लोड हुँदैछ...

मेनु

कामरेडको घरमा रुद्री पुजा छ

कामरेडको घरमा रुद्री पुजा छ

देशमा राणाकाल गयो । पञ्चायतकाल गयो । शाहीकाल पनि गयो । प्रजातन्त्र हँुदै हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यौं । तर, मेरो मनमा एउटा प्रश्नले अहिलेसम्म डेरा जमाइरहेको छ । पटक–पटकका व्यवस्था परिर्वतनले पनि मेरो प्रश्नको उत्तर नदिएपछि यहाँ लेख्न बाध्य भएको हुँ ।

मेरा हजुरबाले राणाकालका कुरा गरेको मलाई याद छ । राणाहरुको विदाइसँगै जन्मनुभएका मेरा बा सबै व्यवस्थाका साक्षी हुनुहुन्छ । अनि म जतिबेला पञ्चायत मौलाइरहेको थियो, त्यही बेला जन्मे । त्यसैले धेरै पढेर र भोगेर पनि थाहा पाएँ । मलाई याद छ, मेरा हजुरबाले जग्गा पास गर्दा होस् या गाउँ पञ्चायतमा कुनै कागज मिलाउँदा होस्, जसरी गरें भन्नुहुन्थ्यो, मेरा बाले त्यहि प्रक्रिया त्यहि ठाउँ र शैलीमा गर्नुभएको मेरो बाल्यकालका आँखा साक्षी छन् । अनि म मेरा बाले जसरी सरकारी कार्यालयहरुमा काम गर्नुहुन्थ्यो, त्यसैगरी रिट्ठोसमेत नबिराई म गरिरहेको छु । मेरो मनको अनुत्तरीत प्रश्न पनि यही हो । ब्यवस्था परिर्वतन भए तर, काम गर्ने शैली र पद्दति किन परिर्वतन हुन सकेको छैन । के हामी व्यवस्था र व्यक्ति मात्र परिर्वतन त गरिरहेका छैनौं ? मेरो मनमा प्रश्न उठ्छ ।

मेरा हजुरबाले राणा शासनकालमा जग्गा पास गर्दा अपनाएको विधि र प्रक्रिया मेरा बाको पालामा आउँदा सामान्य मात्र परिर्वतन भयो । तर, मेरो बाको पालाबाट मेरो पालामा आउँदा जस्ताको तस्तै छ । जग्गा पास गर्न मालपोत कार्यालय नै किन जानुपर्ने, नागरिकतामा सिडियोकै सही किन ? मन्त्रीको गाडीमा अगाडि झण्डा किन राखेको ? मन्त्रीलाई सुरक्षागार्ड किन चाहिने । मन्त्रीको अगाडिपछाडि किन प्रहरी दौडेका ? ती प्रश्न उब्जनुको प्रमुख कारण मेरा हजुरबा हो । हजुरबाले राणाहरुले मन्त्री हुँदा यस्तै गरेको सुनाउनुहुन्थ्यो । अनि मेरा बाले पञ्चायतमा त्यसै देख्नुभयो । हुन त मैले पनि पञ्चायतको आखिर वर्षतिर बाले गरेका धेरै काम गर्न भ्याएँ । तर, बिडम्वना अहिले मेरी छोरीले पनि हिजो जिजुबा, हजुरबा हुँदै आधुनिक ड्याडीले जे–जे गरेका थिए, त्यहि गरिरहेकी छन् ।

हामीले व्यवस्था मात्र फेरिरहेका रहेछौं । हाम्रो व्यहोरा फेर्न सकेका छैनौं । बद्री मण्डलको ठाउँमा शिवकुमार मण्डल ल्यायौं । तर, प्रक्रिया पद्दति कहिल्यैं परिर्वतन गर्न सकेनौं । अन्य देशलाई हेर्ने हो भने राजनीतिक दलले समाजलाई परिर्वतन गर्छ । तर, हाम्रो देशमा समाजले राजनीतिक दललाई नै परिर्वतन गरिरहेको छ । यो उल्टो हिँडाई हो । देशबाट जहानीया राणा शासन विदा भयो, पञ्चायत आयो । हाम्रो समाज राणायुगकै थियो । पञ्चायतलाई समाजले राणाजस्तै बनाइथियो । उनीहरुको पतन भयो । त्यसपछि बल्ल समाज पञ्चायती बन्दै थियो, देशमा प्रजातन्त्र आयो । त्यसपछि पनि दल र तिनका नेताले समाज परविर्तन गर्नुको साटो आफू नै पञ्चायत जस्तै भए । प्रजातन्त्रलाई पञ्चायत जस्तै बनाए । परिणाम देश यु्द्धमा फस्यो । शाही शासन आयो । मुलुकमा अहिले संघीय गणतन्त्र आएको छ । हाम्रो समाज बल्ल प्रजान्त्रको युगमा प्रदेश गर्दैछ । फेरि समाजले दलहरुलाई परिर्वतन ग¥यो र आफूजस्तै बनायो । एक पटक सोच्नुहोस् त ! हिजोका माओवादी र अहिलेका कांग्रेस, एमाले र पञ्चभन्दा के फरक बाँकी रहेका छन् ? हामीले माओवादीले समाजलाई परिर्वतन गर्लान् भनेर सोचेको त उल्टो उनीहरुलाई समाजले परिर्वतन गरिदिएको छ ।

जनयुद्धको आगो पश्चिमवाट पूर्वतर्फ बढिरहेको थियो । आगोका लप्काहरु धनकुटा जिल्लाका गाउँमा देखिन थालेका थिए । मलाई त्यो दिनको याद छ । पल्लोघरका साइला बा आफ्ना बाजेको सराद्धेमा जुटेका थिए । साइला बा श्राद्ध गर्न मात्र के लागेका थिए, घरमा बन्दुकधारी एक समूह आयो । पुराना संरचना र व्यवस्था भत्काउने लालसेनाले रुढीवादी सोचबाट मुक्त हुन चेतावनी दिँदै खोरबाट खसी निकाल्ययो र काट्न थाल्यो । साइला बाले गर्न लागेको श्राद्धको के कुरा केहि समयपछि जनसेनाले बोकाका आन्द्रा तुलसाको मोठमा बेरिदिए । श्राद्धका भोज मासुभात भयो । केही समयपछि बाले गाउँ छोड्नुभयो । त्यसपछि गाउँमा श्राद्ध, रुद्री पुजा, गोठका धुप सबै बन्द भए । हाम्रो गाउँ पनि नयाँ बाटोतर्फ लाग्यो । गाउँ मदिरामुक्त भयो । धेरै जनाले तासको जुस खानुभयो । जनसरकार घोषणा भयो । जग्गा बिक्रि गर्न मालपोत धाउनु नपर्ने भयो । घुस्याहा सरकारी कर्मचारीहरुले गाउँ छोडे । त्यसबेला म निकै खुसी भएको थिएँ । वास्तवमा परिर्वतन हुनेभयो । तर, यो महान् परिर्वतनमा मेरो पनि रगत र पसिना बग्न पाएको भए गर्वले छाती फुल्ने थियो ।

समय वित्दैगयो । जनताले चाहेको र कमरेडहरुले भनेको व्यवस्था पनि आयो । तर, विडम्बना समाज परिर्वतन होला भनेको त आज कमरेडहरु नै रुद्रीपुजामा निम्ता गर्न थालेका छन् । घरमा मरेका बाका नाममा भात पाक्छ र पिण्ड बन्छ । तुलसीको मोठमा बोकाका आन्द्रा हैन फुलका माला लागाउँछन्, कमरेडहरु नै । हुँदाहँुदा कमरेडको घरमा अचेल सप्ताहापुराण नै पो लाग्न थालेको छ । धेरै कमरेडहरुले मलाई पनि सम्झेर निम्ता गर्नुहुन्छ । कमरेडहरु कति चाडो विचलित हुनुहुन्छ भन्ने मैले चाँही सोचेको थिइन ।

मैले देखेको परिर्वतन भनेको हिजो हजुरबाले रुद्री पढिरहेका ठाउँमा आज नातिले त्यो कर्म चलाइरहेका छन् । आज जुवाका खालमा कमरेड पक्राउ खान्छन् । अनि दारुलाई कोरोनाको दवाई भन्दै कामरेड नै तन्काउँछन् । यिनै दृष्यले मेरा मनका प्रश्नहरु अनुत्तरित भएका हुन् । मैले यी सबै कुरा लेखिरहँदा व्यवस्थामाथि प्रश्न गर्न खोजेको हैन, नेताका व्यवहारलाई सुर्धान चाहेको मात्र हो ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

sanjib
March 22, 2020 5:03 PM

मलाई गर्व छ,भाइको कलम तिखारियको खुशी छु,समसामयिक खोज परक प्रस्तुति साथै,नेपाल का कलम चालक हुरु राजनैतिक रोड,ठुला ब्यापारिक घराना मा ,कालो धन लाई शिक्षा मार्फत गहुत छर्कने समुदाय मा पनि कलम को गाडी बेला बखत गुडाउनु परो,आम नेपाली आफन्तको प्यारो पात्र होइन्छ।

Rajendra ghimire
March 22, 2020 8:49 PM

Yes i realize….and accept your version

प्रतिक्रियाहरू बन्द छन्।