२०४६ सालमा काम शुरु गर्दा पहिले अप्ठ्यारोसँगै लाज र डर लाग्यो । ग्रामीण स्वास्थ्य कार्यकर्ता पर्शुराम रानाले ‘दिदी आउनू तपाईको नाम राखेँ है’ भनेर बोलाउनुभयो । मैले पढेको छैन भन्दा सरले पढ्नु पर्दैन भन्नुभयो । दुईदिनको तालिमबाट सुरु गरेर त्यसपछिका दिनमा धेरै पटक तालिम गोष्ठिमा सहभागी भएर आफूलाई निखार्दै लगेँ । काममा धेरै लगनशील भएर लागेँ । अहिले त्यसैको फल होला शोभा दिदी नभई गाउँमा महिलाले अरुको विश्वास गर्दैनन् । समूह बनाएर ११ जना भएर काममा खटेको हिजोझैँ लाग्छ । मेरो दैनिकी नै ती महिलाको घरआँगन गरेर बित्छ । मैले पोलियो थोपा खुवाएका नानीहरू इन्स्पेक्टर भए, जागिरे भए, अमेरिका गए । रुवाउँदै खोप लगाएका नानीहरूको प्रगति देखेर सन्तोष मान्छु । के गर्नु हामीजस्ता महिला स्वास्थ्य स्वयम्सेविकाको अवस्था यस्तै छ ।
मलाई धेरै रमाइलो लाग्छ । सबैको आफ्नो–आफ्नो पेशा हुन्छ । मानिसहरू तीर्थव्रत गर्न भारतसम्म जाने गर्छन् । तर, मजस्ता महिला स्वयम्सेविकाले कुनै तीर्थ जानुपर्दैन । हामीले गर्ने सेवा नै सबैभन्दा ठूलो धर्म हो । अरु ब्रत र धर्म के गर्नु ? त्यसैले म यो कामबाट खुशी छु । साविक इन्द्रपुर–५ अहिलेको सुन्दरहरैंचाको ९ नम्बर वडामा मुस्लिम बस्ती छ । यो बस्ती नै मेरो कामका लागि चुनौतीपूर्ण बन्यो । यस्तो बस्तीमा जाँदा म एकै ठाउँमा रोपिएको तर गोडमेल नगरेकाले कक्रिएको मुला र गोडमेल गरिएकाले सप्रिएको मुलाको तस्विर देखाएर परिवार नियोजनसम्बन्धी चेतना जगाउन जान्थेँ । त्यो गाउँमा अरु तस्बिर लाने कुरै भएन । धेरै बच्चा हुँदा स्याहार पुग्दैन भन्थेँ । दिनभरी बस्थेँ । सबैलाई एकै ठाउँमा भेला बनाएर विभिन्न कुरा निकाल्दै परिवार नियोजन गर्न उत्प्रेरणा दिन्थेँ । तर, उनीहरू मान्दैनथे । सबै बुहारीलाई सासूकै डर हुने उनीहरू बताउँथे ।
पहिले १०÷१२ जना बच्चा जन्माउने गर्थे । त्यसलाई रोक्ने वातावरण बनाउन धेरै सङ्घर्ष गरेँ । आजभोलि त अलि सुधार भयो । पुरुष दाजुभाईंले पनि यसलाई सकारात्मक सोचेको उनीहरू सुनाउँथे । तर, सासू भएको घरमा आँगनसम्म टेक्न नदिने समुदाय थियो । कतिपयले अहिले पनि लुकेर डिपोहरू लगाउँछन् । विशेषगरी सासूको डर हुने गरेको छ, बुहारीलाई । अझैपनि उनीहरू परिवार नियोजन गर्न खुलेर आउँदैनन् । बङ्गाली टोलमा पहिले पहिले ६–७ जना नानीहरू हुन्थे । तर, अहिले यो क्रम घटेको छ । उनीहरू नै सबैभन्दा शिक्षित छन् । मुसहर समुदायका महिलाले पनि भनेको मान्छन् । धेरैलाई अप्रेसन (परिवार नियोजन) गर्न लगेको छु । म आफ्नो कामप्रति लगनशील भएर काम गरिरहेकी छु । कुनै काममा सफलता प्राप्त गर्न पढाइ चाहिन्छ । पढेर मात्र पनि हँुदैन लगनशीलता अनिवार्य आवश्यकता पनि हो ।
म गइनँ भने मुस्लिम बस्तीमा औषधी खुवाउने मान्छे नै हँुदैन । म समाजसँग भिजेकी छु । नयाँ मानिस जाँदा कराउने, नभेट्ने, नचिनेकोसँग घुलमिल नहुने समुदायमा शोभा दिदी नै आवश्यक परेकाले होला । २००८ सालमा जन्मिएर यो समय हुँदासम्म काममा लागिपरेको छु । परिवारबाट त काम छोड्नु भन्छन् नि । पनातिसम्म छन् । तर, कामप्रति म लगनशील छु । प्रौढ शिक्षा पढेर मैले काम शुरु गरें । पहिले त पैसा नै हुँदैनथ्यो । ४० रुपैयाँमा काम गरेकी थिएँ । यो सालबाट २ हजार रुपैयाँ दिने अरे । बाटोबाटोमा शोभा दिदी भन्छन् । महिला मात्र नभई सबैले शोभा दिदीभन्दा मलाई त्यो नै खुशी लाग्छ ।
मैले धेरै सङ्घर्ष गर्नुप¥यो । आमा समूह नै भेला नहुने हुनाले घरघरमा हिँड्नु पथ्र्याे । माओवादी काल (जनयुद्धको समय) मा आण्टी तपार्इंलाई डर लाग्दैन जहिल्यै एक्लै हिँड्नुहुन्छ त भन्थे । डर लाग्थ्यो । तर, काम गर्न जानैपर्ने । बाघझोडातिरका महिला दिदीबहिनीलाई सम्झाउन धेरै गारो हुन्थ्यो । त्यहाँका महिलाहरू नटेर्ने गर्थे । धेरैलाई परिवार नियोजनका लागि अप्रेशन गर्न लगेँ अनि त्यसबापत घुमाउन लग्यो अफिसले । त्यो क्षण सबैभन्दा रमाइलो लाग्यो । अनि राम्रो काम गरेबापत रेडियो उपहारसमेत दियो । घडी दियो । त्यो उपहार मेरो कामप्रतिको सम्मान हो जस्तो लाग्छ । उमेर हदले निस्कनुपर्ने बेला हो, तर सबैले अझै गर्नु न भन्छन् ।
अहिलेका नारीहरू पहिलेका जस्ता छैनन् । नारी भएर समाजसेवी हुनुप¥यो । सानै उमेरमा विवाह हुने अवस्था हट्यो । पुराना कामहरू पनि सिक्नुपर्छ । विकृति हटाउन लाग्नुपर्छ । धेरै महिला दिदीबहिनी भेला हुने र तास खेल्ने टोलटोलमा छन् । यो चाहिँ हटाउनुप¥यो । म धेरै गाउँमा जान्छु, कति देख्छु, अनि कराउँछु तर टेर्दैनन् मलाई । अहिले घरघरमा गएर गर्भवती आमाहरूलाई र सुत्केरी आमाहरूलाई सल्लाह दिन्छु । सरकारले दिने सेवा, सुविधा पाइन्छ भन्छु । फोन नम्बर लिएर आउँछु । सबैलाई त्यो दिन फोन गरेर सम्झाउँछु । गाउँमा जाँदा दिदी आउनुभयो भनेर कसैले सागसब्जी पनि दिन्छन् । खुशी लाग्छ ।