होली पर्व र कोरोना भाइरस

विश्व स्वास्थ्य संगठनका अनुसार ३१ डिसेम्बर सन् २०१९ देखी चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर १० लाख ६४ हजार ६७ जना संक्रमित भइसेकेका छन् । मर्नेको संख्या ३६ सय पुगिसकेको छ । चीनमा मात्र ८० हजार ९ सय १५ जना संक्रमणमा छन् । त्यहाँ मर्नेको संख्या ३१ सय १ पुगिसकेको छ । चीनबाहिरका देशहरुमा २४ हजार ७ सय ४३ जना संक्रमित भइसकेका छन् । र, मर्नेको संख्या ४ सय ९९ जना पुगिसकेको छ । विश्वभर कोरोना संक्रमण भएका ६० हजार ३ सय ५६ जना उपचारबाट निको भइसकेका छन् भने ६० हजार ४० जना अझै सिकिस्त छन् ।

विश्व नै आज कोरोनाको त्रासमा छ । यो दु्रत रुपमा विश्वभर फैलिरहेको छ । भाइरसकै कारण विश्व प्रभावित भएको छध । मार्च ८ मा महिलाहरुले खुलेर सभा सम्मेलन गरेर आफ्नो अधिकार माग गर्न पाएनन् । विराटनगरलगायत देशका बिभिन्न ठाउँमा हुँदै आएका ठूला महिला सम्मेलनहरु स्थगित भए । राजनीतिक दल, अधिकारकर्मी, श्रमिक महिलाहरुले कोराना भाइरसकै कारण महिला दिवस बन्द कोठाभित्रै मनाएर चित्त बुझाए ।

कोरोनाले गर्दा रंगिन पर्व होली पनि प्रभावित बनेको छ । तीनै तहका सरकारले कारोनाको संक्रमणबाट जोगिन होली नखेल्न आग्रह गरेका छन् । जसले गर्दा फागुन लागेसँगै तामझाम र हर्षोल्लासका साथ हुने होली मिलन कार्यक्रमहरु प्रभावित भएका छन् । कसैले कसैले वेवास्ता गर्दै होली मिलन कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गरेपनि सहभागीहरु न्युन उपस्थित हुँदा कार्यक्रम फितलो बनेका छन । बजारमा होलीको किनमेल र चहलपहल कम भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हालसम्म खोप तयार भैसकेको छैन । बैज्ञानिकहरु यसको शुक्ष्म अनुसन्धानमा छन् । आशा गरांै, चाँडै कोरोना भाइरस नियन्त्रण गर्ने भ्यासिन आविष्कार गर्न बैज्ञानिकहरु सक्षम हुनेछन् । र, चाँडै विश्व त्रासबाट मुक्त हुनेछ । हालसम्म नेपालमा कोरोनाको संक्रमण देखापरेको छैन । चाइना, कोरियालगायत देशहरुबाट आएका नेपालीहरु पनि क्वारेन्टाइनमा बसेर स्वस्थ्य अवस्थामा घर फर्किसकेका छन् । चीनबाहेक, भारत, अमेरिका, इटाली, कोरिया, इरानलगायतका कैयौं देशहरुमा कोरोना भाइरस संक्रमण भइसकेको छ । सयौंको ज्यान लिएको छ ।

हामी नेपालीहरु भाग्यमानी छांै । किनभने अहिलेसम्म कोरोना भाइरसको संक्रमण नेपालमा देखा परिसेकेको छैन । भाइरस संक्रमण हुन नदिन हामीले पर्याप्त अवसर पाएका छौं । सांसद गगन थापाले भनेझैं चीन, कोरिया, अमेरिका र इटालीहरुले हामीले जस्तो समय पाएनन् । उनीहरुमा कोरोना संक्रमण भइसकेकोले आम नागरिकहरुको ज्यान कसरी जोगाउने भन्ने त्रास उनीहरुमा छ । उनीहरुले देशमा संकटकाल घोषणा गरेर रोकथाम उपायहरुको चेतना फैलाउँदै महामारी नियन्त्रण थालेका छन् ।

कोराना संक्रमण हुन नदिन नेपालका तीनै तहका सरकारले सर्तकता अपनाउन थालेका छन् । नागरिकहरुलाई सर्तकता अपनाउन अपिल गरिसकेका छन् । प्रदेश सरकारले ‘आइसोलेसन बेड’ तयार राखेको छ । र, ‘क्वारेन्टाइन’ केन्द्रहरु निर्माण गराउँदैछ । तर, जति उच्च सतर्कता अपनाउनुपर्ने हो, त्यो अझै भएको छैन । प्रदेश सरकारका मन्त्रालय र बिभागहरुमा समन्वयको अभाव प्रत्यक्ष देखिएको छ । अर्कोतिर जुन रुपमा स्वास्थ्यकर्मी र सुरक्षा संयन्त्र कोरााना निगरानीमा सचेत भएर परिचालन हुनुपर्ने हो, त्यो भएको छैन । विराटनगर रानी नाकामा महानगरपालिकाले राखेको स्वास्थ्य डेस्क देखावटी मात्र छ । त्यहाँ स्वास्थ्यकर्मीहरुलाई सुरक्षाकर्मीहरुले कुनै सहयोग गरेका छैनन् । बरु ‘तिमेरको काम तिमेरु नै गर, कोराना निगरानी गर्ने हाम्रो ड्युटी हैन’ भनेर सुरक्षाकर्मीहरु पन्छिएको देखिन्छ ।

सिमा नाकाहरुमा राखिएका हेल्पडेस्क देखावाटी मात्र छन् । नेपाल आउने शंकास्पद व्यक्तिहरुमाथि उच्च निगरानी हुनुपर्छ । कोरानामुक्त छु भन्ने फारम घोषणा कार्यक्रम चुस्त रुपले लागू गराउनुपर्छ । विराटनगर, काँकडभिटा, पशुपतिनगर, भण्टावारीलगायत नाकामा राखिएको एउटा मात्र हेल्पडेस्क पर्याप्त छैन । किनकी खुल्ला सिमाना छ । सीमा जोडिएका साना नाकाहरुमा पनि चुस्त निगरानी गर्न र हेल्पडेस्कहरु राख्न आवश्यक छ । किनभने भारतमा कोरानाको संक्रमण देखा परिसकेकोले त्यो खुल्ला सिमानाबाट नेपाल आउदैन भन्न सकिदैन । भनिन्छ ‘काल बाजा बजाउँदै आउदैन, बरु थाहै नपाई भित्रने गर्छ ।’ केही गरि कोरोना भाइरस भित्रियो र एउटा पनि संक्रमण देखाप¥यो भने परनिर्भर र कमजोर आर्थतन्त्रमा धानिन बाध्य हामीलाई पर्नु संकट पर्नेछ । हामी चीन र अमेरिका जस्तो रातारात अस्पताल बनाएर संक्रमण नियन्त्रणमा लाग्न सक्दैनौ । यसैले हामीले रोग लागेपछि भन्दा रोग लाग्न नै नदिने उपाय प्रिभेन्सन ईज बेटरदेन क्योर नीति अवलम्बन गर्नुपर्छ ।

कोराना संक्रमण हुन नदिन आम नागरिक र सरकारले हातेमालो गर्नुपर्छ । सरकारले कोरोना आएकै छैन भनेर निगरानी बढाउन र जनचेतना जगाउँदै सतर्कता अपनाउन हेलेक्र्याई गर्न हुदैन । कोराना संक्रमणको जोखिम उच्च भएपनि हाहाकारको अवस्था नभएको भन्दै सर्तकता अपनाउनबाट हामी नागरिकहरु पनि नचुकौं । अर्कोतिर कोरानाबारेमा अतिरञ्जनापूर्ण अभिव्यक्ति दिएर त्रास र भ्रम पैदा गराउने र कालोबजारी गर्नेहरुलाई तुरुन्त कार्वाही गरांै । खाद्यान्न, औषधि, ईन्धन आदि अत्यावश्यक वस्तुहरुको कम्तीमा एक महिनाका लागि जोहो गरांै । यसका लागि सबै तहका सरकारले आफ्नो बिपद् व्यवस्थापन बिभागलाई सक्रिय बनाओस् ।

हामी नागरिकहरुले पनि आऽऽऽ कस्ता कस्ता फ्लु र भाइरस त पचाइयो भने आउँदै नआएको नाथे कोरोना भनेर ठान्नुहुदैन । किनभने काल पल्क्यो भने कसैलाई पनि छोडदैन । यसैले कोरोना संक्रमण हुन नदिन रोकथामका उपायहरुमा सबै गम्भीर बनौं । ‘हेरेर हैन छेरेर मर्ने हो के को कोरोना ?’ भन्ने मुर्ख वाणी र व्यवहारलाई नियन्त्रण गरौं । एक महिनासम्म हामीले अनुशासित नागरिक बनेर सर्तकता अपनाउन सक्यौं भन्ने उच्च जोखिममा रहेको कोरोना संक्रमित देशहरुको बिचमा रहेको हाम्रो देश नेपालमा पक्कै भित्रन सक्नेछैन ।

सोमबार, २६ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर