शोभा बजगाई
गुरु तपाँइलाई धन्यवाद छ ।
म जीवनमा जे हुन्थे,
त्यो गहिराइ सम्म आाफै पुग्नु भन्दा अगावै
तपाँइ पुगिदिनु भयो ।
र मलाइ कहिल्यै
म संग एक्लै छाड्नुभएन ।
त्यसैले म संग मेरो भविष्य छ
त्यो तपाँइको कारणले ।
आज गुरुपुर्णिमाको दिन गुरुप्रति समर्पित जोआन्ना एलिजावेथकोकविताका यि हरफहरुसंगै सम्पुर्ण गुरुप्रति नमन व्यक्त गर्दछु । प्रत्येक वर्ष असार शुक्ल पुर्णिमाको दिन गुरुपुर्णिमा पर्दछ । हिन्दु, बौद्ध र जैन धर्मवालम्विहरुले यस दिनलाइ विशेष रुपमा मनाउने गरेको पाइन्छ।आमा र बुबा पछि गुरु सम्मानका पात्र हुन् भन्ने कुरा हामीलाई हाम्रो धर्मसंगै परिवारिक सामाजिक र शैक्षिक वातावरणले समेत आत्मसाथ गर्न सिकाएको छ ।
सिक्ने क्रम जीवन पर्यन्त चलिरहन्छ । यसर्थमा, गुरु आर्जन गर्ने क्रम पनि एक निरन्तर पक्रिया हो । तर अक्षरसंगको पहिलो परिचयमा साक्षी बस्ने गुरु र लेख्न नजान्दा हात समाएर तीनै अक्षरको बाटोमा हिड्न सधै प्रोत्साहन गर्ने गुरु साच्चै नै विशेष हुन् । औपचारिक शिक्षा आरम्भ देखि अन्त्य सम्म विशेष योगदान पुर्याउने गुरु जीवनका अन्य गुरु भन्दा भिन्न हुन् । महत्वका हिसाबले । जिम्मेवारीका हिसाबले । र सम्मानका हिसाबले । तसर्थ आज उनै गुरुहरुलाइ विशेष रुपमा सम्झौं ।औपचारिक तथा अनौपचारिक शिक्षाका प्रणेताहरुप्रति सम्मान ।
लगभग २ दशक अघि सम्म सामुदायिक विद्यालयमा माध्यमिक तहमा एउटै कक्षामा ३÷४ सेक्सन हुन्थे । १÷२ घण्टाको बाटो धाएर पनि विद्यार्थीहरु विद्यालय जान्थे । एकाध शिक्षकहरुको मात्र मोटरसाइकल हुन्थ्यो । बाटैभरी शिक्षक र विद्यार्थीको भेट हुन्थ्यो विद्यालय आउने र जाने क्रममा । प्रत्येक विद्यार्थीले आफ्ना गुरुलाइ नमस्कार गर्थे ।आत्मियता प्रकट गर्थे । गुरुप्रतिको सम्मान विद्यार्थीको हाउभाउ, बोलीचाली र आचरणमा देखिन्थ्यो । अपवाद बाहेक । केही गरि गुरुलाइ नमस्कार गर्न बिर्सियो कुनै दिन भने ठुलो गल्ति गरेझैं साथी साथीमा गफ हुन्थ्यो ।गुरुसंग कसरी ग्लानी महसुस गर्ने भनेर एउटा छलफलको विषय बन्थ्यो ।
तर, आज समय बदलिएको छ । त्यो आदर र सम्मानमा कमी आएको हो या त्यसको स्वरुपमा परिवर्तन भएको हो यो छलफलको विषय बन्नुपर्छ । किनभने गुरुको मर्म र महिमालाइ पुस्ताण्तरण गर्ने अवसरबाट हाम्रा सन्तानले बञ्चित हुनु हुदैन ।बच्चाले गृहकार्य गरेन । भनेको जस्तो अंक ल्याएन । शिक्षकहरुले अलि कडाइ गर्नुपर्यो । अलि पिटिदिनुपर्यो । कस्तो पढाउनुहुन्छ ? लगायतका गुनासा लिएर मात्र शिक्षक भेट्न नजाऔं हामी अभिभावक । विद्यालय जान थालेपछि बच्चामा धेरै राम्रा परिवर्तन र बानिको विकास भएको हुन्छ । तर हामी यसको श्रेय शिक्षकलाइ दिन जहिल्यै कन्जुस्याँइ गर्छौ । गुनासो गर्छौ तर प्रशंसा गर्दैनौं । यसले शिक्षकको मनोबलमा प्रत्यक्ष–परोक्ष रुपमा हस ल्याउँछ ।अन्त्यतः शिक्षक गुनासाका लागि हुन् भन्ने मान्यता स्थापित हुन्छ ।यसो हुन नदिन हाम्रो बानिमा परिवर्तन गरौं ।
मलाइ स्मरण छ कक्षा ५ मा पढ्दाको एउटा घटना । म पढेको विद्यालयका प्रधानाध्यपक जो गेटबाट भित्र पस्नासाथ सबै विद्यार्थी त्रसित्र हुन्थ्यौ । कुनैपनि कक्षाकोठामा एउटा मात्र कागजको टुक्र्रा देख्नुभयो भने कक्षाका सबै विद्यार्थीलाई डेस्कमाथी उठाएर नराम्रोसंग पिट्नुन्थ्यो (त्योबेला कक्षाकोठा विद्यार्थीले आफैं बडार्नुपथ्र्यो) । गल्ति एउटाले गर्ने तर सजाय सबैले पाउथ्यौ । उहाँको दैनिकी नै विद्यालय आएर प्रत्येक कक्षाका विद्यार्थीलाइ पहिलो घण्टिमा पिट्नु थियो । यो घटनाले हामी आजित थियौ । मलाइ आजको दिन सम्ममा पनि उहाँप्रति सुक्ष्म कण जतिपनि सम्मान जाग्दैन । यस्तो प्रवृत्ति र आचरणका मानिस कृपा गरेर पनि शिक्षक नबनौं । जसले सयौं विद्यार्थीको मनमा एकै पटक विकार,द्धेष र क्रुरता रोपिदिन्छ ।शिक्षकले विद्यार्थीलाइ सिकाउने हैन । स्वतन्त्रपुर्वक सिक्ने वातावरण निर्माण गर्ने हो । ताकि स्वतन्त्रताले सिकाइलाई कलात्मक बनाओस् ।विद्यार्थीलाई सृजनशिल बन्न प्रेरित गरोस् ।
आज संचार र प्रविधिको पहुँच सहज छ । धेरै विद्यार्थीका हात हातमा एन्ड्रोइड फोन छन् । यसले शिक्षक र विद्याथीर्को सम्वन्धलाई सहज र अलि बढि अनौपचारिक पनि बनाएको छ । यसको उच्चतम फाइदा लिने हो हामी सबैले । तर यहि सुबिधा शिक्षक र विद्यार्थीकोमहत्व र आदरभाबमा आँच आउँने कारण बन्नु हुदैन । अथवा अन्य कुनैपनि कारण जसले शिक्षकको महिमा अतिक्रमण गर्छ भने त्यसको निराकरण गनुपर्छ ।कक्षा १० मा मलाइ पढाउने गुरुसंग धेरैपछि भेट हुदा उहाँ भन्नुहुन्थ्यो ः आजकाल अनुसाशन हराएको छ । तिमीहरुको बेला जस्ता अनुसाशित विद्यार्थी कहाँ छन् र ऐले । विद्यार्थीलाइ सम्झाउन र गाली गर्न डराउने समय आयो । यसरी विद्यार्थीसंग शिक्षक डराउनाले हाम्रो शैक्षिक वातावरण प्रति कस्तो संकेत गर्छ ? अनुशासनहिनताले विद्यार्थीलाइ कस्तो बनाउँछ ? यसको भागिदार हुनबाट शिक्षक भाग्न पाउनुहुन्न । विद्यालयको वातावरण, अध्यापनको तौर तरीका, जीम्मेवारी बोध, अभिभावको सचेतता, स्वयं विद्यार्थीको तत्परता साथै पेशाप्रतिको सामाजिक दृृष्टिकोण लगायतका तत्वले शिक्षक र विद्यार्थीबिचको यो खाडल गहिरिदै छ ।
एकजना बाल मनोविज्ञले शिक्षकको प्रभावः अविस्मरणिय सम्झना र आत्मसम्मान नामक आलेखमा लेख्नुहुन्छ ः कक्षा ६ मा पढ्दा विज्ञानका शव्दहरु बुझ्न अफ्ठ्यारो भएको थियो । तर, जव शिक्षिकाले मलाई सबै आउँछ जसरी पहिला तिमीले बुझेको मलाई सुनाउ । तिमीलाई मज्जाले आउँछ । अनि म पुगेन भने मात्र थप्छु भन्नु भयो । केही नआउने म सबै आउँछ भदिदिएपछि त्यसै बलियो भए । अनि मौखिक परीक्षा लिनुभयो । त्यसले मेरो आत्मविश्वास बढ्यो । र म लिखित परीक्षामा सफल हुनसके । यति सानो घटनाले कति स्मरणीय सम्झना छोडेको हुदोरहेछ विद्यार्थीमा भन्ने उदाहरण हो, यो ।
कती शिक्षक छौ, जसले विद्यार्थीको मनोविज्ञान,रुची र क्षमता अनुरुप बालबालीका मैत्री वातावरण निर्माणको बोध गरि अध्यापन गर्ने कोशिस गर्यौ । वा गर्छौ ।कती विद्यार्थी छौ, जो इमान्दारपुर्वक कक्षा कोठामा बस्छौ । अनुशासनको पालना गर्छौ । र आफ्ना लागि पढ्छौ । अनि कति अभिभावक छौ, जसले आफ्ना बालबालिका लाई विद्यालय पठाए पछि नियमित रुपमा उनिहरुको पठनपाठनको बारेमा विद्यालयमा सम्पर्क गर्छौ र छोराछोरीको पढाइको बारेमा चिन्तन गर्छौ……।उत्तर सहज छ हामीसँग । हामी तिनै पक्ष थोरबहुत चुकेका छांै । अब नचुकौं ।
शिक्षण गुरुको पेशा हो । यद्यपी पेशासंग प्रत्यक्ष रुपमा थुप्रैको भविष्य गाँसिएको हुन्छ । यसैले, भविष्य कोर्ने हातहरुप्रति सधै अनुग्रहीत होऔं । गुरुहरुप्रतिको सम्मान नै सच्चा गुरुदक्षिणा हो । गुरुपुर्णिमाको अवसरमा सम्पुर्ण गुरुहरुपति शुभकामना तथा नमन व्यक्त गर्दछु ।