चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात कोभिड १९ को संक्रमण भारतसम्म आईपुग्दा नेपालमा त्रास बढ्नु स्वभाविक नै हो । यो भाइरसको संक्रमण विश्वका १ सय ८५ देशमा फैलिसकेको र १० हजारभन्दा बढिको मृत्युसमेत भइसकेको छ । दक्षिण एसियाली मुलुकहरु श्रीलंकामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना संक्रमित देखिएका छन् । पाकिस्तानमा हालसम्म ५ सय १९ जना संक्रमित भएका छन् भने पाकिस्तानमा चार र बंगलादेशमा एक जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोभिड १९ भाइरसको संक्रमण देखिएकोमा ५ जनाको मृत्यु भएको छ । यो अवस्थामा नेपालका स्वास्थ्यकर्मी भयरहित कसरी बस्न सक्छन् ?
कोभिड १९ को संक्रमणले हाम्रो देशमा अहिलेसम्म भयावह रुप लिएको छैन । तर, लिन सक्दैन भन्न सकिने अवस्था चाहिं पक्कै छैन । यसबाट सुरक्षित रहनु हरेक नागरिकको आवश्यकता हो । अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै सबैभन्दा राम्रो उपाय हो । रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा, हाच्छ्यु गर्दा नाकमुख छोप्ने, संक्रमित व्यक्तिबाट टाढा बस्ने, मास्क लगाएर हिँडडुल गर्ने, पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने, जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा रहने जस्ता उपायले मात्र अब अलि पुग्दैन । त्यसैले सरकारले अतिआवश्यक बाहेकका अन्य सबै काम बन्द गर्न आह्वान गरेको हो ।
कोभिड १९ को संक्रमण हुनेबित्तिकै सबैलाई ज्वरो आउने, रुघा लाग्ने वा श्वास फेर्न गा¥हो हुदैन । अर्थात संक्रमण हुने बित्तिकै सबै रोगी हुदैनन् । तर, त्यस्ता संक्रमितले पनि भाईरसको संक्रमण सार्नसक्छ । त्यसैले भाईरसको संक्रमण रहेको क्षेत्रबाट आएको जोकोहि पनि १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने हुन्छ । भारतीय गायिका कनिका कपुर यसरी क्वारेन्टाईनमा नबसेका कारण संसदलगायत धेरैमा कोभिड १९ को संक्रमण देखिएको छ । अहिले नेपालमा पनि रोग नदेखिएका तर यसता संक्रमितहरु कति छन् वा छैनन् भन्न सकिने अवस्था छैन । त्यसैले यस अवस्थामा आफंै सुरक्षित बस्नु नै महत्वपूर्ण हुन्छ र यसका लागि घर बाहिर ननिस्कनु, बाहिरबाट आएका मानिसहरुलाई नभेट्नु तथा भीड नगर्नु उत्तम उपाय हुनसक्छ । प्रधानमन्त्रीले पनि आफ्नो सम्बोधनमा यो कुरा राखिसक्नुभएको छ ।
प्रदेश १ सरकारले न्यूनतम १० बेडको भेन्टिलेटरसहित विराटनगरस्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा ५० शैय्याको अस्पताल बनाउन लागेको छ र अन्तिम तयारीमा छ । कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाइएको छ । अस्पतालहरुमा आइसोलेसन बनेको छ । तर, शंकास्पद संक्रमितहरुको स्वास्थ्य परीक्षण तथा उपचार पद्दतिमा को खटिने ? कुन तहका स्वास्थ्यकर्मी खटिने र त्यसका लागि आवश्यक तयारीमा सरकार पुगेको देखिएको छैन । स्वास्थ्यकर्मी तथा संक्रमितहरुलाई सेवा गर्ने तथा सम्पर्कमा रहेको जोकोहीलाई पनि संक्रमण हुनबाट जोगाउनुपर्ने हुन्छ । संक्रमणबाट जोगाउन पञ्जा, चश्मा, मास्क, टोपी, गाउन, बुट जस्ता सामाग्री चाहिन्छ र यसलाई समस्टीमा पर्सनल प्रोटेक्सन ईक्वुप्टेन (पिपिई) भनिन्छ ।
चीनमा पिपिईको प्रयोग गर्दागर्दै पनि त्यहाँको तथ्याङ्कले ३ हजार ३ सय स्वास्थ्यकर्मीहरुमा कोरोना भाईरसको संक्रमण देखियो र २२ जनाको मृत्यु भएको छ । सबैभन्दा उच्च दरमा मृत्यु भएको ईटालीमा पनि संक्रमितहरुको सेवामा खटिएका करिब २० प्रतिसत स्वास्थ्यकर्मीहरुमा कोभिड १९ को संक्रमण देखिएको ‘ल्यान्सेट’ मा उल्लेख गरिएको छ । सरकारले संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई भत्ताको व्यवस्था गर्ने भनेपनि आवश्यक पिपिई तथा अन्य सुरक्षा सामाग्रीतिर पहल गरेको देखिएको छैन ।
सामान्य अवस्थामा पिपिईको आवश्यकता रहदैन । त्यसैले यसको बजार सानो छ । अधिकांश सर्जिकल सप्लायर्सहरुले थोरै मात्रामा पिपिई राख्ने गरेका हुन्छन् । नेपालमा पिपिईको आफ्नै उत्पादन छैन र भारतीय बजारमा निर्भर गर्नुपर्ने हुन्छ । यस अवस्थामा एकातिर माग बढ्नु र अर्कातिर भारतले निर्यात बन्द गरेकाले यसको अभाव देखिएको बुझिन्छ । यस अवस्थालाई चिर्न सरकारले कुटनीतिक प्रयास गर्नुपर्ने देखिए तापनि सोको लागि सरकार गम्भीर नभएको देखिन्छ ।
स्मरण रहोस् कोभिड १९ भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यो भाइरसले निम्त्याएका लक्षणको आधारमा उपचार गरिन्छ र यस भाइरसको विरुद्ध हालसम्म कुनै खोप पनि बनेको छैन ।