कविताः श्रमिक दिवस

पट्ट फुटेका हातखुट्टा
घामले डढेर कोइला जस्तै शरिर
स्याहार नगरेको केश
अमिलो गन्धले परै चिनारी दिने
परिचित जिउडाल
जीवन धान्नकै लागि
हस्याँङफस्याँङ र धपेडी सधैंको उस्तै।
चार गाँस अन्न एक सासमा निलेर
बनिबुतो गर्न मालिकको आदेश अनुसार दाखिल हुनैपर्ने
बिष्ट हजुर र महाजनको मेलोमा।
जहान परिवारमा खुसी ल्याउने र
आफू पनि त्यही खुसीमा रमाउने
उत्कट अभिलाशा लिएर
मजदुरी गरेर आफ्नै पौरखमा
स्वभिमानिपूर्वक बाँच्ने
खुसीको धनि पुँजीको गरिब
ऊ श्रमिक ।

थाहा छैन उसलाई आज पनि
खै मार्क्सले के भनेका थिए
लेनिनले के गरेका थिए
माओ कसो गर्नु भन्थे
हाम्रा शासक के गर्नु पर्छ भन्छन्।
फगत थाहा छ, उसलाई
बिहान ८ बजे आउनु है भनेका छन् साहुले
एक पाथी अन्न लैजालास् र जहान परिवारलाई
पेटभरि खुवाउलास्।
खाजा पनि स्पेशल हुन्छ भोलि त,
बिहानको खानामा दाल तरकारी अघाउँजी पाउलास्
ढाटिस् भने त फेरि तेरो ?
हल्का दागा धरेको पनि पो छ त
उसको श्रम कब्जा गर्न
खुरुक्क टेर्नुपर्छ उसले
किनकि उ श्रमिक।

सभ्य भाषामा उसको नाम बोलाइदैन
बिरामी छु हजुर आज भन्न
छुट छैन उसलाई
बनिबुतो र मेलापातको खेताले जीवन
महाजनको सेवामा समर्पण नै
महान् त्याग हो, उसको
रोग, भोक र शोक अनन्तमा छन्
काम, आराम र मनोरन्जनको नारा त
सुनेको पनि छैन उसले
यो त साहुले भाषण गर्दा
बोल्ने तुक्का जस्तो लाग्छ, उसलाई
किनकि उ श्रमिक हो।

थाहा छैन बिचरालाई
मजदुरहरुको पनि बोलिदिने के–के जाति हुन्छ
त्यसको नेतृत्व हुन्छ
त्यो दरबारमा बस्छ
चिल्लो कारमा चढेर हिड्छ
अनि मालिकसँग मिलेर
मालिकहरुको पनि मालिक हुन्छ
त्यसले शुभकामना पनि दिन्छ
वर्षमा एक दिन मजदुर दिवस
ठुल्ठुला महलमा भब्य रुपमा मनाउँछ
केक काट्छ, सिम्पान्स्की उडाउछ ।
थाहा होस् पनि कसरी
बर्षै दिनसम्म श्रम दिवस मानउने
उ श्रमिक हो।

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर