मृत्यु चिन्तन्

चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति । सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति । धुवाँ हाँस्तै उड्यो, विगत पथ हाँस्यो गगनको । खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ।
–कवि शिरोमणि लेखनाथ पौडयाल ।

संसार जलिरहेछ, तिमी खित्का छोडेर हाँसिरहेका छौ ? –धम्मपद ।

मृत्युबारे म हुर्किएको समाजमा केवल भय छ । अज्ञानता छ । बोध छैन । रियलाइजेशन छैन । मृत्यु के हो यहाँ कसैलाई जान्ने फुर्सद छैन । कारण यहाँ सबै जीवनकै खोज गर्न र यसलाई भोग्न ब्यस्त छन् । जीवन नै यति मोहपूर्ण लाग्छ कि यो सब छाडेर जाने सोचसम्मले पनि मनमा गहन निराशा उब्जाउँछ । सतहमा सबै तोतावाजमा भन्छन् कि मरिन्छ, तर एक तहभित्र सबै ठान्छन् कि यो मर्छ, ऊ मर्छ, म चाहिँ कहिल्यै मर्दिन ।

यहाँसम्म कि मलामीमा वा किरिया बस्दासमेत मानिस आफूभित्र मृत्युको अस्तित्व रियलाइज गर्दैन । ठान्छ की, यो विचरा जो अहिले मरेको छ, उसले ठीकसँग जीवन ज्युँन जानेन । वा उसको आयु नै यत्ति थियो । तर, आफ्नो बारेमा ? के म आफ्नो समीपमा नै घुमिरहेको आफ्नै मृत्युको झझल्को महशुस गर्न सक्छु ?
सिल्भिया प्ल्याथले भनेकी छन्, ‘मृत्यु अरुथोक जस्तै एउटा कला हो ।’

तर, मान्छेहरु यहाँ जीवन ज्युँने कला सिकेर, सिकाएर हिँड्छन् । मर्ने कला अर्थात आर्ट अफ् डाईङ् सिक्ने, सिकाउँने कोही छैनन् । भएपनि विरलै छन् । स्कूल, कलेजमा पनि जन्मको बारेमा मात्रै पढाईन्छ । मृत्युका बारेमा चर्चासम्म गरिँदैन । यसलाई यसरी बुझौं, यहाँ केवल रुख चढ्न सिकाईन्छ । ओर्लन सिकाईन्न । मतलव, जिन्दगीको अग्लो रुख सकेसम्म चढेर अन्त्यमा टुप्पाबाट हाम्फाल्नुपर्छ, यहाँ । त्यस्तै त भइरहेको छ ।

सेक्सपियरले किंग लियरमा समाधान दिन खोजे, मानिसले जगतबाट बर्हिगमनलाई त्यसैगरी सहनु पर्दछ जसरी आगमनलाई । मृत्युबारे सबैभन्दा धेरै जानकारी दिएर जाने ओशो के भन्छन् भने, जन्मको हामीलाई स्मरण छैन । तर, मृत्यु हुन्छ भन्ने हेक्का वा जानकारी छ । तसर्थ अरु सबै काम भन्दा यसको बोध गर्नु टड्कारो हुन आउँछ । यसर्थ, जन्ममा म जिम्मेवार थिएँ कि थिँइन थाहा छैन । तर, मृत्युउपर म जिम्मेवार हुनुपर्छ र मर्नु वा मारिनुअघि नै यो के हो थाहा पाईसक्नुपर्छ । तब हुनसक्छ मरेर पनि म मर्दिन की ?

जोसेफ ब्राउन भन्छन्, ‘मृत्यु हुँदैन, जगतहरुको परिवर्तन मात्रै हुन्छ ।’

बोध वा रियलाइजेशन विचारको सतहबाट एक तहभित्र छिरेपछि मात्रै उत्पन्न हुने सत्य हो । तर, ज्ञानी पुरुषबाहेक पुरै दुनियाँ विचारकै लेभलमा जिइरहेको हुन्छ । अधिसंख्यक मानिस विचारभन्दा भित्र नपस्दै जीवन सक्छन् । विचारमा ज्यूँनेहरु शरिर र आत्माको बोध गर्न सक्दैनन् । विचार बादलसदृश हुन्छ । तुच्छ बादलले अनन्त आकाश र विशाल पिण्डहरुलाई छेकिदिन्छ । आँखा बन्द गरेर ध्यान गर्दा बोध हुन्छ कि भृकुटीको अन्धकारमा अति शक्तिशाली प्रकाश सल्बलाईरहेको छ । यस्तो लाग्छ, सुदुरबाट एउटा तारा लगातार मतिर आईरहेको छ । यस्तो पनि लाग्छ की मभित्रबाट पनि एउटा तारासदृश प्रकाश त्यो आईरहेको तारातर्फ गइरहेको छ । एकदिन यी टकराउँने छन् । परिणामस्वरुप शरिर छुट्नेछ । मेरो नयाँ यात्रा शुरु हुनेछ ।

यहाँ भन्न खोजिएको मेरो वा म केवल लेखक होईन । मानिसभित्रको म तत्वको कुरा गर्न खोजिएको हो । शरिरभित्र के त्यस्तो अति जीवित छ ? अति चेतनशिल छ ? शाश्वत छ ? असमय छ ? शान्त छ ?

के यो विचार हो ? होईन । यो विचारभित्र हाम्रो केन्द्रमा अवस्थित त्यो प्रकाशकिमिया हो जो कि अपरिवर्तनशिल छ । नित्य छ । यो हाम्रो धुरा हो । यस बाहेक सब परिवर्तनशिल, अनित्य र मरणधर्मा छ । म भनेर मानिसहरु आफूभित्रको जुन केन्द्रतर्फ इशारा गर्छन्, त्यो यो तत्व हो । तर, यसलाई बोध गर्न चाँहि चुक्छन् । किनभने त्यो उनीहरुले भन्ने म पनि विचारकै लेभलमा हुन्छ । वास्तविक म अति जाज्वल्यमान प्रकाशपुञ्ज हो । जान्नु र मान्नुमा तात्विक भेद छ । मान्दछु की मेरो मृत्यु हुन्छ एउटा कुरा भयो । जान्दछु की मेरो मृत्यु हुन्छ नितान्त फरक । फरिदा भन्छन्, जसले जान्यो कि मृत्यु अवश्यम्भावी छ, तत्क्षण ऊ मुक्त भयो । मृत्युपार भयो । अब कुनै पनि मृत्युले उसलाई मार्न सक्दैन ।

एउटा सलाईको काँटी कोर्नुहोस् । अब आफैंलाई सोध्नुहोस् कि त्यो आगो सलाई कोर्नुअघि कहाँ थियो ? काँटी निभाउनुहोस् । पुनः आफैंलाई सोध्नुहोस् कि त्यो आगो कहाँ गयो ? के जीवन र मृत्युबारे यो उदाहरण बन्द ढोका खोल्न सक्षम छैन ? एउटा विशेष घर्षणबाट शुरु हुने मानिसको जैविक यात्रा त्यो एकैछिन बल्ने सलाईको काँटि जस्तो हो । घर्षणअघि कहाँ थियो जीवन ? अथवा सलाई कोर्नुअघि कहाँ थियो आगो ? मान्छेको मृत्यु सलाईको काँटी निभेजस्तो हो । कहाँ गयो आगो ?
आगो जहाँबाट आयो त्यहीं गयो । मान्छेको जन्म र मृत्यु पनि यस्तै हो । जहाँबाट आउँछ मान्छे, जान्छ पनि त्यतै । तर त्यो अब फगत मान्छे कहाँ ? त्यो त बिराटमा समाहित भइसकेको छ । जीवित अवस्थामा नै मृत्युलाई बोध गर्नेहरु मृत्युपार हुन्छन् । र जीवित अवस्थामा यो बोधगम्य छ । मुत्यु हामीभित्रै छ । मृत्युलाई बोध गर्दा मानिस अमर हुन्छ । किनभने मृत्युलाई जान्नासाथ अब यो मृत्यु रहँदैन । एउटा महाजीवनको अस्तित्वबोध हुन्छ । समग्रबाट जब हामी एउटालाई नियाल्छौं तब त्यो बहुत स्यानो र कमजोर प्रतित हुन्छ । यसको विपरित जब हामी एकबाट समग्रलाई चियाउँछौं, तब त्यो बहुतै बिराट नजर आउँछ ।
कमसेकम, मृत्यु मेरो समाजमा बयान गरेजस्तो भयानक छैन । खोज गर्ने हो भने थाहा हुन्छ की मृत्यु एक आनन्द हो । सच्चिदानन्द । यस महान् शुत्रलाई हेरौंः

असतोमा सदगमयः
तमसोमा ज्योर्तिगमयः
मृत्र्योमा अमृतंगमयः
मृत्युमा अमृत ।

वाह क्या बात छ ! आँखा बन्द गरेर होशमा, केन्द्रतर्फ सर्किदाँ जुन जाज्वल्यमान प्रकाशको जिकिर गरियो, स्वासप्रश्वासको होशसँगै त्यसको बोधमा मोद छ । त्यहाँ जुन आनन्द महशुस हुन्छ, त्यो मृत्युकै आनन्द हो । मृत्युको मजा जीवित अवस्थामा नै लिन सकिन्छ । किनभने यो प्रतिक्षण घटिरहेको हुन्छ । आँखा बन्द गरेर जीवित अवस्थामा हामी मृत्युलाई शरिरमा यताबाट हेर्छौं । मृत्युमा हामी शरिर छाडेर उता जान्छौं । र समग्रमा समाहित हुन्छौं । यो पानीको एउटा थोपा सागरमा मिलेसदृश हो । टमस मान भन्छन्, मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।

कवि शिरोमणिका यी श्लोक मनन् गरौं,
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कदाँ दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।

ध्यान अर्थात अन्तरको जागृत महायात्राले मृत्यु सहज बनाउँछ । गौतम बुद्धको ज्ञानमा होशपूर्वक शरिर छोड्ने शूत्रहरु समाहित छन् । विपश्यना गुरु सत्यनारायण गोयन्का विपश्यना साधनालाई आर्ट अफ लिभिङ् होईन आर्ट अफ डाईङ् भन्न रुचाउँछन् । र विपश्यना साधना गर्नेहरुले होशमा मृत्युवरण गरेका कैयौं दृष्टान्तहरु पनि पेश गर्छन् । लोभ, तृष्णा, द्वेष दुःखका प्रमुख कारण हुन् । जीवन प्रतिको आशक्ति, पलायन दुवै दुःखका कारण हुन् । बुद्ध दुःखबाट मुक्ति संभव छ भन्छन् भने त्यसको आधार दुःखको कारण थाहा पाउने प्रज्ञाको प्रष्फुटन र दुःखलाई झेल्नसक्ने शक्तिको साधनाद्वारा सम्वद्र्धन नै हो । यसभन्दा अर्को सजिलो उपाय त बेहोशीको उपक्रम मात्रै हो ।

सेसिल रोड्सले मर्ने बेलामा भनेका थिए, सो लिटल डन, सो मच टु डु । अर्थात, यति मात्रै गरियो, कत्रो धेरै बाँकी रह्यो । तर, सेसिलको भनाईलाई म यसरी सच्याइदिन्छु, सो मच डन, नथिंग इज लेफ्ट । अर्थात, बहुत कूछ गरियो, अब केही गर्न बाँकी छैन । सेसिलको मृत्यु असन्तुष्ट मृत्यु हो । यो दुःख र रोदनले भरिएको मृत्यु हो । यहाँ मलाई किशोरावस्थामा मेरा कान्छा मामा लिला उदासीले भन्नुभएको एउटा भनाई स्मरण हुन्छ, मृत्यु दुई तरिकाले हुन्छ । कोही पहाड भएर मर्छन् त कोही कपास । तिमी कुन रोज्छौ ?

निश्चय नै सबै कपाससरह हल्का मृत्युवरण गर्ने अभिलाषा राख्दा हुन् तर उनीहरुको ब्यवहार भने पहाड जस्तो भारी मृत्युतर्फ उन्मुख हुन्छ । मृत्यु चिन्तन्को अभिप्राय घरबार छोडेर घाटमा बस्न जानु भन्ने कदापी होईन । तर, घरबार छोडेको भाव लिएर घरमै बस्नु र आँखा बन्द गरेर स्वयम्भित्र नजिकिँदैं गरेको मृत्युलाई जान्नु भन्ने हो । यहाँ सन्तुष्ट मृत्युको खाँचो छ । जस्तो कि क्रिष्टिना रोजेटीले लेखेकी छन्, ब्हेन आइ एम डेड्, माई डियरेस्ट सिंग नो स्याड् संग्स फर मी । अर्थात, मेरो मृत्युपछि, हे प्रियतम, मेरो सम्झनामा कुनै उदास गीत नगाईदिनु ।

उर्लाबारी, मोरङ

शुक्रबार, ०७ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर