एसईई सकेपछि सबै स्कूल बन्द

परीक्षाकेन्द्रमा हेल्थडेस्क राखिने

परीक्षाकेन्द्रमा हेल्थडेस्क राखिने
विराटनगर । कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको भएपनि सरकारले बिहीबाररदेखि सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक अपिल प्रकाशित गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै पर्याप्त साबधानी अपनाएर परीक्षा सञ्चालन गर्ने जानकारी दिनुभएको छ ।

चैत ६ देखि १७ सम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षाको लागि १ हजार ९९५केन्द्र तोकिएको छ । परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थडेस्क राख्ने प्रबन्ध मिलाएको सरकारले जनाएको छ ।

मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि पनि सरकारले अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै स्कूल बन्द गर्नुपर्ने अवाज उठिरहेपनि सरकारले परीक्षा सकेर मात्र बन्द गर्ने नीति लिएको छ । सरकारले एसइईभन्दा तलको परीक्षा चैत ५ गते अगाडि नै सक्न निर्देशन दिएपछि सबै स्कूलले परीक्षा लिइरहेका छन् ।

परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा भेला नगर्न सरकारले आग्रह गरेको छ । परीक्षा सकेका ७० लाख बालबालिकालाई कम्तीमा तीन हप्तासम्म घर बाहिर जान नदिन र घरघरमै सुरक्षित रुपमा राख्न सरकारको आग्रह छ ।

प्रदेशमा ८४ हजार परीक्षार्थी
प्रदेश १ मा ३ सय ७५ वटा परीक्षा केन्द्रबाट ८४ हजार १ सय ६ जना विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । एसईई परीक्षा दिने प्रदेश १ मा सबैभन्दा बढी विद्यार्थी मोरङको रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख दिव्यराज कट्टेलले जानकारी दिनुभयो । मोरङबाट यस पटक १८ हजार ८ सय २१ जना परीक्षामा सामेल हुँदैछन् ।

मोरङबाट नियमिततर्फ प्राविधिक धारका ४ सय ४६ जना परीक्षाले कबिर मा.वि. बेलबारी र आदर्श मा.वि. विराटनगरमा परीक्षा लेख्नेछन् । मोरङमा ७० वटा केन्द्र तोकिएको छ । प्रदेशमा सबैभन्दा कम सोलुखुम्बुबाट परीक्षा दिदैछन् । सोलुखुम्बुमा १४ वटा केन्द्रबाट १ हजार ८ सय ३४ जनाले परीक्षा दिने मन्त्रालयले जनाएको छ ।

प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी सुरक्षाका लागि खटिनेछन् । प्रदेशभरी ३ सय ७५ केन्द्राध्यक्षसहित ५ सय ४२ सहायक केन्द्राध्यक्ष तोकिएको छ । केन्द्राध्यक्षसहित प्रश्नपत्र सम्बन्धित केन्द्र नजिकको सुरक्षा केन्द्रसम्म पठाईसकिएको शिक्षा इकाई तथा समन्वय समिति मोरङका प्रमुख दीर्घध्वज चापागाँईले बताउनुभयो ।

परीक्षाकेन्द्रमा कुनै विद्यार्थीमा स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीले तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । परीक्षामा सामेल हुन नसक्ने अवस्था आए तत्काल अस्पताल पु¥याउने र कसैमा कोरोनाको शंका देखिएमा छुट्टै क्वारेन्टाइनमा राखेर परीक्षा दिने प्रबन्ध मिलाएको शिक्षा समन्वय इकाईले जनाएको छ ।

जिल्ला परीक्षा समन्वय समितिले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत र सम्बन्धित शिक्षा शाखाका अधिकृतलाई परीक्षा अनुगमनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यसबाहेक जिल्ला समन्वय समिति र शिक्षा इकाईबाट तोकिएका अधिकृतले परीक्षाको अनुगमनमा खटिनेछन् । स्थानीय तहले स्वास्थ्य विज्ञसहित स्वास्थ्य समन्वय समिति बनाएका छन् ।

बुधबार, ०५ चैत, २०७६, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर