ढोंग हैन मानवीय विकासमा जोड दिउँ

 गणेश लम्साल

आजकल आफुलाई समाजसेवी भनाउनेहरु मात्र नभएर समाज सेवा गरेको देखाउने होडबाजी नै छ । कतै केही सम्मानको पद नपाएमा देखावटी समाजसेवा गरेर ‘सेवी’ बन्नेहरुको लर्को झन्झन् बढिरहेको छ । अझ समाजिक सञ्जालको प्रयोगले गर्दा त समाज र मानवको सेवा अझै धेरै देखावटी ढोंग मात्र बनिरहेको छ ।

सेवा व्यापार व्यावसाय हैन । सेवाबाट आर्थिक नाफा आर्जन हुदैन । मात्र सन्तुष्टि प्राप्त हुन्छ । समाजसेवाबाट हुने नाफा भनेको समाजले पाउने दिगो व्यावस्थापनको प्रतिफल हो । जुन असल कर्मका लागि सदैब प्रेरित हुन्छ । तर आजकल अधिकारचाँही नदिने तर देखावटी सेवा गरेको भन्दै आफुलाई मानव र समाजसेवी भनाउनेहरुले सेवाको भावना र मर्मलाई बदनाम गराउदै लगिरेहका छन् । अपराध कर्मममा लागेका , शोषणमा लिप्त , राजनीतिका अत्याचारी र समाजका व्यभिचारीहरु झन् धेरै समाज र मानवसेवाको ढोंग गरिरहेका छन् ।

मानव वा समाज सेवक हुनकालागि कुनै गेरुवस्त्र धारण गर्नुपर्दैन । नत निधारमा लामो धर्को भएको चन्दन नै लगाउनु पर्छ । नत आफुलाई चर्चित बाबा वा महाराज नै भनाउनुपर्छ । सेवा गर्नका लागि आफु शुद्ध शाकाहारी भएको वा आफु योग साधाक वा कथित विज्ञ हुँ भनेर झुठो प्रचार पनि गरिरहन पर्दैन । सेवी हुँ भनेर देखाउनका लागि राज्य सत्ता र सामाजिक शक्त्तिको दुरुपयोग दान र सम्मानको झुठा कार्यक्रमहरु पनि आयोजना गरिरहन पर्दैन । सेवक हुन मात्र कर्तव्य पालना गर्न सक्ने चाहना हुनुपर्छ । सकारात्मक विभेदलाई बुझन सक्नुपर्छ । यति भएमा सेवा गर्नकालागि कुनै मठ, मन्दिर , चर्च , मस्जिद धाइरहन पदैन । आफुले मात्र आफ्नालागि मानवले मानवलाई गर्ने कर्तव्य पुरा गरे काफी हुन्छ । आफना कारणले समाजमा कोही शोषित र पीडित भएन भने उ मानवसेवी स्वतः कहलिन्छ ।

हो, न्याय, माया र सेवा गरेर मात्र पुग्दैन देखाउन पनि सक्नुपर्छ । तर त्यो लोभको स्वार्थमा हैन समाजको सर्वोत्तम हितका लागि हुनुपर्छ । गफले चाँही सबै गर्ने तर व्यवहारमा चाँही कर्तव्य पालन गर्न नचाहनेहरु सेवा समर्थक समेत हैनन् । बरु उनिहरु लोभी हुन् । लोभीहरुको एउटै स्वार्थहुन्छ अरुको आरिस गर्ने र आफुले मात्रै फाइदा लिनका लागि समाजलाई विभाजन गराउने ।

मानव वा समाज सेवक भनेको समाजबादको अभियन्ता हो । उसले समाजमा विभेद अन्याय, असमानता , हिँँसा , अत्यचार सहदैन । सबैलाई समान देख्छ । र सबैले सबैका लागि नाना, खाना र छाना उपभोग गर्न पाउनुपर्छ भन्नेमा विश्वास गर्छ । जो समाजबाट अधिकार पाउनबाट बञ्चित भएका छन् र पारिएका छन् उनीहरुलाई उद्धार, राहत र अल्पकालिन संरक्षणमा हैन समाजमा अधिकार स्थापित गराउन पनि सहयोग पुरयाउँछ ।

आजकल पहुँचवाल, नामी र दामी परिवारले पनि अशक्त, मनोरोगी र जेष्ठ सदस्यहरुलाई तिरस्कार गर्ने गरेका छन् । उनीहरु कर्तव्य पालना गर्नबाट हच्किरहेका छन् । यसैले आमाबुबालाई आश्रममा छाडिदिने, छोराछोरीलाई मन्दिरमा पु¥याइदिने अनि अशक्तहरुलाई सडकमा भौतारिन बाध्य बनाइरहेका छन् ।

मानवले आफ्नो समाजलाई सभ्य बनाउने हो भने पहिले आफ्नो मानव धर्मको कर्तव्य पालना गर्नुपर्छ । गफ र ढोंगले मात्र कर्तव्य पालना हुँदो हो त आज असंख्य मनोरोगी र अशक्तहरुको सडकमा बिचल्ली हुने थिएन होला । मानव समाजकै सदस्य भएर पनि असक्त र रोगी भएकै कारण मानव अधिकार उपभोग गर्नबाट बञ्चितीकरणमा पारिदैनथ्यो होला ?

समाजका लागि विकास अति आवश्यक छ । तर विकास भनेको भौतिक र आर्थिक मात्र हैन । जबसम्म हामीले मानवलाई कर्तव्य पालना गराउनका लागि मानवीय विकासमा जोड दिदैनांै तबसम्म समाज समाजवादी हैन ढोंगी मात्र बनेर जान्छ । यसैले समाजमा सबैखाले विभेद, हिँसा, अन्याय, शोषण अनि अत्याचारको अन्तका लागि सबैले मानवीय विकासमा जोड दिन आवश्यक छ । अर्थात मानवीय विकासलाई महत्वदिएर नीति निर्माण गर्न गराउन आवश्यक छ । जतिसुकै धेरै भौतिक विकास गरेपनि, समाज जतिसुकै बिलासी भएपनि मानवीय विकासलाई आत्मसाथ नगरेसम्म समाजबाट गरीब र रोगीहरु अन्त्य हुदैनन् । यसैले मानिस र उसले निर्माण गरेको समाजिक मूल्य मान्यता र राज्य शासन प्रणालीमा मानवीय विकासले पहिलो प्राथमिकता पाउनुपर्छ ।

सोमबार, २९ असार, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर