काठमाडौं । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभा रहेका सबै दलहरु सहमत भएका छन् ।
संविधान संशोधन प्रस्तावमाथिको मंगलबार भएको सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । छलफलमा सहभागी सांसदहरुले भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताए ।
समाजवादी जनता पार्टीको तर्फबाट राजपाका सांसद लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गर्दै आफुलाई मात्र राष्ट्रवादी नठान्न चेतावनी दिनुभयो । नेपालको भौगोलिक अखण्डता र स्वाधिनताप्रति कसैको फरक मत नरहेको स्पष्ट पार्दै उहाँले सरकार पक्षबट अनर्गल प्रचार भएको भन्दै आपत्ती जनाउनुभयो ।
यस्तै संघीय समाजवादी दलका सांसद राजेन्द्र श्रेष्ठले संशोधन विधेयकलाई समर्थन गर्ने बताउनुभयो । राष्ट्रिय स्वाधिनताका विषयमा कसैसँग सम्झौता नहुने भनदै उहाँले विधेयकलाई समर्थन गर्नुभयो ।
नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापालगायतले यसअघि संसदमा पेश गरेका संकल्प प्रस्तावलाई संयुक्त रुपमा छलफल गराएर पारित गराउनसमेत माग गर्नुभयो । अधिकारीले गत पुसमै कालापानीबाट भारतीय फौज हटाउन संकल्प प्रस्ताव पेश गर्नुभएको थियो । गत वैशाखमा कांग्रेसका गगन थापा र नेकपाका विद्या भट्टराईलगायतका सांसदले पनि सोही आशयको संकल्प प्रस्ताव पेश गरेका छन् ।
निशान छाप परिवर्तनसम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँडले पनि समर्थन जनाएका छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालले नक्सा प्रकाशन र संविधान संशोधनमा कुनै एक व्यक्तिको देवत्वकरण हुन नहुने बताउनुभयो ।
छलफलमा भाग लिदै जनमोर्चाकी दूर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो । भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।
सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्सा निशान छापमा समावेश गर्न जेठ ९ गते संशोधन प्रस्ताव संसद सचिवलयमा दर्ता गरेको थियो ।