कोरोना विरुद्ध आमसंघर्ष

सन्तोषको कुरा, नेपाललाई हालसम्म कोरोना भाईरसको संकटले छोएको छैन । मार्च २० सम्मको तथ्याङ्क हेर्दा विश्वमा करिब दुई लाख ५० हजार व्यक्ति संक्रमित भएका छन् । ११ हजारको मृत्यु भएको छ भने करिब एक लाख व्यक्तिहरु उपचारपछि ठीक भएका छन्, बाँकी उपचाररत् छन् । इरानमा प्रतिदश मिनेटमा एक जनाको मृत्यु भएको खबर आईरहेको छ । नेपालसँग तीनतिर सीमा जोडिएको भारतमा चार जनाको मृत्यु भएको छ । समग्रमा, अहिलेको अवस्थालाई दुईवटा ठूला विश्व युद्धभन्दा भयानक भनिंदैछ ।

नेपालमा यो भाईरस नभित्रिएको भएता पनि भाईरसले संक्रमण गर्नसक्ने मानसिक त्रासका कारण धेरै व्यक्तिहरु एन्जाईटी (एक प्रकारका मनोरोग) को शिकार हुने संभावना बढेको छ । कोरोना भाईरस के हो ? र यसबाट कसरी बच्ने ? भनि अब शहरमा कसैलाई अथ्र्याउनु नपर्ला । तर, ग्रामीण भेगमा (शहरकै पनि गाउँले परिवेश) कोरोना भाईरस विरुद्ध कसरी संघर्ष गर्ने भन्ने बारेमा खासै जानकारी छैन । कोरोनासँग जोडिएर भाईरस, आईसोलेशन, सेल्फ क्वारेन्टाईन, लकडाउन, सेनिटाईजर, डिस्इनफेक्सनजस्ता शब्दहरु बारम्बार प्रयोग भईरहेका छन् । पढेलेखेका सबै मानिसले त यी शब्दहरुको अर्थ राम्रोसँग बुझ्दैनन् भने औपचारिक शिक्षा हासिल नगरेका व्यक्तिहरुले के बुझुन् ! यस्तो सामान्य विषयमा किन चर्चा गरियो भन्ने लाग्ला । तर, कोरोना विरुद्ध अहिले आमसंघर्ष शुरु भएको छ र यो संघर्षमा यसले ठूलो महत्व राख्दछ । किनभने मानिसहरुको सामाजिक र चेतनाको स्तर विचार गरेर उनीहरुले बुझ्ने शब्द र भाषामा सूचना संप्रेषण गरिएन भने लडाई जित्न सकिंदैन ।

सूचनाका विभिन्न श्रोतहरुले १० वर्ष मुनिका बच्चा र जेष्ठ नागरिकलाई घरभित्रै बस्न सल्लाह दिइरहेका छन् । नियमित हात धुन, हातलाई गुणस्तरयुक्त सेनिटाईजरले किटाणुरहीत बनाउन, एकआपसमा दुरी बनाएर रहन÷बस्न आदि सचेतनामूलक सन्देशहरु जारी भईरहेका छन् । तर, दुरदराजका गाउँतिर यी सूचना पुगेका छैनन् । गाउँमा को व्यक्ति कुन देशबाट आईरहेको छ र उसँग कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने बारेमा मानिस बेखवर छन् । सिमान्तिकृत समुदायहरु कोरोना भाईरस विरुद्धको संघर्षमा जुट्न सकिरहेका छैनन् । यस अवस्थामा सरकार वा अन्य पक्षको सजगता र तयारीले सफलता पाउन कठिन हुनेछ ।

कोरोना विरुद्धको युद्धमा सफलता पाउन अनिच्छापूर्वक नै भएपनि व्यक्ति व्यक्तिबीच दुरी रहनु अति आवश्यक मानिएको छ । हात मिलाउनुभन्दा नमस्कार गर्नु उत्तम हुने रहेछ । यसकारण पूर्वीय संस्कारमा चलनचल्तीमा रहेको नमस्कारको शैलीलाई पश्चिमा मुलुकले पनि अंगिकार गरे । यसलाई सोसल डिस्टेन्सिङ् भनिन्छ । तर, सोसल डिस्टेन्सिङ् अर्थात् एकान्तवास विपन्न गरिब घर परिवारमा संभव हुँदैन । गरिबहरुको घर कस्तो र कति कोठाका हुन्छ्न भन्ने हामी सबैलाई थाहा छ । विपन्न, लोपोन्मूख र सिमान्तिकृत वर्गका लागि सरकारले जनता आवास कार्यक्रम अन्तर्गत् बनाईरहेको घरमा त एउटा परिवार सहजतापूर्वक बस्न सकिरहेका छैनन् भने जेनतेन बसिआएको घरमा परिवारका सबै सदस्यहरु एकै ठाउँमा रहनु बस्नुपर्ने बाध्यता सामान्य हो । यो अवस्थालाई ध्यान दिएर कोरोना भाईरस विरुद्ध रणनीति बनाउनुपर्ने आवश्यकता छ ।

वर्तमान अवस्था लकडाउनसम्म पुगेको छ । यद्यपी लकडाउन अन्तर्गत यस्तै गरिनुपर्छ भन्ने स्पष्ट विधि छैन । शब्दकोषमा लकडाउनको अर्थ खोज्दा कुनै संकटको अवस्थामा मानिसलाई स्वतन्त्र रुपमा कुनै क्षेत्रमा प्रवेश गर्न वा कुनै स्थान छोड्न नदिईने अवस्था भन्ने बुझिन्छ । त्यसैले अमेरिका, इटाली, फ्रान्स आदि मुलुकले आ–आफ्नो ढंगले लकडाउनको तरिका अपनाएका छ्न । भारतमा मोदीले जनता कफ्र्युको नाम दिएर एक दिन सबैलाई घरमा बस्न आव्हान गरे । नेपाल पनि लकडाउनमा जानसक्छ भनि सरकारी पदाधिकारीले उद्घोष गरिसकेका छन् । यदि त्यस्तो अवस्था आइहाल्यो भने दैनिक मजदुरी गरी पेट पाल्नेहरुको समस्या कसरी समाधान गर्ने भनि सोच्नुपर्ने हुन्छ । यसबारेमा संयुक्त राष्ट्र संघीय मानवअधिकार सम्बन्धी उच्चायोगका प्रमुखले जोखिममा रहेका र उपेक्षित समुदायको स्वास्थ्य वा आर्थिक संरक्षणमा ध्यान नदिएसम्म कोरोना विरुद्धको संघर्षमा सफलता पाउन नसकिने कुरा बताइसकेका छन् ।

बजार भाउझन् महंगो भएको छ । जनतालाई दिइएका हरेक सूचनामा सेनिटाईजर वा साबुनपानीले हातधोएर आफूलाई संकमणरहित बनाउन आग्रह गरिदैछ । राम्रो खालको मास्क प्रयोग गर्न भनिएको छ । एकपटक सोचौं त, एक वोत्तल सेनिटाईजरको मूल्य कति पर्छ ? गुणस्तरीय मास्क बजारमा पाउन छोडियो । यदि साधारण दरमा पाईहालियो भने पनि सय रुपैयाँभन्दा घटीमा पाइदैन । विपन्नताले गाँजेको समाजमा कतिपय परिवारसँग साबुन किन्ने पैसा हुँदैन । उनीहरुका लागि सतर्कताको सूचनासँगै राहतको पनि आवश्यकता पर्दछ भन्ने कुरा सरकारलाई राम्रोसँग थाहा भएकै हुनुपर्दछ ।

नेपाल सरकारले कोरोना भाईरसलाई भित्रिन नदिन गरेका कार्यहरु सन्तोषजनक नै छन् । बुझ्नु के पर्छ भने अमेरिकाजस्तो आर्थिक सम्पन्न मुलकले पनि यसलाई रोक्न सकेन । नेपाल त अतिकम विकसित मुलुक हो । यसले आफ्नो सामथ्र्यले भ्याएसम्म जे गर्नु पर्ने हो, गरिरहेको छ । केही दिनअघि चीनको वुहानबाट नेपाल ल्याइएका नागरिकहरुले सरकारको कामको निकै राम्रो प्रशंसा गरेका थिए । त्यसैले साधनश्रोतको अभावबाट हुने कमजोरी बाहेक सरकारलाई ठूलो आलोचना गर्नुपर्ने अवस्था छैन । यसो भनिरहँदा सरकारले गर्नसक्ने केही काम भने गरेन । कालो बजारी नियन्त्रणमा राजनीतिक युवा विद्यार्थीले भन्दा सरकारले बढी चासो दिनुपथ्र्यो । महासंकटका बेला पनि व्यापारिक अपराध गर्न पछि नपर्नेलाई सरकारले कडा सजाय दिनुपर्छ । कानून फितलो छ भने अध्यादेशबाट भएपनि थप परिमार्जन गरेर कडा सजाय दिन सरकार पछि हट्नु हुँदैन । सरकारले अस्पताल बनायो, क्वारेन्टाईन स्थल तयार ग¥यो । तर, तत्काल ठूलो परिमाणमा मास्क र सेनिटाइजर उत्पादन गर्न ध्यान दिएन । यसका लागि आर्थिक, भौतिक वा मानवश्रोतको कमी थियो भने स्वदेश वा विदेशमा रहेका नागरिकलाई आव्हान गर्नुपर्ने थियो ।

देशभित्र र बाहिर सयौं नेपाली वैज्ञानिकहरु छन् । विश्वप्रसिद्ध पतञ्जली आयुर्वेद रिसर्च सेन्टरमा नेपाली वैज्ञानिक कार्यरत छन् । त्यसैले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिनुअघि ती वैज्ञानिकहरुलाई स्वदेश फर्केर केही समय भएपनि सेवा गर्न सरकारले आव्हान गर्नुपर्ने थियो । अमेरिकाको हार्वड विश्वविद्यालयबाट दिक्षित नेपाली जनस्वास्थ्य विज्ञ देशलाई केही योगदान दिन यही धर्तिमा बसेका छन् । ती विज्ञ सरकारले नेपालमाया कोष (ीयखभ ल्भउब िँगलम०खडा गरिदिए सरकारलाई धेरै सहयोग गर्नसक्छु भनिरहेका छन् । महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग नगर्दा कति घातक हुनेरहेछ भन्ने यसबेला देखियो । कतिपय विश्वविद्यालयहरुमा भएका साधनश्रोतको प्रयोग गर्न सकिएन । ललितपुर महानगरपालिकाले नाष्टलाई उपयोग गरी सेनिटाईजर बनाउन सक्छ भने सिंगो नेपाल सरकारले किन सकेन ? अझै पनि समय छ, सरकार ! आजको चूनौति सामना गर्न र भोलिका दिनमा आउने विपत्ती टार्न विज्ञको सदुपयोग गरियोस् ।

कोरोना विश्वव्यापी महामारी हो । यसले नेपालीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । नेपालीलाई आफ्नो मात्रचिन्ता छैन, आफूसँग अलग भई विदेशमा रहेका सन्तानको बारेमा झन् बढी चिन्ता छ । यो अवस्था लामो समय रहिरहेमा मानसिक स्वास्थ्यको समस्या बन्न सक्छ । त्यसैले तिनै तहका सरकारहरुले घर–घरमा मनोविशर्मकर्ताको परिचालन गरी मनोसामाजिक परामर्श उपलव्ध गराउनुपर्दछ । राजनीतिक दलका कार्यकर्ताको भूमिका पनि विशेष महत्वको छ । सिमान्तीकृत, दलित, पिछडावर्ग, सुकुम्वासी र विपन्नका घरमा तपाईहरु चुनावताका जस्तै जानुस् र सहयोग गर्नुस् । कोरोना भाईरस नामको शत्रु विरुद्ध आमसंघर्ष अझै दरिलो बनाउनैपर्छ ।

(लेखक अधिवक्ता तथा अधिकारकर्मी हुन्)

आइतबार, ०९ चैत, २०७६

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर