लीलाबल्लभ घिमिरे
५५ वर्ष लामो राजनीतिक इतिहास बोक्नुभएका ६९ वर्षीया खड्गप्रसाद शर्मा ओली नेपालका ४१ औं प्रधानमन्त्री हुन् । पछिलो पटक २०७२ सालमा प्रधामन्त्री बन्नुभएका ओली दोस्रो पटक २०७४ फागुन ३ गते दुईतिहाई मतसहित सरकारको प्रधानमन्त्री नियुक्त हुनुभयो । नेपाली राजनीतिका निक्कै अब्बल खेलाडी भनेर कहलिने ओलीको प्रधामन्त्री पद पटक–पटक संकटमा पर्दै आएको छ ।
नेकपा एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नेकपाको अध्यक्षसमेत रहनुभएका ओली पछिल्लो समय आफ्नै पार्टीभित्र सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप खेपिरहनु भएको छ । पछिल्लो पटक मधेसवादी दललाई विभाजन गर्न लागेको आरोपसँगै उहाँको प्रधानमन्त्री बालवाल बच्नपुग्यो । त्यसपछि नेपालको भुमि भारतले मिचेको ठहर गर्दै ओली सरकारले नयाँ नक्सा सदनबाटै पारित गर्दै जारी गरेपछि प्रधामन्त्रीको पद थामिएको अनुमान धेरैले गरेका थिए । तर, अहिले जारी नेकपा स्थायी समितिको बैठकमा देखिएका परिदृष्यहरुले फेरि उहाँको प्रधामन्त्री पदमाथि धावा बोल्न थालिएको छ ।
लामो समयसम्म चलेको द्वन्द्वपछि बनेको दुईतिहाइको सरकारसँग जनताले धेरै आशा गरेका थिए । तर, परिणाम त्यसो हुन सकेन । विगतमा कांग्रेसले वहुमत ल्याएको बेला जसरी आफ्नै दललमा फसेर पतन भयो, अहिले नेकपा त्यही पथमा जाने हो कि भन्ने खतरा बढेको छ । दुई पार्टी एकीकरण भएर जिल्ला तहसम्म त्यसको प्रक्रिया पुरा हुन नपाउँदै फेरि पार्टी फुट्ने हो किन्ने सन्त्रास कार्यकर्तामा देखिन थालेको छ भने एकखाले तत्कालीन एमालेका नेताहरु अहिले पार्टी एकीकरण गर्ने ओलीको एकल निर्णय नै गलत भएको निश्कर्ष निकाल्न थालेका छन् । यो पक्कै पनि राम्रो संकेत हैन ।
के अहिले केपी ओलीको विकल्प खोज्ने बेला भएको छ त ? यसबारेमा नै गम्भीर बहस आवश्यक छ । केपीको विकल्पमा को आउँछ र के हुन्छ ? भन्ने प्रश्नको उत्तर चिया पसलमा गरेका गफ जस्तो सहज छैन । मेरो विचमार ओली सरकारको विकल्प खोज्नु भनेको फेरि एउटा दललाई फुटाउनु अनि देशलाई अस्थिरतामा धकेल्नु र बाहिरी चलखेल बढाउनुभन्दा केहि पनि हुन सक्दैन । यो सरकार ढालेर नेकपालाई फुटाउदा काँग्रेसलाई फाइदा हुन्छ भन्ने सोच्नु गलत हुन्छ । आफ्नो घरको तला थपेर अग्लो बनाउने हो अर्काको घरको तला भत्काएर बराबर हुन्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो ।
एमाले र माओवादी एक हुँदाका विभिन्न सत्र होलान्, त्यसको पालना दुबै पक्षले गर्नुपर्छ । प्रधामन्त्रीले पनि धेरै ठाउँमा गल्ती गर्नुभएको छ होला । त्यसलाई सुधार गर्न सक्नुपर्छ । यो मिलेर देशलाई समृद्ध बनाउने बेला हो । हारजितको राजनीति अहिले गर्नुहुदैन । हराउने र जिताउने जिम्मा जनताको हो । समय आएपछि त्यसको हिसाव किताव जनताले आफ्ै गर्नेछन् । जतनाको ठेक्का नेताले लिने काम बन्द गर्नुपर्छ ।
आज विभिन्न बहानमा विदेशी चलखेल बढिरहेको छ । हाम्रो देशको दुर्भाग्य भन्नुपर्छ । यो देशमा जुन शक्ति बलियो भने विदेशीको निसाना त्यही शक्ति बन्नेगर्छ । इतिहास साक्षी छ जरैदेखि बलियो भएको कांग्रेस विभिन्न बहानमा सकियो । हामीले जे भनेपनि नेपालको राजतन्त्रको जरा पनि निकै बलियो थियो । त्यसलाई दरबार हत्याकाण्डका नाममा जरैबाट उखेल्ने काम भयो । अब पालो नेकपाको छ । त्यसका तानाबुना बुनिसकेका छन् । नेताहरु थाहा नपाएर होस या बुझ पचाएर होस्, उनीहरुकै गोटी बनिरहेका छन् ।
मलाई मेरैं आँखाले देखाका दिनको याद आउँछ । नेपालमा जव माओवादी जनयुद्ध सुरु भयो । माओवादीको पहिलो निशाना पुराना पञ्चहरु भए । त्यस बेला काँग्रेस मैन बस्यो । उसलाई लाग्यो हामीले गर्न सकेका थिएनौं, माओवादीले गरे । ठिकै भयो । पञ्चहरु मारिए कुटिए, भागे, पलाएन भए जे होस्, गाउँबाट उठिवास लाग्यो । त्यसपछि माओवादीले कांग्रेसलाई निसाना बनाए । त्यो बेला एमालेले खुच्चिङ मचायो । हामीले गर्ने कारवाही कांग्रेसलाई माओवादीले गरे जे गर ठिक गरे भने । कांग्रेसीहरु पनि आफ्नो आधारभुमि छोड्न बाध्य भए । त्यसपछि पालो आयो एमालेको, माओवादीले एमालेलाई पनि छोडेन्न् ।
यो तितो यर्थात यहाँ पनि लागू हुनसक्छ । हिजो विदेशी शक्ति केन्द्रले कांग्रेस सक्यो, त्यसपछि दरबार सक्यो । अब अन्तिम पालो नेकपाको छ । त्यो पनि सफलताको बाटोमा छ । यसले कोही प्रधामन्त्री बन्लान्, कुनै दल निर्वाचनमा दुई चार सिट बढाउलान् तर सबैले जितिराख्दा फेरि देश र व्यवस्थाले हार्नुपर्ने दिन आउँदैन भन्ने ग्यारेन्टी कसैसँग पनि छैन । नेपालीमा एउटा उखान छ ‘श्रीमती मरी भन्दा पनि काल पल्केला भन्ने डर ।’ श्रीमतीहरु मारिरहेका छन्, काल पल्किसकेको छ । आगे नेताहरुको मर्जी ।