समयअनुसार मान्छे चल्ने गर्दछ, चल्नुपर्छ । हिजो आफ्नो एसएलसी रिजल्ट आउँदा विराटनगर एयरपोर्टमा पत्रिका कुन बेला आउँला र हेरौला भनेर ३–४ बजेसम्म पनि पत्रिका नपाएर मामाको छोरालाई गाउँमा रहेको एउटामात्रै ल्यान्डलाइन्डबाट जानीनजानी गरेको फोनबाट परीक्षाफल सफल भएको खबर पाएको दिन र अहिले प्रकाशित हुने ७ दिन अगाडिबाट यसरीउसरी थाहा पाउन सकिन्छ भनेर पहिल्यै तयारी अवस्थामा रहनु अनि साँच्चिकै प्रकाशित भएको ५–७ मिनेटभित्र आफ्नोमात्र होइन, आफन्तको समेत थाहा पाउन सक्नु सञ्चारको क्षेत्रमा भएको उपलब्धि हो भन्दा अत्युक्ति नहोला । सञ्चारको यति धेरै उपलब्धिले गर्दा फाइदा र बेफाइदा बराबर भएका छन् कि लाग्ने गर्दछ ।
जहिले पनि चुनावबाहेक हरेक कुरामा संघसंस्था आदिमा राजनीति हुनुहँुदैन भनेर अडान लिने मान्छे म, आजकालको राजनीति देखेर आफैलाई कसरी सुध्रिएलाझंै लाग्छ । सबैभन्दा पहिले मिडियाको कुरा गरेँ, अनुमति सायद अनलाइन मिडियालाई सरकारले दिएको छ कि छैन थाहा छैन, तर समाचारहरू यसरी आउँछन् कि सत्यतथ्य भन्दा पनि जष्टमात्र हुन् । समाचार लेख्नुअघि, मिडियामा ल्याउनुअघि केही समय त्यसको छानबिन होस्, सत्यतथ्य पत्ता लागोस् त्यो होइन, त्यसले कसलाई कसरी कहाँ हान्न सकिन्छ त्यसरी आउन थालेका छन् । अनि अझ गज्जबको कुरा आफू आफ्नो देशमा केही गर्न नसकी वा सानातिना काम छोडेर एकैपटक लाखौं कमाउन विदेश भासिएकाहरूले ती अनलाइन समाचार शेयर गर्दै एउटा नागरिक, नेता, मन्त्री वा प्रधानमन्त्रीलाई गरेको गाली वा अपशब्दले के बुझिन्छ ? गगन थापाको विचारलाई अर्को पार्टीको मान्छेले, भानुभक्तको विचारलाई अरु पार्टीका मान्छेले विरोध गर्नु राजनीतिकरण नै हो त । गगन थापाको सही विचारलाई सबैले स्वीकार गर्न नसक्नु, भानुभक्त ढकालको सही कदमलाई सबैले वाहवाह गर्न नसक्नुले फाइदा कसलाई हुन्छ त थाहा छैन तर बेफाइदा देशलाई हुन्छ ।
‘भाइ फुटे त गवार लुटे’ पृथ्वीनारायण शाहको यो दिव्यउपदेश कति दुरदर्शी थियो, अहिले पनि हामी फुटिरहन्छौं, हामी लडिरहन्छौं फाइदा भने भारतजस्तै अन्य देशले लिइरहेका छन् । सत्ता र कुर्सीका लागि होइन, देश र जनताका लागि सबैले राजनीति गरौं । बिहानै अष्ट्रेलियबाट एकजना भाइले स्टाटस लेख्नुभयो, यो सरकार निकम्बा सरकार हो, यसले केही गर्न सक्दैन, नेपालमा कोरोना भाइरस आयो भने सबै समाप्त हुन्छ, ए निकम्मा सरकार राजिनामा दे’ आदिआदि । मलाई थाहा छ, उहाँ हालको सत्ताशीनबाहेक अर्को पार्टीको मान्छे हो, तर उहाँलाई मेरो प्रश्न उहाँको पार्टी नै थियो भने हालको अवस्थामा अहिलेको सरकारले गरेभन्दा फरक जादुमय काम के गर्नुहुन्थ्यो होला ? केन्द्रीय सरकार त निकम्मा भयो स्थानीय सरकार जहाँ उहाँको पार्टीका नेताले चलाउनुहुँदैछ, त्यहाँ त्यो सरकार निकम्मा भयो किन भन्न सक्नुहुन्न ? किनकी त्यहाँ आफ्नो पार्टी छ, त्यसकारण यो किसिमको राजनीतिलाई के भन्ने ? यो सञ्चारको दुरुपयोग हो कि होइन ? सामाजिक सञ्जालमा एउटा कुनै पनि नेपालीले जात, धर्म, आस्था, लिङ्ग, विचार फरक भएकालाई गाली गर्न नपाउने गाली गरे तुरुन्तै कारवाही गर्ने अवस्था बनाउन सकिन्न ?
कहिलेकाँही अनलाइन मिडियामा त्यस्ता कारवाही गर्ने भन्ने समाचार पनि आउँछन् । यी कुरा सत्य हुन् भने त कारवाही गरेका समाचार पनि आउनुपर्ने, पार्टीगत भूमिका सञ्चारले नलेखोस्, सत्यतथ्य समाचार, दृष्टिकोण र विचार आदि लेखोस् राजनीति पनि सही तरिकाले गरोस् भन्ने कुरा हो ।
कुनै पनि संघसंस्था किन खुलेका हुन्छन् ? समाजमा रहेका कुरीति, कुसंस्कृतिको विरोध गरी त्यसको सट्टा सही रीति र सही संस्कृतिको व्यवस्थापन गर्न जस्तो लाग्छ । आजकाल या त त्यस्ता संस्थाहरू एउटै पार्टीको मान्छे भएर खोल्ने गर्दछन्, या त त्यहिँभित्र अन्य पार्टीका हुन् भने हामीचाहिँ यो पार्टीको त्यसलाई चाहिँ पल्लो भित्तामा पु¥याउनुपर्छ भनेर सुनिन्छ । यो कस्तो बाटो समात्दैछौं हामी ? अझ अर्को रमाइलो कुरा हरि, श्याम, रीता र गीता फलानो पार्टीका मान्छे, यिनीहरूको संस्थामा नपसौं है भनेर हिड्ने गर्दछन् । के यस्तो सही हो र ? स्थानीय, प्रदेश र संघीय सरकार जुन पार्टीको बनेको भए पनि जनता सबैलाई बराबर गरिनुपर्छ कि पर्दैन ? सही कामका लागि सही सहयोग गर्न पार्टीका आँखाले नहेरे के हुन्छ ? कि तपाईको स्थानीय निकाय अर्कोले उछिट्याउला भन्ने डर हो ? यस्तो राजनीति नगरौं न, राम्रो काम गरे जनताको मन हो, सधै पक्षमा रहिहाल्छ ।
संघसंस्था, स्थानका चुनावमा आजकाल आएको विकृति अझ कहालीलाग्दो छ । योग्यता क्षमता राम्रोभन्दा पार्टी, पैसा र हाम्रो भन्ने नारा लाग्ने गर्दछ । क्षणिक रुपमा राम्रो होला दुरगामी असर भने भयानक होला । कुनै एउटा संस्थाको चुनाव थियो । राम, श्याम, हरि, मोहन बाटोको चिया पसलमा बसेर कुरा गर्दै थिए के गर्नु उपेन्द्र योग्य, दक्ष र इमान्दार छ नि तर हाम्रो पार्टीको परेन । धिरेनले धेरै सिक्नुछ, बुझ्नु छ, एक पटक बसिदिए हुँन्थ्यो । तर भनौं भने भोली आफ्नै अवस्था अफ्ठ्यारोमा पारिदेला, हो यस्तै कुराले बिग्रेको छ । धिरेनलाई सम्झाउनु प¥यो, धिरेनजी यो संस्था कालान्तरसम्म चलाउन यसचोटि उपेन्द्रजीलाई बनाएर लगौं, अर्को पटकसम्म तपाईंले धेरै कुराहरू बुझ्नुहुन्छ भन्न सक्नुपर्छ । त्यसो भइरहँदा उपेन्द्रजीसँग विचार नमिले पनि सक्दा सहयोग गरेर नै जानुहोला नसक्दा विरोध नै त गर्न लागिपर्नु हुन्न ।
जहाँ राजनीति नगर्दा हुन्छ, त्यहाँ राजनीति नगरौं । हिजोदेखि राजनीतिलाई फोहोरी खेल भन्दै सुनिँदै आइएको छ, तर नीतिहरूको पनि राजा कसरी फोहोरी हुन्छ ? फोहोरी त बनाइन्छ । स्थानीय निकाय, सात प्रदेश र संघीय सरकारमा कति जनप्रतिनिधि छन्, हिसाब गरौं, पालिकाका वार्ड अध्यक्ष, मेयर, उपमेयर, सभाषद, मन्त्रीहरूका पिए कति हुन्छन् ? आफ्नो कामधन्दा छोडेरचाहिँ जनता लाग्नुपर्ने नेता जिताउन अनि पिएदेखि लगाउनसक्नेसम्मका जागिर आफन्तलाई बाँडेपछि राजनीतिलाई फोहोरी वा लाजनीति भनिहाल्छन् नि ।
त्यतिमात्र होइन, आफूलाई आफ्नै पार्टीको उमेदवार मन परेन भने पनि उसलाई हराउन लाग्छन् । ३ सय ६४ दिन त्यही पार्टी भनेर हिड्ने जुन आवश्यक ३ सय ६५ औं दिन हो त्यो दिनचाहिँ अर्को बन्नु पनि फोहोरी नै हो । कसैका व्यक्तिगत चरित्र हत्या गर्न पनि फोहोरी हो । राम, श्याम, हरि, विकास सबैलाई नेता बन्ने रहर हुन्छ । हुनु पनि पर्छ । पद एउटा उम्मेदवार चारजना, टिकट दिने निकायले सूक्ष्म अध्ययन गर्नुपर्छ, चार जनालाई राखेर सम्झाउनुपर्छ । न कि विकास आफ्नो गुटको परोस् उसलाई दिने, श्यामले बढी चाकडी चाप्लुसी ग¥यो त्यसलाई दिने, चारजनाले अन्तिम अवस्थासम्म आफ्नो पक्षमा पोल्टामा टिकट पार्न खोज्नुलाई अन्यथा लिनुहँुदैन । तर चारमध्ये एकले पाउने हो पाएपछि तीनजना स्वतःस्फूर्त निर्णय मान्दा राजनीति फोहोरी हुनबाट बच्दछ । चुनावी समयमा फेरि आफ्नो पालो कहिल्यै नआउला कि भनी उम्मेदवारको विपरीत लाग्नुचाँहि फेरि फोहोरी राजनीति हो, यसले कल्याण कसको गर्ला थाहा भएन तर देश र जनताको चाँहि पक्का पनि गर्दैन ।
देशमा आपतविपत्मा राजनीति छ, जस्तो २०७२ मा भूकम्प गयो । मानवीय, समाजिक, साँस्कृतिक, ऐतिहासिक संरचनाहरू ध्वस्त भए । मानिस ठूलो वा सानो ओहोदा सबै पालमुनि भए, धनी गरीब, सानो–ठूलो, महिला–पुरुष, हिन्दु–मु्स्लिम छुट्टिएनन् तर केही समयपश्चात सुरुआत भए होडबाजी कसले कुन पार्टीको नेताले कति सहयोग ग¥यो ? तत्कालीन अवस्थामा मनले दिइएको करले दिएको बुझिन्छ नि तर त्यो राहत सामग्रीमा समेत राजनीति भएको देख्दा दिक्क लाग्छ । गत साल बाढीले देशको अवस्था तहसनहस भयो, कैंयौं नेपालीका आँखामा आँसुशिवाय केही बाँकी थिएन । राजनीति यस्तो भयो कुनै व्यक्तिका नाम नाममा २–४ किलो राहत सामग्री बाँडियो, त्यसको राजनीति किन गर्नु ? सही तरिकाले जनताका माँझ भिज्दा त असल बनिहालिन्छ नि, तर आजकाल वैचारिकभन्दा त्यस्तै टिक्न थालेका छन् । अहिले कोरोना भाइरसको राजनीति अझ कहालीलाग्दो छ, मानवीय संवेदना एकदम कम देखिएको छ । हुनेखानेले ६÷७ महिनाको खाने र लाउने कुराको व्यवस्थापन गरिसके भने अर्कोतर्फ हुँदा खानेको अवस्था जर्जर बन्ने देखिन्छ । अब एक महिना यो क्रम निरन्तर भयो भने राजनीति गर्नेहरू कार्यक्रमका लागि कार्यक्रम गर्ने गरेका छन् । साँच्चिकै राजनीति गर्ने हो भने आफू सुरक्षित हुँदै प्रत्येक आफ्ना गाउँका घरघरमा पुग्नुपर्छ । आवश्यक पर्नेलाई गर्नुपर्नेलाई सहयोग गर्नुपर्छ न कि २ हजार मास्क लिएर कुन नगरमा बाँडी फलानाले वा फलानाका पहलमा भनी सस्ता अनलाइनलाई समाचार निकाल्न पहल गरिनुपर्छ । नेपाली अन्य देशको तुलनामा सजग भएनन् भनिन्छ कसरी सजग हुने ? पहिलो कुरा थाहा छैन दोस्रो कुरा थाहा पाएर पनि खानपिनको व्यवस्थापनका लागि लाग्नैपर्दछ ।
सुरुवात मिडियाका फाइदा बेफाइदाबाट गरिएको यो लेख वास्तवमा सही बेसही विश्लेषण गरी देश र जनताको फाइदाका लागि काम गरोस् भन्ने विश्वासका साथ लेखिएको हो ।