पार्टीको होइन देशको झण्डा बोकौं

 रीता नेउपाने

अहिलेको अवस्था मानव सभ्यता नै समाप्त हुने हो कि ? मानव जाति देश समाज, पार्टी परिवार र व्यक्तिको अस्तित्व रहला की नरहलाको स्थितिमा छ । अहिले हामीले सोच्ने आफू बाँचौं र सकेसम्म मानवजातिको रक्षा गर्न एकताबद्ध हुने हो जस्तो लाग्छ मलाई । यो अवस्था न त आम चुनावको हो जँहा आफ्नो पार्टीको राम्रोको लागि अर्को पार्टीलाई गिराइयोस् । सामाजिक सञ्जाल केहि अनलाइनका समाचारहरु पढ्दा लाग्दैछ, मेरो देशमा चुनाव नजिकिदैछ । सामाजिक सञ्जालमा आफ्नो पत्रिकाका लागि दार्शनिक बन्नेहरु एकपटक हामीले किन नसोच्ने ?
देश र जनता भए भोलि पार्टी र राजनीति रहन्छ । अहिलेको अवस्थामा राहत बाँडिनु एकातिर राजनीति बनिरहेको छ भने अर्कोतिर बाध्यता । दिनको कम्तिमा ७०० रुपैयाँ कमाउनेहरुले जहिले पनि कमायो, सिध्यायो गर्ने हो भने उ कहिल्यै गरिबीको रेखामाथि आउन सक्दैन । ७ सय दैनिक कमाउँदा आधामात्र जम्मा ग¥यौं भने उसमाथि कुनै राजनैतिक दलले राजनीति गर्न सक्दैन । तर, उ आफै शिकार बन्नपुग्दछ त खेल्नेहरुले खेल्नु कुनै नौलो कुरै होइन । आफ्ना जनताहरु भोकै नबसुन् यो राज्यको पहिलो कर्तव्य हो । तर, बाँचिएछ भने राज्यले यस्तो नीति ल्याओस् की जनता ६ महिना यस्तो अवस्था आएछ भनेपनि धान्ने बनोस्, ता की उनीहरु कसैको आगामी चुनाव प्रचारका साधन नबनुन् ।

गत स्थानीय निर्वाचनको उम्मेदवार, त्यो पनि पहिलो पटक धेरै रणनीतिहरु थाहा पाइएन । परिणाम एकदमै झिनो मतान्तरको शिकार बन्नुपरो । त्यसपछि संघीय चुनावमा आफू आवद्ध पार्टी जिताउन दिनरात नभनी मेहनत गरियो । तर, अन्तिमताकाको दृष्यले मन छियाछिया भयो । चना, चिउरा, मासु र रक्सीमा बिक्ने जनताले कस्तो नेता जिताउँछन् ? अनि जिताएका नेताले काम गरेनन् भनेर सामाजिक सञ्जालमा तिनीहरु दार्शनिक बनेर भित्ता रुङ्गाउँछन् । भ्रष्ट्रचार गरे भनेर कुर्लिन्छन, पार्टीको होइन देशको झण्डा बोकेर सहि नेतृत्व छनोट गर्न चना, चिउरा, मासु र रक्सीमा नबिकेर त हेर देशको गाउँको ठाउँको, विकास भएरै छाड्छ नि । मात्र गर्नुपर्ने जनताले बुझ्नुछ को सक्षम र को असक्षम ? त्यो बुझाउनतिर नेताहरु लागेको भए आज यो अवस्थामा न त जनताले राहत माग्थे न त नेताले होडबाजी नि गर्नुपर्छ । पानी परेको काम छोड्न छोडाउन समय लाग्छ । तर, असम्भव भने छैन ।

यो कुरा कसले बुझ्ने ? बुझाउने कसले ? बुझ्नेहरु बुझ्नका लागि तयार छैनन् यसकारण कि अगाडि ठिक्क पनि नेताहरुले भित्रभित्रै फोन गरेर उचाल्छन् । बुझाउनेहरु अगाडि बढुन् त सारा उनीहरुकै पछाडि लाग्छन्, कसरी हुन्छ गिराउन, खसाल्न सकियोस् । त्यसैले दलका झण्डा बोकेर बस्तिका मनहरु नकुड्याँउ, राष्ट्रको झण्डा बोकेर मानव बचाउँ अभियानमा लागौं ।

यसचोटीको राहतको कुरालाई अझै थोरै जोड्न मन लाग्यो । किनकी म बसोबास गर्ने पालिकाको राहत समितिको सदस्यमा भाग्यले नाम परो । नाम परेको कुराको पनि भद्दा मजाक उडाइयो । तर, धेरैले गिराउन खोज्दा, हेप्न खोज्छन् । नराम्रो पनि भद्दा तर आफैप्रति गर्व गर्दै हाँसेर बाँच्न सिकेको मान्छे, मलाई कुनै कुराले वास्तै लाग्दैन । कुरा काट्नेले सहि काम गरेपनि बे–सहि काम गरेपनि कुरा काट्छन् नै । सोहि कुरा मनन् गर्छु । पशुसरह मान्छे एउटा बन्द कोठामा अनिश्चित कालसम्म बस्नुपर्ने बाध्यतामा, मध्ययम वर्गीय जो न त माग्न सकछन् । न कसैको सहयोग छ, घर त छ तर घरमा खाने केहि छैन । पसल खुल्ला छ तर, हातमा पैसा छैन । यो समूह र दैनिक ७ सय कमाएर पनि बचत नगर्ने समूहलाई खानाको व्यवस्थापन गर्न आफ्नो ज्यानको परवाह नगरी लाग्ने हामी र जनप्रतिनिधिहरुलाई सामाजिक सञ्जालमा आएका व्यङ्ग्यात्मक दर्शनहरुले झन मनलाई मार्ने गरेको छ । तरपनि त गर्नुछ ।

पालिकाको सर्वदलीय राहत समिति, वडा स्तरमा बनेका सर्वदलीय राहत समिति मिलेर नाम टिप्न गाउँघर जान्छन् । अनौठा मानिसहरुको नामावली प्राप्त हुन्छ, हातमा ४०–५० हजारको मोवाईल, गलामा सिक्री, घरमा टन्न अन्न, २–४ विगाहा खेतीबारी भएकाहरु सरकारले दिएको हो हामीले किन नपाउने ? भन्ने, नाम टिप्न गएकालाई टिप्न नदिने गरेको पाइयो । नाम कलेक्सन पछि पुनः सर्वदलीय मिटिङ राखिन्छ, ३ सय ५० जना चाहिने ठाउँमा १ हजार ५ सयको नाम । भएन नाम काटौं वास्तविक खाना नपाउनेको नाम राखौं भनिन्छ । नाम काट्नका लागि नाम भनिन्छ । मलाई थाहा छ, श्यामबहादुरसँग २ वर्षसम्म खानलाउन पुग्ने कुरा छ, उ मेरो पार्टीको मान्छे हो । तर, म सुकुम्बासी भन्दिन्छु । अर्कोले हर्केलाई, अर्कोेले अच्युतलाई यसरी ती १ हजार ५ सयको नाम राख्न बाध्य छन् । अब भन्नुहोस्, यो बेला पनि पार्टीकै झण्डाको राजनीति गरेर हुन्छ ? देशको झण्डा बोके हुदैन ?

राहत लिन बोलाइन्छ, आउँछन, फोटो भिडियो खिचिन्छ, सामाजिक सञ्जालमा, अनलाईनमा निमुखा गरिबहरुको फोटो भिडियो आउँछ । अनि माथि उल्लेखित सम्पूर्णको आउँदैन । किनकी अरु त तपाई मेरा मान्छे हुन्छन् । यो मानवीय भावना क्षतविक्षत भएको अवस्थामा त्यो गरिबका छोराछोरीले फोटा भिडियोहरु हेरेर आखिर सन्देश के बुझ्छन् ? गरिब एक त गरिब नै छ, त्यहाँमाथि त्यसरी खिल्ली उडाउन कति जायज÷नाजायज होला ? सट्टामा राहत लिने अरुको नाम वार्ड अगाडि टाँस्ने, तिनीहरु आए फोटो र भिडियो राख्ने वेभसाइटमा हाल्ने गरे फेरि यस्तै विपदमा राहत लिन आउलान कि बाँड्नतिर लाग्लान ? त्यसो गरे आफ्नो राजनीति सकिएला की फेरि तपाई हाम्रो ? त्यसो गरे आफ्नो पार्टीको झण्डालाई सम्मान गरौं अनि जबजब आपत विपद आउँछ, देशको झण्डा शानले बोकौं, सबै नेपालीको जय होस्को नारा लगाउँ, सबैले तपाईको जय गर्नेछन् ।

तीनै तहका सरकारहरुले बनाएको आचारसंहिता लागु गरौं, अतिविपन्न, दैनिक ज्यालादारी गरेर खानेहरुलाइ यसचोटी राहत अर्को चोटीदेखि हौसला र सल्लाह दिऔं । ताकी राजनीतिज्ञहरुले पनि गरिबको नाम लिएर आफ्नो फोहोरी राजनीति गर्न नपाउन् । देशमा धेरै समयमा धेरै किसिमका अवस्थाहरु आए, बलभद्र कुँवरको सेनाले पानीको भरमा देश बचाए, विपी र पुष्पलालहरुले बिचारको राजनीति गरे, गणेशमान, गिरिजाप्रसाद, साहना प्रधान, मनमोहन, मदन भण्डारीले राहतबिना नै देशमा बहुदलको आन्दोलन सफल बनाए । गिरिजाप्रसाद, शुशिल, केपी, झलनाथ, माधव, शेरबहादुर, प्रचण्ड, बाबुरामहरुले नेतृत्व गरेको १९ दिने त्यो आन्दोलनमा कोहि भोकै बसेको सुनिएन । आन्दोलन सफल भो, थारु जातिको त्यत्रो आन्दोलन भयो । भोकले कोहि मरेनन् । आज लकडाउन भएको २ सातामा जनता भोका छन् कि छैनन् । तर, नेताहरुलाई राहत बाड्ने हतार छ । अनि माछा मार्न जानुपर्ने छ । तर, नगई मारेर नै आउने भएपछि त्यो माछा खाने चाह कसको हुदैन र ? यसो भनिरहँदा दिनै हुदैन भन्ने कुरा त होइन । तर, यो चाहना राख्नेहरुले कति जेनेरेशन(पुस्ता) सम्म आशा गर्ने ? अनि दिनेले एकपटक, दुईपटक, पाँचपटक कहिलेसम्म दिइराख्ने ? अनि दिन सकेन भने उप्रति जनताको विश्वास रहिरहने कि नरहने ? गाउँमा राहत बाड्न, चुनावमा टिकट किन्न निर्वाचनको समयमा विभिन्न कुराहरु बाँड्न महंगो बनाउने अनि, भ्रष्टचार नगरेर के गर्छ त ? कहाँबाट ल्याउने त यो सबको लागि पैसा ? अनि यो गर्न नसक्ने तपाईहामी जति नै देशको माया वा सहि राजनीति गर्छु भनेर बर्बराएर हुन्छ र ? त्यसैले राजनीति देशको लागि गर्न सुध्रिउ र सुधारौं ।

थोरै कुरा बदले, बिहानै उठेर के–के भएछ, यसो फेसबुक खोलें । आजकाल मेसेन्जरका सबै म्यासेज हेर्न थालियो भने त लकडाउनको बेलाको दिन कटाउँनै गाह्रो छैन । तर, केहि विशेष व्यक्तिले पठाएका चाँहि अलि चाख दिएर नि खोलेर हेर्ने गर्छु, एउटा अचम्मको अनलाइन समाचार आएको रहेछ, पूर्वअर्थमन्त्री ज्यूको मध्यावधी चुनावको माग गरिएको । साह्रै दुःख लाग्यो, हे भगवान पशुपतिनाथ नेपालीलाई पहिले अवस्था हेरेर बोल्ने त बनाइदेउ । स्वास्थ्यमन्त्री, यातायातमन्त्री वास्तविक रुपमा होस् वा अनलाइनका समाचारहरुका कारण बद्नामी कमाइरहेका छन् । अरेबाबा पुष्टि गर्ने प्रमाणहरु राखिराखौं । चुनाव त आउँछ, तिनीहरुको भण्डाफोर गरेर तिनीहरुलाई सिध्याउने दिन आउदैन र ? अहिले यो आपतको बेलामा प्रतिपक्षका साथीहरुले केहि सृजनात्मक सल्लाहरु दिउन् ता की पहिले देशका जनता बाचुन्, जनता नै बाचेनन् भने मध्यावधि चुनाव किन ? आफ्नै बाँच्ने ग्यारेन्टी के छ र ? मन्त्रीहरुले घुस खान अनि सरकारको विरोध गरेर भोलि के राजनीति होला र सञ्जाल रंगाउने पनि ?

अर्को रोचक कुरा हुन त सामाजिक सञ्जाल चलाउने र स्टाटस हाल्ने पहिलो नम्बरमा नि परिन्छ, आफू पनि । सन् २०११ देखि आजको मितिसम्म सबै दिन कुनै न कुनै स्टाटस आउँछन् । तर, कुनैपनि स्टाटस राजनीतिज्ञ वा नेतालाई गाली गरेर लेखेको छैन । यस अर्थमा आफूलाई महान् बनाउन पनि खोजेको छैन । कहिले हस्यौली त कहिले वियोगी, कहिले ब्यङ्गयात्मक त कहिले सिधा समाजमा विद्यमान परिस्थितिको बारेमा हुन्छन् । तर, आज विहानै एक विद्धानले लेखेको एउटा स्टाटसले यो लेख लेख्न प्रेरणा दिलायो । उहाँले प्रधानमन्त्रीलाई ‘सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईको नेतृत्वमा यो समस्या समाधान हुदैन, हामीलाई हाम्रो जीवनको माया छ, खेलबाड गर्न पाइदैन’ होला प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्थाको पिर गर्नुभएको पनि । तर, अर्को विकल्प चाँही के हो त ? उहाँको स्पष्ट विचार आइदिएको भए बिद्धान मान्छेको बौद्धिक कुरा पनि मान्थे । एकछिनपछि फेरि अर्को स्टाटस आयो, फलानो मन्त्री असक्षम राजिनामा दिनुस् । फलानालाई यसो गरेवापत कारवाही गरियोस्, आदि–आदि । विद्धान मान्छे दार्शनिक बनिरहँदा विकल्प पनि दिनुपर्छ, के लेख्दैछु सोच्नुपर्छ । दुविधा आउने कुरा लेख्न हुदैन् । अर्थात देशको झण्डामुनि रहेर लेख्नुपर्छ ।

अब क्वारेन्टाइन, पिपिई, आइसोलेसन, अस्पताल, विरामी चेकिङ आदिको राजनीति त झन् कहालिलाग्दो रहेछ । स्वास्थ्य क्षेत्रमा विश्वको दोस्रोमा गनिने इटाली, आफूलाई सर्वशक्तिमान मान्ने अमेरिका, धेरै युरोपियन राष्ट्रहरु अहिले कोरोनाको चपेटामा उठ्नै नसक्ने हो कि जस्तै गरि छटफट गरिरहेका छन् । हामी नेपाली त झन् हरेक कुराले पछाडि । अहिलेको यो महामारी इटाली, स्पेन र अमेरिका जस्तै फैलने हो भने गाईभैसीका गोठमा ओछ्याइने सोत्तर झै हाम्रो लासहरु गन्हाउने छन् । सधैं जनप्रतिनिधि र सरकारले केहि गरेनन् भनेर चियापसल र चोकमा गफ दिने हामी नै हाम्रो क्षेत्रमा रहेका विद्यालयमा क्वारेन्टाइन बनाए सबैलाई कोरोना सर्छ, भनेर हुँदै नभएको कुरा गाउँभरि फिजाउँछौ र राजनीति गर्छौ । बुझ्नेहरु उचालीदिन्छौं अनि नबुझ्नेहरु त्यसैलाई नारा लाउँछन् । सरकारका हरेक नियममा बस्नेछ भनेर स्वीकृति लिने अस्पताल यो अवस्थामा सामान्य रुघाखोकी लागेर आएका विरामीहरु पनि चेकजाँच नगर्ने अड्डी कसिररहेका छन् । उनीहरुलाई तह लगाउने कसले ? अस्पताल सञ्चालकहरु पार्टीको झण्डा मुनि आफ्नो सुरक्षित स्थान खोजेर, देशको झण्डा बिर्सिरहेका छन् । अब पनि सोचिएन, ध्यान दिइएन भने यो देशमा कोरोना फैलियो भने सबैका सपनाहरु खेर जानेछन् । हरेकले आफ्नो ठाउँबाट अहिले मात्र देश र जनता जोगाउन नेपालको राष्ट्रिय झण्डामुनि बसेर राजनीति गरौं ।
बुढीगंगा –२ टंकिसिनवारी

सोमबार, २४ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर