शशिकिरणकको बधाई र धरातलीय यथार्थता ।

 मणि दाहाल

नेपाली प्रगतिवादी साहित्यको इतिहास गौरवशाली छ । कला, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा मात्र हैन, सामाजिक रुपान्तरणको अभियानमा पनि यसले जनतालाई जागरुक बनाएको छ । कठोर कालरात्रीमा पनि प्रगतिवादी कलमहरुले समाजमा हुने शोषण, दमन र अन्यायका बिरुद्धमा चेतना प्रवाहित गर्दै जनतालाई आन्दोलनमा लामबद्ध बनाएको छ । अघिल्लो चरणलाई छाडेर राल्फा आन्लोलनदेखि आजको दिनसम्मलाई नियाल्दा प्रगतिवादी साहित्यिक आन्दोलनले रुपान्तरणको चेतना प्रवाह गर्दै आयतित संस्कृतिको प्रहार र मौलिक संस्कृतिको संरक्षणमा जोड दिँदै आएको छ ।

पछिल्लो समयमा प्रगतिवादी अर्थात जनसाहित्यको धारमा खिया लागेर भुत्ते भएको छ । उपभोक्तावादको पीडाले यो पनि थिलथिलो भएको छ । सस्तो लोकप्रियता र व्यवसायिकताको नाममा वैचारिक पक्ष बिलिन देखिन्छ । वर्गीय चेतनामूलक साहित्य दुर्लभ हुन थालेको छ । अन्य क्षेत्र जस्तै साहित्यमा पनि भिडको खेती हुन थालेको छ । यसरी प्रगतिवादी कलमले संक्रमणको पीडा भोगिरहेको घडीमा यसको स्वर्ण इतिहासलाई मर्न नदिने मान्यताका साथ उदाएका श्रष्टाहरुमध्येका हुन्, कवि शशिकिरण ।

कवि शशिकिरणको कविता संग्रह “बधाई छ” ले प्रगतिवादलाई निरन्तरता दिने प्रयास गरेको छ । बिभिन्न शिर्षकहरु गरि जम्मा ५२ वटा कविता समिटिएको १०६ पेजको मोटाइको कृति अत्यन्तै समसामयिक छ । एउटा कलमवाजको नाताले उक्त कृतिका बारेमा समिक्षात्मक टिप्पणी नगर्दा रचनाकारप्रति अन्याय नै हुनजान्छ । त्यसकारण आज सोहि कृतिका बारेमा केहि समिक्षात्मक टिप्पणी गर्ने जमर्को गरेको छु ।

कृति अत्यन्तै भावुक छ । विद्रोह र असन्तुष्टिका स्वरहरुको प्रतिनिधित्व छ । कृतिभित्र देशको दर्द लुकेको छ । राजनीतिमा मौलाएको विकृति र बिसंगतिको डंगुरहरुले मन अमिलो पार्नेहरुको पीडा समेटिएको छ । वतासे सपनाको सार्थकताको पक्षमा प्रतिक्षारत जनताको निर्थक प्रतिफलको चोट लुकेको छ । जनतालाई सिडी बनाएर बाचा विर्सने धोकेबाजहरुको सक्कली चित्रण छ । शक्तिको खातिर मित्रताको भावनात्मक सम्बन्धलाई नै छुरा हान्न पछि नपर्ने स्वार्थीहरुप्रतिको आक्रोशको संकेत छ ।

बधाई शिर्षकमा कविले उल्लेखित भावना यसरी पोखेका छन्ः

बाचाहरु फेसन हुन्,
पुस्तैपिच्छै फेरि रहने
मान्छेपिच्छे देखाको सपना
बिहानीसँगै बिलाई जान्छ
हजारांै लाखौंलाई सुताएर
आफू सुटुक्क उठनु पर्छ ।

निष्ठाहिन राजनीतिक यात्राले इमान्दारहरुको आत्मसम्मान गुमेको छ । सामाजिक रुपान्तरणको अभियानमा कैयौंले कलकलाउदा यौवनका उल्लासहरुलाई बलिदान गरे । तर, अपशोच ! ती परिवर्तनका बाहकहरु दुःखैदुःखमा जीवन बिताउँदैछन् । तरपनि उनीहरुमा धोकाको बदलाभाव छैन । अभावग्रस्त जीवनले प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । तरपनि विश्वास अटल छ । आस्था गुमेको छैन । आक्रोशलाई मनभित्रै गुम्स्याएर सम्मान गरेकै छन् । भोक, प्यास नभनी उर्दीमा हिँडेकै छन् । अ¥हाएको गरेकै छन् । सीमितलाई स्वर्गको सुखभोग गर्ने सदासयता देखाएकै छन् । यो कुनै रंगमञ्चको संवाद नभएर आजको यथार्थता हो । जीवनको भोगाई हो । यस्ता कैयौं निरिहहरुको पीडालाई कविले यसरी प्रतिनिधित्व गरेका छन्ः

अभावमा बिद्रोह त्यागेको छ
दरिद्रतामा आक्रोश भुलेको छ
भुई मान्छे छ र तिम्रो केन्द्र छ
भुई मान्छेसँग केको डर ?
उम्लेको बिष फ्याँकेर,
भुई मान्छे सलाम गर्छ ।

राजनीतिले कोरा अधिकार दियो । तर, सामाजिक र संस्कृतिक परिवर्तन दिन सकेन । प्राप्त अधिकार सीमित पहुँचवाला र टाठाबाठाहरुको सत्तारोहणको माध्यम बन्यो । जसलाई ढाल बनाइयो उनीहरु रैति नै छन् । दिनचार्य झन् खस्कँदो छ । छाना चुहेकै छ । माना रित्तिएकै छ । नाना च्यातिएकै छ । अनि राजनीतिक व्यापारीहरुले उनीहरुको अभिमतलाई खसीबाख्रा झै खरिद गरि सिंहासन चढ्ने बिगतदेखि वर्तमानसम्मको श्रृंखला पनि जस्ताको तस्तै छ । यस्तो परिवेशप्रति कविले “मन्द मनुवा” शिर्षकको कवितामार्फत चिन्ता दर्शाएका छन् ।
युद्धकालको भोगाई, र पीडा अनि द्वन्द्वको सफल अवतरणबाट आएको सहजतापछि देखा परेको अभिजात्य जीवनशैलीप्रति कविको चिन्ता लुकेको छ । साथै सहजतापछि अनायासै रहश्यमयी बन्दै गएको कार्यशैली र ठालुवादले निष्ठालाई धकेलेको छ । शक्तिको आरतीमा एक्कासी उदाएको एउटा वर्ग गन्तब्यलाई उल्टो गतिमा मोडेर तगारो बनिरहेको छ । यो तितो सत्यप्रति कविले ‘रहश्य’ शिर्षकमा यसरी मन अमिलो बनाएका छन्ः

म आन्दोलनमा भागें त के भो !
अहिले राजनीतिको प्रमुख अथिति
तिम्रो जीउमा गोली लाग्यो त के भो ?
म समवेदनाको प्रमुख अथिति ।
म एकै रातमा केन्द्रमा पुग्नसक्छु
सपनाको ब्यापारमा रमाउन सक्ने,
प्रमुख अथिति बन्न सक्ने ।

चाहे आजको मेरो वर्तमान शिर्षकको कविता होस् अथवा अल्मलिएका सपनाहरु, यक्षप्रश्न, घाम त फेरि एक्लै आएछ, गाउँ फर्कौ साइला काम सकियोलगायतका अधिकांश कविताहरु नै किन नहुन् कविले वर्तमान राजनीतिभित्र मौलाएको बिकृति र बिसंगतिप्रति गहिरो प्रहार गरेका छन् । विकृतिले आर्थिक, सामाजिक र साँकृतिक रुपमान्तरणसहितको समृद्धिको सपनालाई अबरुद्ध गरेको कुरालाई साहित्यमार्फत चेतना प्रवाह गरेका छन् । महत्वपूर्ण पक्ष त के छ भने, जुन धरातलमा उनी उभिएका छन, त्यहि धरातलभित्र जम्मा भएको फोहोरको डंगुरलाई निर्धक्कताका साथ औल्याउने जमर्को गरेका छन् । यसमा उनको इमान्दारिता देखिन्छ ।

साहित्य समाजको यथार्थता हो । जनजीविका र भोगाइको प्रतिनिधि हो । साहित्य त्यसकै सेरोफेरोमा हुनुपर्छ । अज्ञानतामा ज्ञानको ज्योति र अन्धकारमा प्रकाश बन्नुपर्दछ । काल्पनिकता र उडन्ते साहित्यले भिडतन्त्र र सस्तो लोकप्रियता दिन्छ । तर, यथार्थताको प्रतिनिधित्व गर्न सक्दैन । कवि यस कुरामा सजग देखिन्छन् । शुरुदेखि अन्त्यसम्मका शिर्षकहरुमा उनले भोगाई, यथार्थता र पीडा बोलेका छन् । यो उनको सफलता हो ।

साहित्य लोकस्वीकृति पनि हो । मेहनतकस र श्रमजीवीहरुको आवाज हो । त्यसैले यो सहज र सरल अनि सबैले बुझ्ने हुनुपर्दछ । कविता संग्रह ‘बधाई छ’ जनआवाजको प्रतिनिधि हो । तर, सहज र सरल किसिमले बुझ्न निकै मेहनत गर्नुपर्छ । गहिरिँदा मात्र त्यसको भावमा पुग्न सकिन्छ । यसलाई कविको परिवेसीय बन्धनभित्रको बाध्यताको उपज हो भनेर बुझ्न सकिन्छ ।
सामाजिक अभियानमार्फतको समाज सेवा कवि शशिकिरणको दैनिकी हो । उक्त अभियानभित्रका निश्चित मूल्य मान्यताको परिपालन र लेखनशैलीप्रतिको सन्तुलन र समयको पावन्दी अत्यन्तै कठिन कुरा हुन् । यति भएर पनि समय र धरातलीय सन्तुलनको मिलन गर्ने कुरामा उनी सफल देखिन्छन् । जे होस्, लोपोन्मुख अवस्थामा बधाई कविता संग्रहले प्रगतिवादी साहित्यको प्रतिनिधित्व गर्दै पाठकसमक्ष खडा छ । भावी दिनमा कविको साहित्यिक यात्राले अझै आयाम थप्दै जाओस् ।

हार्दिक शुभकामना !

आइतबार, २८ असार, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर