रेवती ढुङ्गाना ‘रफ्तार’
गाउँमा साँढेहरुको बिगबिगी यति बढ्यो कि खपि नसक्नु नै भएको थियो। एउटा साँढे त यस्तो थियो, जसले तीन÷चार वटालाई अघिपछि लगाएर हिड्थ्यो । अनि निर्धा मानिसहरुको घरमा गएर त्यस घरका मान्छे र तिनले लगाएका सारा बालिनाली नष्ट गरेर बिल्लिबाठै बनाउने गर्दथियो । पुरानो अभ्यस्त थियो उ । बिचमा अलिकबार त्यसको बिध्वङ्स खच्किएको थियो। कुन्नि के दैबिशक्ति पाएछ, पछिल्लो समय त उधुमै मच्चाउन थालेको थियो।
सेते साइलोले पनि यसको मार अधिक खेपिरहेको थियो। उ बिस्तारै उमेरमा पनि जबान हुँदै अएको थियो । यसैबीच एकदिन उसको घरमा सरसल्लाह भयो कि अब उसको विवाह गर्ने। घरसल्लाह बमोजिम पारि गाउँबाट एउटी कन्या विवाह गरेर भित्र्यायो, सेतेले। यता गाउँमा साँढेहरुको रजाइ झन बढिरहेको थियो। सम्पति हुनेहरु गाउँ छाडेर धमाधम सहरतिर बसाइ जाने क्रम तीब्र थियो। गाउँ निर्धन र कमजोर मानिसहरुको आश्रयस्थल मात्र भएको थियो। बिस्तारै गाउँमा बालिनाली लगाउन रोकिन थालेको थियो । युवा जति परदेशमा मजदुरी गर्न जाने र असहायहरु मात्र गाउँमा रहन थालेका थिए । ताकि मजदुरी गरेर ल्याएको सानो रकमले गुजारा चलाउने अवस्था थियो, गाउँलेहरुको।
यसरी गुजारा चल्ने नदेखेपछि एकदिन सेते साइलाले अब विदेश गएर बाकसभरि पैसा कमाएर ल्याएर सहरतिर बसाइ जाने निधो गर्यो। भरखर विवाह गरेर ल्याएकी कलकलाउदो उमेरकी श्रीमतिलाई भन्यो यसरी जीवन नचल्ने भो, साँढेहरुको बिगबिगी झन संगठित हुँदैछ । अहिले त चार÷पाँच वटा छन्, अझ यी बढ्छन जस्तो छ। यिनको ढाड खुस्काउन नि सकिएन सिङ भाच्न पनि सकिन्न बरु म परदेश गएर २÷४ वर्षमा एक बाकस पैसा कमाएर ल्याउछु अनि हामी पनि सहरतिरै बसाइ जाउला है। श्रीमतिले पहिले त मानेकी थिइनन् । तर, नियतिले उनलाई मान्न बाध्य बनायो।
सेते साइलो मनभरी पैसा कमाउने उमङ्ग र गहभरि परदेशिनु पर्दाको आँशु लिएर बिदेसतिर लाग्यो। यति राम्रो स्वर्ग जस्तो मातृभुमि र कलकलाउदो उमेरकी श्रीमती तथा सहाराको खोजी गर्ने उमेरका बाबुआमालाई सम्पति कमाएर सुख दिने सपना देखाएर मरुभुमिको देशमा मजदुरी गर्न जानु पर्दाको पीडा त कहालिलाग्दो थियो नै। उसको आफुलाई खान लाउन पुग्नेसम्मको कमाइ थिएन, त्यहाँ। असाध्यै पिडामा थियो, ऊ।
त्यही साल गाउँमा ठुलो खडेरी पर्यो। उसले यो बेलासम्म कुनै रकम कमाएको पनि थिएन। उसले धेरै चिन्ता लिन्थ्यो। यसै रित्तै घर फर्किनु पर्ने त होइन। बुबाआमालाई के भन्नु, श्रीमतिलाई कसरी सम्झाउनु, आफन्त नातागोता र साथिभाईले के भन्ने हुन ? यता गाउँमा भोकमारी सुरु भईसकेको थियो। सरकारले पाँच किलो चामल र एक किलो दाल बाढ्न थालिसकेको थियो। राहत लिनेको ठेलामठेल थियो। उसकी श्रीमति पनि दाल चामल लिन ठेलामठेल गर्दै लाइन लागिरहेकी थिइन्। अकस्मात खबर आयो सेते साईलाको सुतिरहेको ठाँउमा चार दिन अघि नै प्राण गईसकेको रे । अनि साथिभाईले बाकसमा काठमाडौ पठाएका छन रे । बाकस बुझ्न जानु। गाँउमा साँढेहरुको बिगबिगि उस्तै थियो ।