सरकारले हाम्रा परिवार पनि हेरोस्

 प्रकाश लुईटेल

कोरोना भाइरसका कारण भईरहेको लकडाउन वैसाख ३ गतेबाट पनि लम्बिने निश्चित छ । अर्काको देशमा परिश्रम गर्न आएका हाम्रो परिवारमा आउने सङ्कट कस्ले हेर्छ ?

बिदेशमा हुनेको परिवारलाई राहात दिनु हुदैन ? हो, मेरो पनि भनाई त्यै हो । नेपालमा हुने पनि सबै राहात लिनपर्ने अवस्थाका मान्छे छैनन् । यस्को मतलव श्रमजीवीहरु जसले आजको छाक आजको कामले निर्धारण गर्छ उनीहरुको सङ्ख्या पनि उतिकै छ । तर, हाम्रो अवस्था न देखियो न लेखियो । समाजसेवीहरुलाई चिन्ता केवल हाईलाईट हुने छ । समाधान गर्ने चेत कसैमा देखिएन । यस्कारण यो समस्या आफैमा भयानक समस्या बन्दैछ । यस्लाई पनि सम्बन्धित निकायले बुझ्नपर्छ । यहाँबाट पैसा हाल्ने अवस्था छैन । नेपालमा निकाल्ने ठाउँ छैन । बिदेशमा पनि कतिको काम छैन , काम हुने सग पनि अहिले दाम छैन । गाउँमा ऋण माग्ने ठाउँ छैन, यो अवस्थामा गाउँमा पनि पैसा छैन ।

प्रायः गाउँमा पैसा घरमा राखेको हुदैन आपतकालिन अवस्थाको लागि राखिएको थोरै खर्चले यतिका दिनसम्म दुःखसुख जीबन चल्यो । नचिनेको ब्यापारीले बाँकी दिदैन । माग्न पनि अफ्ठ्यारो नै हुन्छ । सरकार समाजसेवी बुद्धिजीवीले यो बिषय बेलैमा सोच्न पर्ने बिषय हो । हामी त जसोतसो एक छाक खाउला । कहिले नखाउला । यो बिश्वको समस्या हो, हामी बुझ्छौ । परदेसिएका सबै एक्ला छैनौं, हाम्रो पनि परिवार छ । साना नानीहरु र बुढाबुढी छन् । तिनिहरुलाई त दुईछाक खुवाउन पर्छ होला । हामीले सम्बन्धित निकायसँग फ्रिमा देउ, राहात देउ भनेका हैनौँ । हुनसक्ने सम्मको उपाय देउ । कि लकडाउन खुल्ने मितिसम्मको लागि ऋण देउ या आपत हट्ने समयसम्मको बन्दोबस्त गरिदेउ भन्नुपर्ने भयो ।

हामी कलिला छोराछोरीको आँखामा उपाय नलाग्ने ७ समुद्र पारीबाट भोकको आँसु हेर्न सक्दैनौं । सम्बन्धित निकायले पनि यो अवस्था आउन दिन्छ भन्ने छैन र आजसम्म यो अवस्था आएको पनि छैन । नआओस् भन्ने कामना पनि गर्छौ तर भोलि आउछ । आउनसक्ने सम्भावनालाई कसैले रोक्न पनि सक्दैनौं । बेलैमा सम्बन्धित निकायले यता ध्यान दिँदा ठूलो बिपतबाट बच्न सक्छौं । हामी नेपाल सरकारको नियम पालना गर्छौ गरिरहेका छौं । परिवारलाई पनि पालना गर्न भन्छौंं, भनिरहेका छौं । हाम्रो समस्या सरकारले गम्भिर भएर मनन् गरोस् र गर्न पर्छ ।

बिदेसिएका युवाहरु को परिवारमा पनि यो आपतकालिन अवस्थामा सहयोग पुगोस् । राहात दिन सरकारले सक्दैन यो कुरा आम परदेसिएका युवाले मनन् गरेका छौं । हामी अहिले राहत माग्ने अवस्थामा आईपुगेका पनि छैनौं । यस्को मतलव राहत लिनेहरु छैनन्, पाउनुपर्ने अवस्थाका युवा छैनन् भन्ने पक्कै हैन । यहाँ पनि अलपत्र सपना कोठामा बन्द छन् । यो समस्या बिदेसिएका सबैमा लागु नहोला । तर, धेरैमा देखिन्छ । ढिलोचाडो मात्र हो । सबैले यस्लाई मनन गरौ, हाम्रोतर्फबाट हुनसक्ने सहयोग हामी पनि गर्नेछौं । हातमा हात, काँधमा काँध लगाएर कोरोना सङ्क्रमणको सङ्कटबाट मुक्त बनौं । (लेखक मलेसियामा छन्)

मङ्गलबार, ०२ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर