लोड हुँदैछ...

मेनु

इच्छुकका चर्चित दुई रचना

इच्छुकका चर्चित दुई रचना

२०५९ जेष्ठ ६ गते गिरफ्तार गरी महेन्द्र पुलिस क्लव काठमाडौंको हिरासतमा अत्यन्त कठोर तथा अमानवीय यातना दिएर हप्ता दिनपछि ( २०५९ जेष्ठ १३ गते हत्या गरिएका प्रगतिशिल साहित्यकार तथा अग्रज जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँद्वारा रचित दुई कविता  प्रकाशन गरिएको छ ।

प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिंडिरहन्छौँ ।

ओ शासक र प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ ।

उठाइरहन्छौँ हामी तिम्राविरूद्ध संघर्षको हातहरू
कसिरहन्छौँ हामी तिम्राविरूद्ध विद्रोहका मुठ्ठीहरू
ओ अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

बन्दी र चन्द्रागिरि

विजयको अन्तिम दिनसम्म
सबै रहौंला वा नरहौंला पछि हामी
र,सायद यो खुसीको हर्षित क्षण
हम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिदा लेखिँदै भोलि अपुर्ण रहन सक्छ ।
तर, गेष्टापोको ग्याँस च्याम्वर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलाशाहरु
सधैँ सधैँ जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरु प्नि
सधैं सधैं जीवित रहनेछन्
वस्तविक जीवनमा
को मर्नेछ र को बाँचिरहने छन्
त्यसको अन्तिम फसला समयले गर्नेछ,
र भन्नेछ–
जो देश र जनताको लागि बाँचे
ती मातृभूमीका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरु प्नि
सधैं–सधैं जीवित रहनेछन् ।
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरा राष्ट्रका कुलङ्गारहरुको विरुद्ध
मुठ्ठी उठाएर मुर्दावाद१ भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरु हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिकार्न किन नपाउनू ?
डम्पिङ साइटको फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरुलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।