विराटनगर । कोरोना भाइरस संक्रमणको त्राससँंगै पोल्ट्री व्यवसाय नराम्ररी प्रभावित भएको छ । किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन छोडेपछि चल्ला उत्पादन गर्ने र दाना बनाउने उद्योगहरु समस्यामा परेका छन् ।
बजारमा कुखुराको मासुको बिक्रीमा भारी गिरावट आएको छ । कुखुरा व्यवसायीका अनुसार मासुको बिक्रीमा ८० प्रतिशतले गिरावट आाएकोले किसानले तयार पारेका कुखुरा बिक्री भएको छैन ।
भारतसँग सिमाना जोडिएका बजारका कुखुरा व्यवसायीहरु दोहोरो मारमा परेका छन् । एकातिर उपभोक्ताहरुले मासु खपत कम गरेका छन् भने भारतीय बजारमा कुखुराको मूल्य अचाक्ली घट्दा नेपाली बजारमा समस्या आएको छ । भारतबाट सस्तोमा कुखुरा ल्याउने धन्दा चलेकोले नेपाली किसानले उत्पादन गरेका कुखुराको बिक्री भएको छैन ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतमा कुखुराको मासु खानु हुदैन भन्ने हल्ला फैलिएकोले भारतीयहरुले मासु खान छोडेका छन् । जसको कारण भारतमा सस्तो मूल्यमा कुखुरा बिक्री गर्ने क्रम बढेको छ । ‘भारततर्फ एक सय रुपैयाँमा ४ वटा कुखुरा पाइन थालेको छ,’ कुखुरा व्यवसायी बिजय साहले भन्नुभयो ‘ २५ रुपैयाँमा कुखुरा पाएपछि नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्ने कुरै भएन ।’ मासुको बिक्री घटेको र भारतबाट अवैधरुपमा आयात भइहरेकोले पोल्ट्री व्यवसाय नै धराशायी बन्ने अवस्था उत्पन्न भएको किसानहरु बताउँछन् ।
किसानहरका होलीपछि प्रदेश १ का अधिकांश किसानहरुले कुखुराको चल्ला खरिद गरेका छैनन् । तयारी अवस्थाका कुखुरा बिक्री नभएपछि किसानले चल्ला नराखेका हुन् । किसानले चल्ला नहालेपछि पोल्ट्रीहरुले चल्ला र दानाको उत्पादनमा पनि कटौति गरेका छन् ।
व्यवसायी साहले केही समय अघिसम्म दिनको ४ सय कुखुरा बजारमा पठाउने गरेकोमा अहिले मुस्किलले सय कुखुरा मात्र बिक्री गरिरहेको जानकारी दिनुभयउो । अरु सबै डिलरहरुको अवस्था उस्तै रहेको उहाँको भनाइ छ ।
होटलको खपत घट्यो
मासुको बिक्री घट्नुको कारण होटल व्यवसायमा आएको मन्दी प्रमुख हो । मासुको सबैभन्दा धेरै खपत हुने होटल रेष्टुरेन्टहरुमा हो । होटलहरुमा उपभोक्ताको चाप घटेसँगै बजारमा मासुको बिक्री घटेको हो । त्यसको सबैभन्दा धेरै असर कुखुरा व्यवसायमाा परेको छ ।
साइकल र मोटरसाइकलमा तस्करी
भारतबाट साइकल र रिक्सामा कुखुरा ल्याउने गरिएको छ । कुखुरा आयातकर्ताले सीमा क्षेत्र नजिक बनाइएका खोरहरुमा भारतबाट राति कुखुरा ल्याएर राख्छन् र बिहान बजारमा पु¥याउँछन् । ती खोरहरुमा कहिल्यै चल्ला राखिदैन । तर, कुखुरा सँधै हुन्छ ।
भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको कुखुरा खरिद गर्ने एजेन्टहरु विराटनगर र वरिपरिका विभिन्न ठाउँमा छन् । उनीहरुले खरिद गरेर सस्तोमा बजारमा पु¥याउने भएकोले नेपाली किसानले तयार पारेको कुखुरा बिक्री भइरहेको छैन ।
कहाँ कहाँबाट आउँछ कुखुरा ?
सुनसरी र मोरङको विभिन्न ठाउँबाट भारतीय कुखुरा भित्रने गरेको छ । सुनसरीको चिमडी, देवानगञ्ज आदि क्षेत्रबाट ठूलो परिमाणमा भारतीय कुखुरा आउने गरेको व्यवसायीहरुले बताएका छन् । मोरङको लक्ष्मीनीयाँ, डुमरिया, मझारे, नोचा, सिक्टीलगायतको नाकाबाट कुखुरा आउने गरेको छ ।
विराटनगर भन्सार नजिकैको मटेरुवा र बुधनगरबाट पनि अवैधरुपमा कुखुरा आउने गरेको छ । रानी क्षेत्रको हड्ताली हाटमा रहेका अधिकांश मासु पसलले भारतीय कुखुरा बिक्री गर्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
पोल्ट्री तथा मासु व्यवसायी संघले आइतबार मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शनिबार इटहरीमा बसेको संघको बैठकले आइतबार पोल्ट्री क्षेत्रमा उत्पन्न समस्या र समाधानका लागि सरकारले गर्नुपर्ने सहयोगको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । संघले कोरोना भाइरस कुखुराको मासुबाट नसर्ने भएपनि आम जनसाधारणमा भ्रम उत्पन्न भएकोले भ्रम हटाउन सरकारले पनि सहयोग गर्नुपर्ने जनाएको छ ।
माछा आयात पनि रोकिएन
भारतबाट कुखुरा मात्र होइन माछाको आयात पनि घटेको छैन । वैध र अवैध दुवै ढंगले मााछाको आयात भइरहेको भन्दै किसानहरुले संकटको बेलामा माछाको आयात पनि रोक्नुपर्ने बताएका छन् ।
भारतबाट सस्तोमा माछा आउने र नेपाली उपभोक्ताले माछामासुको खपत पनि घटाएका कारण नेपाली किसानहरुको उत्पादन बिक्री गर्न समस्या भइरहेको छ ।