कोरोना भ्याक्सिनको मानिसमा परीक्षण सुरु

एजेन्सी । जनावरमा सफल परीक्षण भएसँगै बेलायतले ३०० मानिसहरूलाई कोभिड १९ (कोरोना) विरुद्धको भ्याक्सिन परीक्षण गर्दैछ । लण्डनको इम्पेरियल कलेजमा ३०० मानिसहरूमा यो खोप परीक्षण गर्न लागिएको हो।

प्राध्यापक रोबिन सटोकले यो परीक्षणको नेतृत्व गर्दैछन्। जनावरमाथि गरिएको परीक्षणमा यो भ्याक्सिन सफल रहेको र प्रतिरोधात्मक क्षमता वृद्धिमा सहयोग पुग्ने देखिएको बीबीसीले जनाएको छ । बेलायत यतिखेर कोरोना भाइरसविरुद्धको औषधी आविष्कार र पहिचानमा निरन्तर लागिरहेको छ।

केहीअघि अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले दम र बाथको समस्या निदानमा प्रयोग गरिने डेक्सामेथासोन नामक औषधी कोरोना संक्रमितको उपचारमा लाभदायी हुने पुष्टि गरेका थिए। यतिखेर विश्वका १२० स्थानमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउन प्रयास भइरहेको छ। यी मध्ये १३ स्थानमा परीक्षणको तहमा पुगिसकेको छ।

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया क्याथी यो परीक्षणमा सहभागी हुने पहिलो मध्येकी एक स्वयंसेवक हुन्। क्याथी इम्पीरीअल कलेजको खोप परीक्षण कार्यक्रममा स्वयंसेवक बनेर सहभागी भएकी हुन् । उनले कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी हुन पाउँदा खुसी रहेको बताइन् ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ। त्यसमा ६ हजार मानिसहरू सहभागी हुनेछन्।
इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ।

यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्वविद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन्। राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागतयोग्य भएको बताए।

धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर वा त्यसको अंश प्रयोग गरेर बनाइएका छन्। तर, इम्पीरीअल कलेजले बनाएको खोप भने भिन्न छ। यसमा कोरोनाभाइरसको नक्कल गर्ने कृत्रिम आरएनए अर्थात् आनुवंशिक संरचना प्रयोग गरिएको छ।

एक पटक मांसपेशीमा लगाएपछि आरएनएका प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई तिनले भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशित गर्छन्। यसबाट प्रतिरक्षा प्रणालीले कोभिड(१९ वा सङ्क्रमण नभईकनै कोरोनाभाइरसलाई चिन्न र परास्त गर्न सिकाउँछ।

अहिले चीनमा पाँच, अमेरिकामा तीन, बेलायतमा दुई, अस्ट्रेलिया, रुस र जर्मनीका एक–एक स्थानमा तयार गरिएको खोप परीक्षणको तहमा पुगेको बताइएको छ । अहिलेसम्म विश्वभर ९४ लाख ५ हजार ५०४ जना संक्रमित भेटिएका छन्। यी मध्ये ४ लाख ८२ हजार १०९ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा खराब असर देखिएको अमेरिकामा हालसम्म २३ लाख ८० हजार ४५२ जना संक्रमित फेला परेका छन् भने एक लाख २१ हजार ९७९ जनाको मृत्यु भएको छ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमित संख्या ११ लाख ८८ हजार ६३१ पुगेको छ। त्यहाँ ५३ हजार ८३० जना संक्रमितको मृत्यु भएको छ। रूसमा अहिलेसम्म ६ लाख ६ हजार ४३ जना संक्रमित भेटिएका छन्। आठ हजार ५०३ जना संक्रमितले ज्यान गुमाएका छन्।

संक्रमित संख्याका हिसाबले भारत चौथो स्थानमा छ। त्यहाँ अहिलेसम्म चार लाख ५६ हजार १८३ जना संक्रमित भेटिएका छन्। १४ हजार ४७६ जना संक्रमितको मृत्यु भैसकेको छ। (बीबीसीको सहयोगमा)

बिहिबार, ११ असार, २०७७, बिहानको १०:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर