराण बन्न सक्छ । उनको कुटिल चालद्वारा भगवान राम र पबित्र स्थल अयोध्याको बिषयमा दिएको अभिब्याक्तिबाट निर्मलताको आशा के गर्नु ?
कम्युनिस्टहरु भौतिकबादी दर्शनलाई आफ्नो मुल मन्त्र मान्दछन तर नेपालको कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने ब्याक्तिले आध्यात्मबादी कुरा गर्दै राम राम भन्नू आफैमा पनि असल होईन । अतः प्रधानमन्त्री ओलीको पछिल्लो बोलि कुनै कोणबाट पनि तथ्य र तर्क संगत देखिदैन ।