अबिच्युरीः डेरैडेरामा बितेको साढे छ दशक

शास्त्रीय शैलीका अर्थात् मध्यकालीन कथा वा उपन्यासमा कुनै आदर्श नायक वा नायिका वर्णन गनुपर्दा विशेषणका केही अनिवार्य शब्दहरू पढ्ने गरिन्थ्यो । प्रायः कलेज जीवनमा यस्ता साहित्य धेरै पढियो । ती शब्दरू हुन्– शान्त, सौम्य, सहिष्णु, शालीन, उदात्त, धीर, आदि ।

यस्तै शब्दले वेष्टित व्यक्ति को होलान् भनेर मेरो वयसन्धिको मस्तिष्कले खोज्ने गथ्र्यो । आइएको एडमिसनपछि महेन्द्र मोरङको पुस्तकालयमा पुस्तकसित खेल्दै गरेकी एक दिदीसित मेरो मित्रता भयो । उहाँसगको पटक–पटकको कुराकानीपछि मैलै खोजेको व्यक्ति भेटेजस्तो लाग्यो । उहाँ हुनुहुन्छ, उत्तरा चटर्जी ।
आइए पहिलो वर्षको एडमिसनपछि मैले पुस्तकालयमा गएर पढ्नका लागि स्लिप दिएको पहिलो पुस्तकको नाम थियो माधवी उपन्यास, मदनमणि दीक्षितको । स्लिप पढेपछि उत्तरा दिदीले अचम्भित भावमा मलाई हेर्नुभयो ।

‘तपाईं यो पढ्ने ?’, उहाँले विस्मित हुँदै दोहो¥याएर सोध्नुभयो, ‘तपाईं नै पढ्ने हो ?’
मैले पनि ‘हो, मैले नै पढ्ने हो’ भनेर फुर्तीसाथ भनेँ ।

माधवी एउटा क्लिष्ट उपन्यास हो भन्ने मलाई त्यस बखत पनि थाहा थियो । जे होस् यो घटनापछि मलाई उत्तरा दिदीले राम्रैसित चिन्नुभयो । पुस्तकालयबाट उहाँले नै खोजेर दिएका नेपाली साहित्यका थुप्रै पुस्तक पढ्न पाउने भाग्यमानीमध्ये म पनि एक हुँ ।

अचानक यही चैत ७ गते उहाँ बित्नुभएको खबर आएपछि म एकछिन रन्थनिएँ । तर, खबर अनपेक्षित पनि थिएन । करिब एक महिनाअघि आफ्नै डेराको पूजा कोठामा बत्ती बालेर निस्कँदा उहाँको कपडामा आगोले भेटेको थियो । यसका कारण उहाँको शरीर ४० प्रतिशत डढेको थियो । यसपछि उहाँलाई विराटनगरको न्यूरो अस्पतालमा उपचार गरियो । केही दिनपछि काठमाडौंको कीर्तिपुरको अस्पतालमा उपचार गरियो । उहाँको इहलीला अब धेरै हुनेछैन भन्ने मानसिकतामा हामी पुगिसकेका थियौँ ।

उत्तरा दिदीलाई चिन्न उहाँको गुण, व्यक्तित्व र योगदान नै यथेष्ट छ तापनि उहाँकी आमा रेणुका चटर्जी र पिता प्रभाचन्द्र चटर्जीको स्मरण पनि यहाँ सान्दर्भिक हुनेछ । २००७ साल ताका पिताजी कृष्णप्रसाद कोइराला र माता दिव्याको अग्रसरतामा विराटनगरमा छुट्टै महिला विद्यालय खुल्यो । दिव्या कोइरालाले नारी जागृति नामको संस्था खोलेर महिला अधिकार र सशक्तिकरणका लागि अभियान सुरु गर्नुभएको थियो । नेपालमा नारी अधिकारको आन्दोलनको इतिहास यहींबाट सुरु हुन्छ । यस विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो, सुष्मा कोइराला, अर्थात् गिरिजाबाबुकी अर्धाङ्गिनी ।

क्रान्ति सफल भएर बनेको अन्तरिम सरकारमा बिपी गृहमन्त्री भएपछि गिरिजाबाबुको बसोबास काठमाडौं नै हुनथाल्यो । यसकारण सुषमाले पनि स्कुलबाट राजिनामा दिएर राजधानीको यात्रा तय गर्नुभयो । अब स्कूलमा प्रधानाध्यापक चाहियो । यसपछि स्कूल सञ्चालक समितिका सचिव पण्डित शोभाचन्द्र खनालले पूर्णिया गएर प्रधानाध्यापकका लागि योग्य एक महिला ल्याउनुभयो । उहाँ नै हुनुहुन्थ्यो, रेणुका ।

सुरुमा यो विद्यालय हालको कोइराला निवासभन्दा अलिकति उत्तरपट्टि थियो । पछि ऋषिकेश कोइराला अर्थात् हरिबाबु (हाल नागेश कोइरालाको घर)–का घरमा डेरा लिएर पनि यो विद्यालय चलाइयो र १२–१३ सालतिर आफ्नै जमिन र भवनमा सरेको हो । रेणुका र प्रभाचन्द्रका सन्तानस्वरूप २ छोरी मात्र भए । जेठी उत्तरा र कान्छी पूर्वी ।

श्रीसत्य साई बाबाका प्रेरणाले सानैदेखि आध्यात्मिक र सेवाभावना भएकी उत्तराले बिहा गर्न मान्नुभएन । म बिहा गरेर गएँ भने मेरा वृद्ध आमाबाबुको स्याहार कसले गर्छ भनेर उहाँले बिहा गरेर मान्नु भएन । म पत्रकारितामा आएपछि मैले एक दिन मेरी स्टोप्स क्लिनिकमा देखेँ उहाँलाई ।
‘तपाईं यहाँ ?’, मैले छक्क पर्दै सोधेँ ।

उहाँको सहज उत्तर थियो, ‘हो मैले क्याम्पसबाट राजिनामा दिएँ । अहिले यहाँ छु ।’

फेरि केही वर्षपछि उत्तरा दिदी सिबिआर प्रोजेक्टमा प्रमुखका रूपमा भेटिन थाल्नुभयो । सिबिआरमा उहाँ रमाउनु भएको प्रतीत हुन्थ्यो । किनकि उहाँमा अथाह सेवा भाव थियो र सिबिआरमार्फत् फरक क्षमता भएकाहरूको सेवा गर्न सकिन्थ्यो ।

विराटनगरको आदर्श बालिकाबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उत्तरा दिदीले कोलकाताबाट पुस्तकालय विज्ञानमा एमएस्सी सक्नुभयो । सानैदेखि अध्ययनशील उहाँले त्यस बखत राम्रोभन्दा राम्रो जागिर पाउने कुरामा शङ्का थिएन । तर, उहाँ महेन्द्र मोरङ क्याम्पसको लाइब्रेरियन हुन रुचाउनु भयो ।

क्याम्पसको सानो जागिरले परिवार नथेगेपछि उहाँ मेरीस्टोप्स आउन बाध्य हुनुभएको थियो । तर, उहाँको निःस्वार्थता मेरी स्टोप्समा धेरै दिन टिकेन त्यसैले सेवा भावको सिबिआरतिर मोडियो ।

शिक्षा भनेपछि अहिले सबैभन्दा कमाउ र भ्रष्ट पेशा मानिन्छ । हिजोआज सरकारी विद्यालयमा हेड सर हुन तँछाड र मछाड गर्छन्, सरहरू । हेडसर नै हुन सरकारी अधिकारीदेखि नेतासम्मलाई खुशी पार्ने विकृति पनि बढेको छ, अचेल । तर, आर्थिक अनुशासनमा कठोर रेणुका दिदी जीवनभरि एक प्रधानाध्यापक हुनुभयो तापनि विराटनगरमा एउटा घरघडेरी उहाँले जोड्न सक्नुभएन । तिनै इमानदार र आदर्श आमाको संस्कार पाएकी छोरी उत्तरा पनि उस्तै थिइन् । प्रधानाध्यापकको कुर्सीमा रहँदा केही समय चटर्जी परिवार बालिका विद्यालयको क्वार्टरमा पनि बस्यो । तर, आमा रेणुका विराटनगर आउँदा सुरु भएको डेराको जीवनलाई उत्तराले पनि पछ्याइरहनु भयो । उहाँको पनि ६५ वर्षसम्मको जीवन विराटनगरका विभिन्न डेराहरूमा बित्यो । विराटनगरको विकासका लागि रेणुका र छोरी उत्तरा दुबै एक इतिहास हुन् । उनै उत्तरा दिदीलाई आज श्रद्धाञ्जली भन्नुबाहेक अर्को शब्द निस्कन सकेको छैन ।

मङ्गलबार, ११ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर