बाढीको कहरः

मोटरसाइकल तारेको १ सय रुपैयाँ ! (फोटो)

वर्षाका कारण आवत-जावत गर्नेहरु समस्यामा छन् तर, स्थानीयलाई मोटरसाइकल तारिदिएको शुल्क लिएर १ दर्जन युवालाई भने रोजगारी

विराटनगर । मोरङस्थित बेलबारी नगरपालिका–५ कसेनीका ढोडन चौधरीको आजकालको दैनिकी फेरिएको छ ।

उनीसहित ४ जनाको टिम बिहानै लोहन्द्रा खोलाको किनारमा पुग्छन् र बाढी आएको बेला समस्यामा परेरे वारिपारि गर्न नसक्ने मोटरसाइकललाई बोकेर तारिदिन्छन् । उनीहरु बाढीको अवस्था हेरेर १ सय देखि ४ सयसम्म मोटरसाइकल तारेको भाडा लिन्छन् । ‘ताल पर्दा टेम्पोसम्म बोकेर तारेका छौं,’ चौधरीले भने, ‘टेम्पो तारेको भने ९ सय लिएका छौं ।’

२०७४ साल साउनमा आएको बाढीले लोहन्द्रा खोलाको पुल बगाइदियो । लोहन्द्रा खोला तरेर काम बिशेषले मोरङको ग्रामथान गाउँपालिको नेताचौक हँुदै बेलबारी नगरपालिको बाहुनी भएर पूर्व–पश्चिम गर्नेहरू थुप्रै छन् । तर, वर्षाका कारण आवत जावत गर्नेहरु समस्यामा छन् र स्थानीयलाई मोटरसाइकल तारिदिएको शुल्क लिएर १ दर्जन युवाले भने रोजगारी पाइरहेका छन् ।

यहाँका चार जनाको दरले ३ समूहले सवारी साधनहरू तार्न तँछाड मछाड नै गर्छन् । बाढीमा जोखिम मोलेर मोटरसाइकल तारेको खोलामा आएको बाढीको बहाब हेरेर मूल्य लिने गरेको चौधरीले बताए । ‘सामान्य बढी आउँदाप्रति मोटरसाइकल १ सय रूपैयाँ लिने गरेका छौं,’ उनले भने, ‘अलिक ठूलो बाढी आएको खण्डमा ४ सय रुपैयाँसम्म लिने गर्दछौं ।’ लोहन्द्रा खोला भएर दैनिक आवतजावत गर्नेहरू पनि छन् । उनीहरूले पनि प्रत्येक पटक मोटरसाइक तारेको १ सय रूपैयाँ तिर्नुपर्छ । यहाँबाट दैनिक १ सयदेखि १ सय ५० वटासम्म मोटरसाइकलले आवत–जावत गर्छन् ।

हिउँदमा अस्थायी रुपमा स्थानीयले बाँसको पुल बनाएर काम चलाएपनि बर्खायाम सुरु भएसँगै धेरै समस्या हुने गरेको बेलबारी नगरपालिका–६ बाहुनीका मुर्ती गच्छदारले बताए । अस्थायी रुपमा बाँसको पुल लगाएर साईकल, मोटरसाइकल यात्रुहरुलाई हिउँदमा सहज भएपनि बर्खायाम लागेसँगै आवागमन ठप्प हुन्छ । नेताचौकदेखि बाहुनीसम्म जोड्ने खडक खण्ड अन्र्तगतको लोहन्द्रा खोलाको पुल नबनेपछि समस्या भएको गच्छदारले बताए । ‘कहिले काही त एकै दिनमा तीन चार पटकसम्म काम विशेषले नेता चोकहँुदै विराटनगर ओहोरदोहर गर्नुपर्दछ,’ उनले भने ।

लोहन्द्रा खोलाको पुल भत्काएपछि स्थानीयले अस्थायी रुपमा बनाएको बाँसको पुल पनि केही दिनअघि आएको बाढीले बगाइदिएको छ । त्यसपछि होमपाइप राखेर बनाएको अर्को पुल पनि बगाएपछि लोहन्द्रा खोला वारिपारीका सर्वसाधरण मारमा परेका छन् । उक्त पुलबाट दैनिक हजारौ सर्वसाधरण सयौं मोटरसाइकल र दर्जनौं ट्रयाक्टर, ट्रक र बसहरु आवत–आवत गर्दै आएका थिए ।

लोहन्द्रा खोलाको पुल सुनसरी मोरङ सिचाई आयोजना निर्माण हुँदा नै बनाइएको थियो । हाल लोहन्द्र खोलाको पुल सिचाइकै स्वामित्वमा छ । पुलसँगै सिचाई अयाोजनका साइफन पनि खोलाले बगाएको छ ।

पुल निमार्णको लागि ठेक्का लागेको सुनसरी–मोरङ सिचाइँ आयोजना विराटनगरका प्रमुख आन्नद किशोर धामीले जानकारी दिनुभयो । सो पुलको निर्माणको ठेक्का २९ करोड ९७ लाख ५७ हजार ७ सय ७१ रूपैयाँमा आशिष समिनारयण आर्शिवाद जे.बी. धरानले लिएको हो । गत चैत ३० गते सम्झौता भएको भए पनि निर्माण प्रक्रिया अगाडि बढेको छैन । २०८० सालको भदौ ३० गतेसम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

तस्बिरहरुः

बिहिबार, २५ असार, २०७७, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर