अनन्तराज न्यौपाने
लाग्छ, यति बेला आफू सबैभन्दा निरीह अनुभव गर्दैछन् भने ती प्रधानमन्त्री केपी शर्मा ओली हुन् । पार्टीभित्र प्रचण्ड मत ल्याएर अध्यक्ष बनेका र दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली यति बेला सबैभन्दा निरीह प्रतीत हुन्छन् ।
मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ‘भारत मलाई हटाउन लागिरहेछ’ भन्ने अभिव्यक्ति दिएर अत्यधिक बहुमतका प्रधानमन्त्री ओलीले आफ्नो निरीहता सिद्ध गरेका छन् । त्यसोत, नेपालमा कोही पनि प्रधानमन्त्री हुँदा आफ्नै बलबुता र पुरुषार्थमा भएको भनेर धक्कू लगाउने अनि पदच्युत भएपछि भारत वा चिनलाई सत्तोसराप गर्ने परिपाटी नौलो होइन । स्वयं नेकपा अध्यक्ष प्रचण्डले पनि रुक्माङ्गद काण्डपछि प्रधानमन्त्री पदबाट राजिनामा दिए र त्यस लगत्तै विदेशी प्रभुका कारण आफूले पद छाड्नु परेको अभिव्यक्ति सार्वजनिक गरेको घटना चर्चित थियो ।
ओलीले भर्खरै भारतलाई दोषारोपण गरेको घटना यही परम्पराको एउटा शृङ्खला अवश्य हो तर नेकपाजस्तो आफूलाई राष्ट्रवादी धारको भन्ने पार्टीको आन्तरिक स्ट्रेन्थ कति रहेछ भन्ने तथ्यलाई यस घटनाले छताछुल्ल पारेको छ ।
हुनत, नेपाली राजनीतिमा भारतको चासो र हस्तक्षेप कुनै नौलो र अचम्मको घटना होइन । भारतले २००७ सालको क्रान्तिदेखि नै नेपाली राजनीतिलाई मद्दत र हस्तक्षेप दुबै गर्दै आएको छ । यसमा भारतको चासो भन्दा पनि नेपाली राजनीतिकर्मीको त्वम् शरणम् प्रवृत्ति बढी सक्रिय छ भन्नु अत्युक्ति हुनेछैन । नेपाली राजनीतिकर्मी एक हुने हो भने भारतले कहिल्यै केही गर्न सक्तैन । यसको उदाहरण २०६२–६३ को आन्दोलन हो । त्यस आन्दोलनताका भारतको दूत भएर आएका करण सिंहले राजतन्त्र बचाउने ढङ्गले भूमिका खेलेका थिए । तर नेपाली आन्दोलनकारी नेताहरू एक भएर तत्कालीन राजा ज्ञानेन्द्रको वैशाख ८ को घोषणालाई अमान्य घोषणा गरे । ज्ञानेन्द्रले बाध्य भएर वैशाख १२ गते प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गर्नुपर्यो । करण सिंह चूपचाप भारत फर्किए । तर नेपालका राजनीतिकर्मीहरू भारतलाई यहाँ हस्तक्षेप गर्न बाध्य बनाउँछन् । टिकट पाउने खेलदेखि प्रधानमन्त्री र मन्त्री हुने लडाइँसम्ममा भारतीय पक्षको आशीर्वाद खोज्छन् । अनि भारत पनि स्वाद मानिमानी नेपालमा हस्तक्षेप गर्छ ।
स्वयं केपी ओली पनि भारतको लबीमा परिसकेका नेता हुन् । महाकाली सन्धि पास गर्दा ओली यसका एक नाइके थिए । गिरिजाले गरेको टनकपुर सम्झौताको विरोध गरेर काठमाडौंका रेलिङ भत्काउने ओलीले टनकपुरभन्दा राष्ट्रघाती मानिने महाकाली सन्धिको पाप बोकेका छन् । त्यसैले अहिले कता के लेनदेन नमिलेर उनी उत्तरको कित्तामा पुगे भन्दैमा उनले महाकालीमा गरेको पाप पखालिनेवाला छैन ।
पार्टीको स्थायी समितिको बैठक बसिरहेका बेला ओलीले आफ्नो कुर्सी फेरि हल्लिएको अनुभूति गरेका छन् । संसदीय दल, स्थायी समिति, केन्द्रीय समिति वा कुनै पनि निकायमा ओलीको बहुमत पुगिरहेको अवस्था छैन । स्थायी समितिको यसअघिको बैठकमा ओलीको पतन भइ नै सकेको थियो । तर उत्तरी हावाको झोँक्काले उनको कुर्सी अनायास बचाइदिएको सबैले बुझेकै तथ्य हो ।
ओलीलाई हटाउन पार्टीभित्र अर्को कसरत भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । तर उनलाई हटाउन कसरत भएकोभन्दा ओली यस प्रकरणमा धेरै तर्सिएका छन्, धेरै झस्किएका छन् । उनी आफ्नै पार्टी र त्यसका नेताबाट झस्किएका वा तर्सिएका होइनन् । यथार्थमा ओली आफ्नै सरकारले गरेका कुकर्म र काण्डैकाण्डबाट डराएका हुन् । ओली नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र कमिसनखोरी उत्कर्षमा पुगेको छ । समाजवाद उन्मुख संविधान भएको देशका प्रधानमन्त्रीबाट समाजवादी राज्य स्थापना गर्ने प्रकारले सिन्को पनि भाँचिएन ।
बरु उल्दै ओम्नीजस्ता तस्करलाई पोस्ने काम भयो । यस्ता आफ्नै धेरै कुकर्मबाट प्रधानमन्त्री भयभीत छन् । त्यसैले उनको बोलीमा दम छैन र नै हल्काफुल्का मजाक गरेर आफूलाई हलुङ्गो बनाउने प्रयास गरिरहेका छन् । बेसार खाने सल्लाह पनि उनको यही प्रयासको एउटा कडी थियो ।
निकट भविष्यमा ओलीको प्रधानमन्त्रित्व रहला–नरहला भन्ने भविष्यवाणी गर्न अप्ठेरो छ । नेपालको राजनीतिमा वाह्य हस्तक्षेप र यति बेला नेकपाको राजनीतिमा उत्तरी चिनियाँ स्वार्थ देखिने गरी प्रतिविम्बित भएको छ । ओली अहिले त्यही उत्तरको शरणमा रहेको स्पष्ट छ । तर उत्तरले सधैँ ओलीको पद जोगाइदेला भन्ने ग्यारेन्टी र वारेन्टी कसैले दिन सक्तैन । त्यसैले भारतलाई गाली गरेर ओली आफ्नो निरीहता प्रदर्शन गरिरहेका छन् ।