आदर्श त मरिसक्यो कामरेड !

 अर्जुनकुमार आचार्य

अभाव बुझ्ने, इमान राख्ने, गरिबी बुझ्ने, दया राख्ने मेरो आदर्श त कामरेड मरिसक्यो । म खोजिरहेको छु, त्यही आदर्श जसले जनता बुझ्थ्यो, गरिवि बुझ्थ्यो र अभावका विरुद्धमा आवाज ओकल्थ्यो । तर, कामरेड त्यो आदर्शवान व्यक्तित्व त मरिसक्यो । म आफैंलाई ठान्थे त्यो आदर्श म मा पनि छ कि ? तर, होइन कामरेड मेरो आदर्श पनि मरिसक्यो । अहिले म कमिसन खोज्छु, अहिले म चाकडी गर्छु, चाप्लुसी गर्छु, पद, पैसा र शक्तिको पछि दगुर्छु । मैले परिवार चलाउनु छ, सम्पत्ती कमाउनु छ, त्यसबेलाको मेरो प्रतिबद्धता त इतिहास भइसक्यो कामरेड । त्यही भएर कामरेड मेरो आदर्श मरिसक्यो ।

म नै आदर्शबाट च्युत भइसकेपछि अब अभाव, गरिबी र नागरिकहरूको अनिश्चित भविष्यको जिम्मा लिन्छौं, सबैलाई गाँस–बास–कपास–शिक्षा–स्वास्थ्य र रोजगारी दिन्छौं भनेर कसम खाने कम्युनिस्ट पार्टीका नेता खोज्न काहाँ जानु ? त्यही भएर कामरेड मलाई अचले लाग्न थालेको छ, मेरो मात्रै होइन देश बनाउने सबैको आदर्श मरिसकेको छ । अब अर्को आदर्श जन्माउनु पर्छ ।

जनताको वास्तविकता बुझाउन ढाक्रेको नाजुक अवस्था देखेर दया लाग्ने पिताजी कृष्णप्रसाद कोइरालालाई काहाँ भेट्टाउनु अब । दुःख र पीडाले भरिएको लाचार व्यक्तिको अनुहारमा खुशी हेर्न चाहने लक्ष्मीप्रसाद देवकोटा अब काहाँ भेट्टाउनु ? एउटा महान् सपना बोकेर अगाडि बढेका यात्रीहरु युद्ध र संघर्षमा गुमेको क्षण सम्झिएर धुरुधुरु रुने पुष्पकमल दाहाल (प्रचण्ड) र डाक्टर बाबुराम भट्टराई अब काहाँ भेट्टाउनु ? जनताको लोकतान्त्रिक आन्दोलनलाई सपना ठानेर अगाडि बढ्ने विपी कोइराला, मदन भण्डारी या मनमोहन अधिकारी अब कसरी भेट्टाउनु ? उल्लेखित कतिपय नेताको भौतिक शरीर उसैबेला म¥यो तर, उनीहरुसहित जिवित नेताको आदर्श त दुई तिहाइ मत आएपछि मरिसक्यो कामरेड ।

विवश, लाचार भई माग्नेको अनुहारमा खुसी दिन म किन सक्दिन ? पद, प्रतिष्ठा र शक्तिको लोभलालचमा पार्टी फोर्न उद्धत हुनेहरुलाई ‘थु’ भन्न म किन सक्दिन कामरेड ? यस्तै लोभी पापीको माध्यमबाट ‘लालका विरुद्ध लाल’ प्रयोग गर्ने रुपलाल विश्वकर्मा जन्माउन हामी किन सक्दैनौं कामरेड ? त्यसैले त मलाई लाग्छ, हाम्रो आदर्श त मरिसक्यो ।

आन्दोलन र क्रान्तिको दौरानमा घाइते भएकाहरुले पानीको घुट्को नपाएर छट्पटिएको हेर्ने हाम्रा आँखाले अहिले ति दृश्यलाई कल्पना गर्नसमेत किन सक्दैन ? आँगनको डिलमा बसेका किसानलाई युद्ध अपराधि र आतंककारीको बिल्ला भिराएर संगीन रोपेको किन बिर्सिएको ? सँगै हिंडेको मेरो सहयात्रीको मृत्युको खबर सुनाउन उनको घर जाँदा आमा भक्कानिएर रोएको याद मलाई किन नभएको ? आँशुलाई आक्रोशमा बदलेर ति सहयात्रीको सपना पुरा गर्ने प्रतिबद्धता अहिले किन बिर्सिएको ? युद्धको तयारी गरिरहँदा आफू मरे आफैं पुरिने खाल्डो खन्ने र आफ्नो लाश बोक्न आफैं बाँस लिएर जनताको मुक्तिको लागि लड्न दुश्मनको बंकरमा हामफाल्ने मेरो आदर्श र प्रतिबद्धता मैले नै किन बिर्सिएँ कामरेड ?

जनताको शासन स्थापित गराउन सुशासन, सभ्य, सुसंस्कृत समाज निर्माण गर्न भनेर हिंडेका हामीले आफ्नो परिवार, असक्षम नातागोता, साला साली, चुल्ठेमुन्द्रे, तस्कर, कमिसनखोर, भ्रष्ट र जनता विरोधीलाई किन च्यापेको कामरेड ? एउटा आदर्श मरेको भएपनि अर्काे आदर्श जन्माउन किन नसकेको ? महान् चिनिया सांस्कृतिक क्रान्तिको कुरा पढाउने हाम्रा आदर्शहरु अहिले कसले पढ्दैछ कामरेड ।

विश्वका कतिपय शक्तिशाली शासकहरुले आफ्नै नैतिक धरातल आफैं बनाएका छन् । जनताको विश्वास जितेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक आदेशमा भारतको त कुरै छोडौं नेपालमा पनि बत्ती बल्छ, थाल ठटाइन्छ, नेपालका प्रधानमन्त्रीको आव्हान नेपालमै उपेक्षा हुन्छ, किन ? हाम्रो नैतिक धरातल काहाँ छ ? कहिले बुझ्ने कामरेड ? मोदी भारतको प्रधानमन्त्री भइरहँदा मोदी परिवारको कुनै पनि सदस्य शक्तिको आडमा फाइदा लिन मान्दैनन्, प्रधानमन्त्री निवासमा जाँदैनन् । पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बनेपछि ५ सय २४ जनाबाट घटाएर आफ्ना लागि दुईजना सहयोगी मात्र राख्दा भयो । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुट साइकल चढेर राजा भेट्न जान्छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा अहिले पनि क्याम्पस पढाउन जान्छन् । अनि हाम्रा नेता ? माहामारीको बेला औषधि खरिदमा अनियमितताको खेल, भुकम्पको बेला जस्तापाता खरिदमा कमिसनकै खेल, माहामारीको बेला निवासहरुमा लाखौंको फर्निचर, कार्पेट, गलैंचा, पलङ ? यो के हो ? क्रान्तिको समयमा भए गरेका काम र प्रतिबद्धताहरुबारे नेताहरु सोच्छन् कि सोच्दैनन् ? हिंजो धूरुधूरु रोएको भिडियो अहिले हेरेर केही सोच्छन् कि सोच्दैनन् ? क्रान्ति र आन्दोलनको समयका आफ्नै ख्याउटे अनुहार र शरिर हेरेर तुलना गर्छन् कि गर्दैनन् नेताहरु ? त्यसबेला फुटेका खुट्टा, लगाएको फित्ते चप्पल, मैलो र पुरानो बस्त्र, फुस्रो अनुहार जनतासँग मिल्थ्यो । तर, अहिले न त नेताको अनुहार जनतासँग मिल्छ । न त जीवनशैली र आदर्शनै मिल्छ । अब भनौं त कामरेड हाम्रो आदर्श अझै जिवित छ ?

राष्ट्रियताको विषयमा बोल्यो परिवार सक्ने धम्की आउँछ । शासकको मनोवृत्तीको विरुद्धमा बोल्यो त्यस्तै धम्की आउँछ । भुइँफुट्टा नेताको चल्तिफूर्ति हे¥यो यो पृथ्वीमा बाँचिनसक्नुु छ । अब मेरो आदर्श मैले मात्रै बचाउनु पर्ने हो र कामरेड ? त्यसैले मैले पनि मेरो आदर्शलाई मारिदिएँ । अर्को आदर्श जन्माउने कोही छ ? आव्हान गर्नुहोस्, त्यही बेला काहाँकाहाँ बमबाड गर्नुपर्ने हो अघि लागौंला ।

मङ्गलबार, २० जेठ, २०७७

प्रतिक्रिया

  1. ATI ramro rachana Ra lekh ko lagi mero pyaro Bhai laai dherai Maya Ra congratulations feri Pani ATI ramro lekh rachana haru lekhnu Ra mahan hunu aru he bhaye Pani mero Bhai aadarsa wan hunu ….baburam Ra prachanda ta Mari sake xhaina aadarsa gumayera Gu khaisake……

प्रतिक्रिया:

सम्बन्धित खवर